सुर्खेतमा मोहन वैद्यका कार्यक्रताले कुटे लघुवित्त प्रमुख, दुई जना पक्राउ (भिडियो)

सुर्खेतको गुर्भाकोट नगरपालिका–८मा रहेको डिप्रेक्स लघुवित्त संस्थाका कार्यालय प्रमुख दिपेन्द्र कटेलमाथि कालोमोसो दल्दै कुटपिट भएको छ। बिहीबार दिउँसाे साढे २ बजे महोन वैद्य नेतृत्वको क्रान्तिकारी युवा संगठनका कार्यक्रता कटेलमाथि कुटपिट गरेका हुन्।   

कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका– ९का हरि घर्ती र मुगुको सोरु गाउँपालिकाका रामबहादुर विक रहेका छन्। 

उनीहरूले डिप्रेक्स लघुवित्तको कार्यालयमै पुगेर कटेलमाथि कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी लक्ष्मण शाहीले जानकारी दिए। 

कालोमाेसो दल्दै कुटपिट गरेपछि उनीहरू भागेको थिए। प्रहरीले उनीहरूलाई गुर्भाकोट– ९ बाट पक्राउ गरेको हो।

उनीहरूले कटेलको एउटा गालामा कालोमोसो दलेको सूचना अधिकारी शाहीले बताए। अन्य ठाउँमा पनि मोसो दल्न खोज्दा कटेलमाथि कुटपिट भएको सार्वजनिक भिडियोमा देखिएको छ। 

अहिले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ। घटना साढे २ बजे भएको थियो। तर प्रहरीलाई खबर भने साँझ ५ बजेमात्र प्राप्त भएको थियो।

भिडियो

 

प्रकाशित मिति: : 2024-02-08 19:36:00

प्रतिकृया दिनुहोस्