निर्माणमै अल्झिएको देशकै पहिलो ‘फ्लाइओभर’ (भिडियाे)

शनि शाक्य

काठमाडौं

चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा बन्न लागेको नेपालकै पहिलो फ्लाइओभरको निर्माण सम्झौता अवधि सकिन महिना दिन पनि छैन। आउने फागुन १२ गते फ्लाइओभर निर्माणको सम्झौता अवधि सकिँदै छ।

२०७८ फागुनमा दुई वर्षमा सक्ने गरी आशिष–समानान्तर–रेलिगेल जेभी कम्पनीले निर्माणको जिम्मा लिएको थियो। काम भने २०७९ माघबाट सुरु गरेको थियो।

काम सुरु गरेको चार महिनामा नै डिजाइनमा समस्या देखिएपछि पुन: डिजाइन परिवर्तन गरिएको छ। डिजाइन परिवर्तन गर्न करिब पाँच महिना लाग्याे।

पहिलाको डिजाइनअनुसार फ्लाइओभरको पाइलको सङ्ख्या दुवैतिर चार/चार वटा, गहिराइ ३४ मिटर र डायमिटर एक दशमलव पाँच मिटर कायम गरिएको थियो।

अहिले परिवर्तन गरिएअनुसार पाइलको सङ्ख्या दुवैतिर १२/१२ वटा कायम गरिएको छ। प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ।

फ्लाइओभरको मुख्य संरचनाको डिजाइनमा कुनै पनि परिवर्तन नगरिएको सडक डिभिजनअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनले बताए।

डिजाइन परिवर्तन गरेर मंसिरदेखि काम भइरहेको छ। दुवैतिरको २४ वटा पिलर ठडिसकेको छ। अब माथिको बिम हाल्नलाई तयारी रहेको महर्जनले जानकारी दिए।

हाल फ्लाइओभरको भौतिक प्रगति ४० प्रतिशत रहेको महर्जनले जानकरी दिए। बाँकी ६० प्रतिशत काम सक्न अझै चार महिना लाग्ने छ। तर समयावअधि एक महिना मात्र बाँकी छ।

यसका लागि म्याद थप गर्ने तयारीमा आयोजना छ। महर्जनले फ्लाइओभरका काम सक्न जेठको अन्तिमसम्म लाग्ने बताए। निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेल जेभीले हाल १५० जना मजदुरलाई काममा खटाएको छ।

उनीहरुले बिहान ७ बजेदेखि साँझको ७ बजेसम्म काम गरिरहेका छन्। फ्लाइओभर निर्माण भएपछि चक्रपथको बीचमा गुड्ने सवारी साधन ग्वार्को चोकमा रोकिनुपर्ने छैन।

फ्लाइओभरबाट सिधै गाडीहरू गुड्ने छन्। साथै मङ्गलबजारबाट इमाडोल वा इमाडोलबाट मङ्गलबजारतर्फ जाने वा चक्रपथमा जाने सवारी साधन पुलमुनिबाट प्रवेश गर्ने छन्।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको फ्लाइओभरको उचाइ ६ मिटरको हुनेछ। सुपर स्ट्रक्चर ३५ मिटर हुने फ्लाइओभरको जम्मा लम्बाइ ५४० मिटर हुनेछ।

१७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा बन्ने फ्लाइओभरको पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने शर्त छ।

प्रकाशित मिति: : 2024-01-31 18:18:00

प्रतिकृया दिनुहोस्