आइतबार, ०५ जुलाई २०२६

मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले ‘भियग्रा’ प्रयोग गर्न पाउने!

News Image
• • •

मेक्सिकोविरुद्धको खेलमा इङ्ग्ल्यान्डका खेलाडीले ‘भियग्रा’ प्रयोग गर्न पाउने भएका छन्।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार मेडिकल स्टाफले खेलाडीहरूलाई भियग्रा खाने अनुमति दिएका हुन्।

मेक्सिकोको प्रतिष्ठित ‘एस्टाडियो एज्टेका रंगशाला’मा हुने खेलअघि उच्च उचाइका कारण शरीरमा पर्ने असर कम गर्न इङ्ग्ल्यान्डका खेलाडीहरूलाई भियग्रा प्रयोग गर्ने विकल्प दिइएको हो।

रिपोर्टअनुसार, औषधि प्रयोग गर्ने वा नगर्ने निर्णय खेलाडीहरूको स्वेच्छामा निर्भर हुनेछ। यसको उद्देश्य कुनै अतिरिक्त प्रतिस्पर्धात्मक लाभ लिनु नभई उच्च उचाइमा कम अक्सिजनका कारण शरीरमा पर्ने असरलाई कम गर्नु रहेको बताइएको छ।

अन्तिम १६ को यो खेल समुद्री सतहबाट करिब ७ हजार ३५० फिट उचाइमा रहेको मेक्सिको सिटीमा खेलिनेछ। यस्तो उचाइमा हावा पातलो हुने भएकाले शरीरले कम अक्सिजन प्राप्त गर्छ, जसले खेलाडीको सहनशक्ति, रिकभरी क्षमता तथा समग्र प्रदर्शनमा असर पार्न सक्छ। 

विशेषगरी यस्ता परिस्थितिमा खेल्ने अनुभव कम भएका टोलीहरूका लागि यो थप चुनौतीपूर्ण मानिन्छ।

इङ्ग्ल्यान्डको मेडिकल टोलीले उच्च उचाइको प्रभाव कम गर्न विभिन्न उपायबारे अध्ययन गरेको बताइएको छ। तीमध्ये भियग्रा पनि अनुमति प्राप्त विकल्पका रूपमा रहेको छ। रक्तनली फराकिलो बनाउन सहयोग गर्ने यो औषधिले रक्तसञ्चारमा सुधार ल्याउन सक्छ र उच्च उचाइमा कम अक्सिजनका कारण हुने केही शारीरिक समस्यालाई कम गर्न सहयोग पुग्न सक्ने विश्वास गरिएको छ।

यद्यपि, भियग्रा विश्व एन्टी–डोपिङ एजेन्सी (WADA) को प्रतिबन्धित औषधिको सूचीमा पर्दैन। त्यसैले खेलाडीहरूले प्रतियोगिताका बेला वा प्रतियोगिताबाहिर पनि यसको प्रयोग गर्न पाउँछन्। WADA ले रक्तसञ्चारमा पर्ने यसको प्रभावका विषयमा वर्षौंदेखि अध्ययन गर्दै आए पनि समुद्री सतह वा सामान्य उचाइमा यसले खेल प्रदर्शनमा उल्लेखनीय सुधार ल्याउने ठोस वैज्ञानिक प्रमाण भने फेला परेको छैन।

यसको सम्भावित उपयोग मुख्यतः उच्च उचाइमा कम अक्सिजनको प्रभाव कम गर्न सहयोग पुर्‍याउनेमा सीमित रहेको मानिन्छ।

घरेलु मैदानमा मेक्सिकोको कीर्तिमान निकै बलियो छ। मेक्सिकोले त्यहाँ खेलेका ८९ खेलमध्ये केवल दुई खेलमा मात्र हार बेहोरेको छ भने उक्त मैदानमा पछिल्लो पटक सन् २०१३ मा मात्र पराजित भएको थियो। यस वर्षको विश्वकपमा आफ्ना चारवटै खेल जित्दै मेक्सिको उच्च आत्मविश्वासका साथ अन्तिम १६ मा पुगेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!