सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ३३ किलो सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग बयान लिएकाे छ।
सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका गोरेलाई बुधबार सिंहदरबारमा झिकाएर बयान लिइएको हाे।
२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो।
हराएको सुनको विषयमा सुन तस्करबीच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र सुन तस्करीको रहस्यहरु खुलेका थिए। त्यसपछि सरकारी छानबिन टोली गठन भएकाे थियाे। छानबिनका क्रममा सुन गायव भएपछि भरिया शनमको गोरे समूहले हत्या गरेको निष्कर्ष निकालिएकाे थियाे।
त्यसपछि मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको थियाे। गोरे हाल केन्द्रीय कारागारमा कैद सजाय काटिरहेका छन्।