आर्थिक सूचाङ्क सकारात्मक छन्, मूल्यवृद्धि नियन्त्रणमा छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाल मार्केटिङ एशोसियनले शनिबार आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ। हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौँ, राजनीतिक पूर्वाधार तयार पारिसक्यौँ। अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ। यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’, मन्त्री डा महतले भने, ‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन्। मूल्यवृद्धि नियन्त्रणमा छ। ब्याजदर घटिरहेको छ। शेयर बजारमा सुधार भइरहेको छ। आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ।’ मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दावी छ।

अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको घट्दै गएको आत्मविश्वास अहिले सुधार हुँदै गएको पनि उनको भनाइ छ।

‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ। त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ। अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गयौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो। यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’, मन्त्री डा महतले भने, ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ। उपभोक्ताको आत्मविश्वास बढ्छ। उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो। व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ। यसले आर्थिक गतिविधि बढाउँछ।’

नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन नसकेको पनि अर्थमन्त्री महतले बताएका छन्। वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उनले उल्लेख गरे। विशिष्ट खालका वस्तु तथा सेवा उत्पादन गरेर विश्वका विभिन्न देशले आफ्नो पहिचान स्थापित गरेकोमा नेपालले पनि त्यसबाट लाभ लिनसक्नुपर्ने उनको भनाइ छ।

‘नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजारीकरण गर्न सकिन्छ। उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन्। नेपालको सकारात्मक पक्ष भनेको विशिष्ट खालका वस्तुको उत्पादन हो। हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र सामाजिक एकता यहाँको विशिष्ट पहिचान हो’, अर्थमन्त्री महतले भने।

प्रकाशित मिति: : 2024-01-27 15:58:00

प्रतिकृया दिनुहोस्