गायक बन्ने सपनालाई थाती राखेर जुम्ला चन्दननाथ नगपालिका- ७का अर्जुन सुनार पाँच वर्षअघि सरकारी जागिरे भए। कृषि प्राविधिक भएर २०७५ सालमा जागिर सुरु गरेका उनी हाल कालिकोटको तिलागुफा नगरपालिकामा कार्यरत छन्।
जागिर त उनको बाध्यता थियो। परिवार पाल्नु थियो, जागिरे भएर। परिवार पाल्न उजागिरे भए।
तर रहर भने अर्कै थियो। सपना पनि अर्कै थियो– गायक बन्ने। यो त बालपनको सपना थियो– अमिट बनेर आएको।
उनी त्यसै कहाँ छाड्न सक्थे र! सरकारी जागिरे भएपनि गायन छाड्न सक्ने कुरा थिएन। छाड्न सहज पनि थिएन।
पाँच कक्षा पढ्दै गर्दा गाउन सक्छु भन्ने उनलाई लागेको थियो। स्कुलमा हुने शुक्रबारीय कार्यक्रममा उभ्याइँदा होस् वा घरमा एक्दै गाउँदा होस्, त्यहिबेल्यै उनी आफूलाई गायक हुँ जस्तो ठान्थे।
जहाँ पनि कुनै संकोचविना खुलेर गाउँथे। छ सता कक्षा पढ्दै गर्दा उनले गायक बन्ने सपना देखिसकेका थिए।
त्यसबेला उनी नेपालगन्जमा होस्टेलमा बसेर पढिरहेका थिए। होस्टेलमा पनि राती अबेरसम्म उनी गाउँनमा नै ब्यस्त हुन्थे। स्कुलमा ट्रयाकमा गाउने भइसकेका थिए।
'ट्रयाकमा गाउनु पर्नेछ भनेर म एकदम धेरै अभ्यास गरिरहेको हुन्थें,' उनले ती दिन सम्झिए, 'एकपल्ट होस्टेलमा राती अबेरसम्म गाइरहेको थिएँ। भोलिपल्ट कार्यक्रम थियोे। अभ्यास गरिरहेको बेला प्रिन्सिपल सर आएर अब सुत भन्नुभयो।'
उनलाई गाउनमा प्रेरित गर्नेमा स्कुलका शिक्षकदेखि वान्समाेर भन्ने साथीहरु हुन्। नेपालगन्ज हुँदा उनले कृष्णसार रेडियोले आयोजना गरेको ‘कृष्णसार आइडल’मा सहभागि भए।
त्यसले आफूलाई ट्रयाकमा गीत गाउन सिकाएको उनी बताउँछन्। नेपालगन्जमा हुँदा माथिल्लो कक्षामा पढ्ने र संगीतमा रुची भएकाहरुले हौसला दिइरहन्थे।
घरमा भने संगीत बुझेका कोही थिएनन्। गीत काम नपाएकाहरुले गाउने हुन भन्ने छाप थियो। त्यसैले उनी बेलाबेला होच्याइन्थे। तर उनलाई संगीतविहीन हुने आँट आउने थिएन।
घरमा जे जस्तो वातावरण भएपनि अर्जुनका लागि स्कुल खुला स्टुडियो थियो। निस्फिक्री गाउन मिल्थ्यो। उनी मञ्चमा उक्लिँदा विद्यार्थीदेखि शिक्षकले उत्साहित बनाउँथे।
उत्साहित बनाउने नेपालगन्जमात्र कहाँ थियो र? अन्य ठाउँमा पनि उनलाई साथ मिल्थ्यो। एक पल्ट जुम्लाको चन्दनदनाथ स्कुलमा उनले गीत गाए। त्यसमा उनको चर्चा केही चुलियो। मञ्चबाट ओर्लिँदा धेरैले उनको पिठ्युँमा धाप मार्दै भने, 'भविष्य राम्रो छ बाबू लगाव नघटाउनु।'
एसएलसीपछि उनले कर्णाली प्राविधिक शिक्षालयबाट २०७३ मा कृषि विज्ञान उतीर्ण गरे। कर्णाली प्राविधिक शिक्षालयमा पढ्दै गर्दा पनि उनले गायनमा चर्चा बटुले।
यही चर्चाले होला सायद अर्जुन जागिरे जीवनसँग गायनलाई पनि निरन्तरता दिने काेशिस गरिरहेका छन्। संगीतको सुर–ताल उनको नसा–नसामा छ भन्दा पनि हुन्छ। किनभने उनी एक पटक सुन्यो कि गीत ट्रयाकमा गाउन सक्ने हुन्छन्। 'गायनमा मेरो लागव थियो। त्यसैले पनि होला म गीत सुन्ने बित्तिकै त्यसको ट्रयाकमा गाउन सक्ने भइहाल्थें', उनले भने।
सम्पत्ति बेचेर पढेका उनीसँग गीत रेकर्ड गर्न पैसा हुने कुरा थिएन। पैसा नहुँदा गाउने सपनालाई थाँती राखेर जागिरे भए।
मीठो स्वर र लगावले उनलाई जुम्लामा राम्रो गाउन सक्नेमा स्थापित गराएको थियो। तर त्यतिले मात्रै घर व्यवहार चल्नेनेवाला थिएन। गीत रेकर्ड गर्न पैसा चाहिने थियो। त्यहीँ इख पालेर उनले सरकारी जागिरे भए।
अहिले घरको जागिरसँगै चाँजोपाँजो मिलेपछि उनी गायन क्षेत्रमा सक्रिय हुन थालेका छन्। उनले 'दि भ्वाइस अफ नेपाल सिजन फाइभ'मा सहभागिता जनाए।
ब्याटल राउन्डबाट बाहिरिएका उनी गायन क्षेत्रबाट बाहिरिएका छैनन्। गायनलाई सपना ठानेका उनी हालसम्म 'दि भ्वाइस अफ नेपाल'को मञ्चमा उक्लिने साविकको कर्णाली क्षेत्रका एक मात्र प्रतिभा हुन्र।
'त्यही मञ्चमा हुँदा मेरो सपना पूरा भयो। राजेश पायल राइको टिमबाट ब्याटल राउन्डसम्म पुगें,' उनले भने, 'जुम्ला र आसपासमा सिमित मेरो स्वर देशभर गुञ्जियो। मैले जिन्दगीमा एक खुट्किलो माथि उक्लिएको अनुभूति गरेँ।'
उनले साविकको मध्यपश्चिमका १५ वटा जिल्लाका दुई–दुई जना सम्मिलित 'एमपी सुपरस्टार' प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए।
आयोजकले प्रथम हुनेलाई एक लाख नगद, एउटा स्कुटर र गीत रेकर्डिङको अफर दिएको थियो। तर पछि उनले पचास हजार रुपियाँ मात्रै पाए।
अहिले घरको दरिलो साथ छ। दिदी र भिनाजुको भरपुर हौसला छ। सबैको हौसला पाउँदा आर्थिक अवस्थाले दबेको उनको कर्णप्रिय स्वर बाहिर ल्याउन सहयोग मिलेको छ।
त्यसैले संगीतप्रतिको पुरानो लगाव लयमा फर्किँदैछ। जागिरसँग अन्तरजातीय विवाह गरेरका उनले हालसम्म दुइटा गीत निकाली सकेका छन्।
'हाम्रो क्षेत्रको संस्कृतिलाई बाँकी नेपालभर पुगाउने गरि गीत सृजना भएको खण्डमा राम्रो छाप पर्छ होला भन्ने लागेको छ,' उनले भने, 'अब यस्तै विषयमा केन्द्रीत गीत गाउनेछु। सरकारी सेवामा लाग्दा लाग्दै गायनमा सक्रिय रहिरहने धोको छ। हेरौँ आउँदा दिनमा के कस्तो हुन्छ?'