पुलिस क्लबले जित्यो प्रधानमन्त्री कपकाे उपाधि

छैटौँ संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे उपाधि नेपाल पुलिस क्लबले जितेकाे छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेकाे हाे।

याे जितसँगै पुलिसले तीनपटक प्रधानमन्त्री कपकाे उपाधि जितेकाे छ। आर्मीले जितकाे लागि दिएकाे १८२ रनकाे लक्ष्य पुलिसले ३७.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

पुलिसका शंकर रानाले अर्धशतक बनाए। रानाले ३८ बलमा ५० रन बनाए। उनले ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। उनी ४३ बलका ६२ रन बनाउँदै नआउट रहे। त्यस्तै पुलिसका आरिफ शेख ५४ बलमा २७ रन बनाउँदै अविजित रहे।

पुलिसका ओपनर कुशल भुर्तेल ९ बलमा १४ रन बनाएर आउट भए। दिलिप नाथ ७ रन बनाएर आउट हुँदा अर्जुन साउद ५८ बलमा ३६ रन बनाएर पेभिलियन फर्किए। अर्जुनले ५८ बलमा ४ चौका प्रहार गरे। त्यस्तै, अमित श्रेष्ठ २८ रनमै आउट हुन पुगे।

आर्मीका लागि कुशल मल्ल, बसिर अह्मद, जितेन्द्र मुखिया र शहाब अलामले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे आर्मीले एक बलअघि सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियाे। आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रन बनाए।

नवौँ नम्बर क्रिजमा आएका विवेकले ८१ बलमा ७ चौका र एक छक्का प्रहार गरे।

आर्मीका साेमपाल कामीले ३९, इम्ररान शेखले २८ र कुशल मल्लले १७ रन बनाए। कप्तान विनोद भण्डारीसहित अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन्।

पुलिसकाे लागि ललित राजवंशी र कप्तान दीपेन्द्र सिंहले समान ३-३ विकेट लिए। लिग चरणमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए।

प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए। लिग चरणमा पुलिस सबै खेलमा अपराजित रहँदै फाइनलमा पुगेकाे हाे।

प्रकाशित मिति: : 2024-02-03 16:02:00

प्रतिकृया दिनुहोस्