यू- १९ महिला च्याम्पनसिपमा नेपाल: छोटो तयारी, उपाधिको लक्ष्य

Photo : ANFA
Photo : ANFA

आगामी फ्रेबुअरी २ देखि बगांलदेशको राजधानी ढाकामा यू- १९ महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ।

यो प्रतियोगितामा नेपालसहित, भारत, भुटान र बगांलदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका लागि नेपाली यू- १९ महिला टोली तयारी अवस्थामा रहेको प्रशिक्षक बालगोपाल साहुखलले बताए। ‘प्रतियोगिताको लागि छोटो समयमा पनि तयारी राम्रो भएको छ’, प्रशिक्षक साहुखलले भने, ‘हाम्रो टिम सोचेअनुसार नै बनेको छ।’

साफ यू- १९ च्याम्पनसिपका लागि नेपाली टोलीले तीन हप्ताअघि देखि प्रशिक्षण सुरु गरेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू- १९ टोलीको लगि खुल्ला छनोट गरेको थियो। एन्फाले नयाँ अनुहार र सम्भावना बोकेका खेलाडीहरूलाई मौका दिने उद्देश्यले यू- १९ साफ च्याम्पनसिपको लागि खुल्ला छनोट गरेको हो।

एन्फाले पहिलो चरणमा १४८ खेलाडीलाई छनोट गरेको थियो। तीन दिनपछि सुरु हुने प्रतियोगितामा नेपालले आयोजक राष्ट्र बगांलदेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

बंगालदेश साफ यू- १९ च्याम्पनसिपमा तीन पटकसम्म विजेता भइसकेको छ।

यसपटक पनि बंगालदेश आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा छ। बंगालदेश मात्र नभई भारत पनि उपाधि विजेताको दाबेदारको रुपमा हेरिएको छ।

‘हाम्रो टिम त अहिले नयाँ टिम हो, अहिले धेरैजना नयाँ खेलाडी हुनुहुन्छ, हाम्रो स्क्वाड पनि अहिले पूरै चेन्ज भएको छ’, कप्तान सारा ब्रजाचार्य भन्छिन, ‘गएको एक हप्तालाई हेर्दा अहिले हाम्रो टोली धेरै राम्रो भएको छ।’

टोलीमा नयाँ खेलाडी भएपनि खेलाडीहरू अनुभवी छन्, जसमा यू- १५ यू- १७ र  यू- २० खेलिसकेका खेलाडीहरू पनि छन्। केही नयाँ अनुहारलाई समेटेर यू- १९ खेल्न २३ सदस्यीय टोलीको घोषण गरिएको हो। 
साफ च्याम्पनसिपअघि टोलीले ५ वटा खेल खेल्दै प्रतियोगिताको लागि तयारी थालिरहेको छ।

‘हामीले प्रतियोगिताको तयारीको लागि त निकै कम समय पाएका थियौँ तर त्यसको बाबजुद पनि हामीले अहिले धेरै कुरा सिक्ने मौका पायौँ टोली एकदमै राम्रो छ अनुभवी खेलाडीहरु हुनुहुन्छ, हामी तयार छौँ प्रतियोगिको लागि’, कप्तान ब्रजाचार्यले भनिन्।

राउन्ड रोविनको आधारमा हुने खेलमा नेपालले तीनै राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ।

‘भारत र बंगालदेश हेर्न हो भने दुवै राष्ट्र हामीभन्दा धेरै माथि छन्, हामीले उनीहरु दुवैको खेल हेरेको छौँ बगांलदेशले त एकदम ओपन छ, यो टिम एग्रेसिभ पनि छ’, प्रशिक्षक साहुखल भन्छन्, ‘हामीले त्यस्तो टोलीको सामना गर्नेगरी हाम्रो टिम तयार गरेका छौँ।’

पछिल्लो केही वर्ष यता नेपालमा महिला फुटबल लिग ठप्पजस्तै छ। पुरुष फुटबलको तुलनामा महिला फुटबलका एकाध प्रतियोगिताहरूमा हुन्छन्।

केही वर्षयता भने महिला लिग पनि भएका छैनन्। लिग नहुँदाको प्रत्यक्ष असर यू- १९ महिला फुटबल समूहलाई पनि परेको छ। लिगहरू नखेलिरहँदा पनि खेलाडीहरू एकदमै फिट रहेको प्रशिक्षक साहुखलको दाबी छ।

‘हाम्रो मुख्य लक्ष्य भनेकै साफ च्याम्पनसिपको उपाधि जित्नु नै हो’, प्रशिक्षक साहुखलले बिएल नेपाली सेवासँग भने, ‘पहिला सबै खेललाई पहिला कन्ट्रोलमा ल्याउनेछौँ, खेल कन्ट्रोलमा आएपछि पक्कै पनि उपाधि त्यति टाढा हुँदैन।’

अहिलेसम्म भएका चारवटा साफ यू- १९ महिला च्याम्पनसिपमा बंगालदेशले तीन पटक जितेको छ।

नेपाल अहिलेसम्म दुई पटक फाइनलसम्म आफनो स्थान बनाएको छ।

‘भारत, बंगालदेश र भुटान एकदमै राम्रो टिम हो, यसपालि हामी उपाधि ल्याउन शतप्रतिश कोसिस गर्छौं, मैदानमा आफनो शतप्रतिशत दिएर खेल्नेछौं’, कप्तान ब्रजआचार्य भनिन्।

प्रकाशित मिति: : 2024-01-29 21:45:00

प्रतिकृया दिनुहोस्