दुबई पुगेर आङ्काजीले भने- संघीयताले देश टुक्रिँदैन

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रवास विभाग इन्चार्ज आङ्काजी शेर्पाले संघीयताले देश नटुक्रिने दाबी गरेका छन्।

जनता समाजवादी पार्टीको प्रवाश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएईको ५औँ अधिवेशनमा बोल्दै शेर्पाले संघीयताले देश नटुक्रिने दाबी गरेका हुन्।

कार्यक्रमका विशेष अतिथि शेर्पाले राज्यले पहिचान नस्विकार्दा भारतबाट पाकिस्तान टुक्रिएको उदाहरणसमेत दिए। उनले धार्मिक र भाषिक पहिचान नस्विकार्दा पाकिस्तान र बङ्गलादेश टुक्रिएको बताए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय कारिणी सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुशिला श्रेष्ठले पहिचानको लडाइँमा आवद्ध हुन सबै नेपालीहरुलाई आग्रह गरेकी थिइन्।

बरदुबईको ब्लु प्यालेस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा युएईका विभिन्न राज्यमा कार्यरत नेपालीहरु सहभागी भएका थिए। कार्यक्रममा युएईमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो।

मुम्चे राईको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

अन्तराष्ट्रीय नेपाली समाज युएईको ५औँ अधिवेशनमा मुम्चे राई (विद्रोही साँइला) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा शोभा शर्मा र भुपाल पौडेल, महासचिवमा धनकृष्ण राई, सचिवमा रन्जु राई, कोषाध्यक्षमा दिपक गुरुङ चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा राधिका सुधाकर, मोहमद कमरुल, चिरञ्जीवी लुइटेल, युक्त बहादुर सार्की, मोहन बराइली, मनोज जिम्बा र भिमबहादुर तामाङ चयन भएका छन्।

जसपा नेपाल प्रवास विशेष समितिका उपाध्यक्ष प्रमोद श्रेष्ठ, कोषाध्यक्ष मुन्ना समसुल हक र संघीय परिषद सदस्य सुजन भण्डारी सदस्य रहेको निर्वाचन समितिले राईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति घोषणा गरेको हो।

जसपा नेपालका युएई ईन्चार्ज पासाङ शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेफिन युएईका अध्यक्ष विक्रम लिम्बू, एनआरएनए युएईका वरिष्ठ उपाध्यक्ष हरि मोक्तान, नेपाली समाज युएईका उपाध्यक्ष रामबाबु राउतलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए।

प्रकाशित मिति: : 2024-01-29 13:31:00

प्रतिकृया दिनुहोस्