खरानी रंगको सर्ट अनि उही रंगको पाइन्टमा सजिएका ‘प्रचण्ड’ र उस्तै पोशाकमा सँगै रहेका ‘प्रचण्ड’ र बाबुरामतिर तेर्सिएका क्यामेराहरूका झिल्काहरू निकैबेरसम्म रोकिएका थिएनन्।
२०६३ सालको असार २ गते बालुवाटारमा एउटा ऐतिहासिक तामझाम थियो। सायद पहिलोचोट आम नेपालीले ‘प्रचण्ड’को त्यो अनुहार देख्दै थिए, दश वर्षसम्म जंगलबाट युद्ध लड्दा जुन अनुहारमा आम नागरिकले फरक फरक विम्ब देख्थे।
२०६३ सालको जनआन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा प्रचण्डहरू हतियार बिसाउन तयार भएका थिए। र, उनीहरू पहिलोपटक कास्कीको सिक्लेस भन्ने ठाउँमा सार्वजनिक भएर एउटा कार्यक्रम गरेका थिए।
अन्नपूर्ण हिमालको हिउँ पग्लिएर बगिरहेको मादी नदीले बनाएको एउटा पाखोमा बसेको सुन्दर बस्ती हो सिक्लेस। अहिले त्यहाँ अहिले ‘शान्ति स्तम्भ’ बनाइएको छ।
तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रचण्ड र बाबुरामलाई सिक्लेसबाटै हेलिकोप्टर चढाएर सिधै बालुवाटार छिराएका थिए।
र, त्यसपछि सत्ताको राजनीतिमा प्रचण्ड अविछिन्न घुमिरहेका छन् वा उनको वरिपरि राजनीतिले घरिघरि फन्को लगाइरहेको छ।
दश वर्षसम्म जंगलमा अल्झिएका ‘माओवादी युद्ध’का पंखहरू सिधै आएर संसद भवनमा बिसिएका थिए। २०६२/६३ को जनआन्दोलनसँगै सिधै ‘अन्तरिम संसद’ छिरेको माओवादीको ‘तामझाम’ अलि बेग्लै थियो।
सिंहदरबारभित्रै रहेको तत्कालीन संसद भवनको भर्याङमा अघिअघि लागेका सिटौला अनि पछिपछि डोरिइरहेका प्रचण्ड र बाबुरामको त्यो हँसिलो अनुहार अहिले पनि इन्टरनेटभरि छरिएका छन्।
तर, परिस्थिति यस्तो बन्यो कि अब सत्ता र राजनीतिको केन्द्रबिन्दुबाट सिटौला धेरै दूर पुगिसकेका छन्। बरु उनले डर्याउँदै राजनीतिको यही मूलबाटोमा ल्याएका प्रचण्डहरूकै वरिपरि राजनीति घुमिरहेको छ।
सिटौलाका हात समाएर राजनीतिको मूलबाटोमा आएका उनै पुष्पकमल दाहाल प्रचण्ड हुन्, जसले देउवाका अगाडि सिटौलालाई राष्ट्रियसभामा ल्याउन प्रस्ताव गरेका थिए। गठबन्धनको बैठकमा प्रचण्डको त्यो प्रस्तावलाई एकीकृत समाजवादीका माधवकुमार नेपालले मौन समर्थन जनाए। त्यति भएपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई भन्नु केही थिएन।
कुनैबेला आफैले हात समाएर डोर्याएका उनै प्रचण्डका औंला समाएर सिटौला फेरि एकपटक राष्ट्रियसभामार्फत सत्ताको संसदीय यात्रामा सयर गर्दैछन्, त्यो पनि सायद राष्ट्रियसभाको अध्यक्ष बनेर।
पूर्वको राजनीति: जहाँबाट सिटौला अस्ताए अनि फेरि उदाय
गिरिजाप्रसाद (जीपी) कोइराला लोकतन्त्र प्रवर्दधन केन्द्रले आयोजना गरेको एउटा विचार गोष्ठीमा २०७६ सालको माघमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले एउटा लामो प्रवचन दिएका थिए।
र, प्रवचनको सारमा उनले भनेका थिए- ‘सत्ता अन्धो हुने खतरा सधैं रहिरहन्छ।’
राजनीतिको एउटा परिवन्द हो, जहाँ खतराहरू अवसर भइदिन्छन् अनि अवसरहरूले खतरा निम्त्याइदिन्छन्।
७७ वर्षे सिटौलाले राजनीतिको यी तमाम घुम्ती र मूलबाटाहरूमा स्पर्श गरेका सिरेटाहरूले यस्तै भन्छन्। सत्ता आज सिटौलाका लागि खतरा भएन, बरु अस्ताएको राजनीतिलाई फेरि मूलबाटोमा फर्काउने एउटा अवसर बनेर आइदिएको छ।
पार्टी अनि सत्ता राजतनीतिको गञ्जागोलबाट अलिकति टाढा, अलिकति मौन र अलिकति निष्क्रिय जीवनमा आदत बसाउन थालेका सिटौला फेरि सत्ता गठबन्धनको उम्मेदवार बने। अब ६ वर्षलाई ढुक्क भयो। उनी सत्ता गठबन्धनको यही भर्याङबाट राष्ट्रियसभाको उकालो चढेका छन्, जसलाई कुनैबेला आफैँले डोर्याइल्याएका प्रचण्डले थामिदिएका छन्।
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै कोसी पूर्वबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय राजनीतिमा फेरि एकपटक उदाएका छन्। राजनीतिक जीवनमा अस्ताए भन्नेहरुलाई अब उप्रान्त केपी सिटौलाका हकमा त्यो लागू हुने छैन।
नेपाली काँग्रेसको संगठनात्मक आन्तरिक जीवनमा पार्टी सभापतिबाट मनोनीत भएर महामन्त्री बन्ने अवसर पनि सिटौलाले पाएका थिए। सभापतिपछिको बलियो पद महामन्त्रीमा मनोनीत हुने सौभाग्य उनलाई स्व.सुशील कोइरालाबाट मिल्यो। त्यसअघि सिटौला स्व.गिरिजाप्रसाद कोइरालाका पनि विश्वासपात्र थिए, जसमाथि माओवादीलाई संसदीय राजनीतिमा ल्याउने अभिभारा कोइरालाले छोडिदिएका थिए।
माओवादीसँग बाह्र बुँदे सम्झौतासहितको शान्तिप्रक्रिया अघि बढाउन उनले खेलेको भूमिकाका मुरीद माओवादीहरू पनि हुन्।
माओवादीलाई मूलधारमा ल्याउन तत्कालीन सात राजनीतिक दलको सहकार्यका लागि सिटौलाको भूमिका सम्झन लायक विषय हो। पुष्पकमल दाहल प्रचण्ड र डा.बाबुराम भट्टराईलाई हेलिकप्टर रेस्क्यू गरी बालुवाटार भित्र्याउने पात्र यिनै सिटौला थिए। दोस्रो जनआन्दोलन पछि बनेको सरकारमा सिटौला गृहमन्त्री भए। संक्रमणकालीन राजनीतिमा देशको गृहप्रशासन थाम्ने चुनौती जो कोही नेताले थेग्न मुश्किलै पर्छ।
चुनावी परिणामका आधारमा सिटौला कमजोर नेता हुन्। अर्थात्, सिटौला र चुनाव एकअर्काका लागि ३६ को आँकडा बने। धेरै चुनाव लडेका सिटौला तर थोरै जिते। धेरै हारे।
३० वर्षे पञ्चायतविरुद्धको आन्दोलनले फर्काएको प्रजातन्त्रमा भएको २०४८ सालको पहिलो निर्वाचनमै झापामा उनले पराजय भोगेका थिए। तर, सिटौलाले राजनीतिक सफरलाई अघि बढाउँदै ल्याए। २०५० को उप-निर्वाचनमा सिटौलाका लागि संसदको ढोका खुल्यो। तर, त्यो अवधि निकै छोटो थियो। कारण २०५१ मा नै फेरि चुनाव भयो। उनी पराजित भए। फेरि संसदमा रहेर केन्द्रीय राजनीतिमा सिटौलाका लागि त्यही चुनाव बाधक भयो।
तथापि, सिटौला विचलित भएनन्। सिटौला काँग्रेस सभापति कोइरालानिकट भएर पार्टी र संगठनमा भित्रियाको काममा लागि नै रहे। वि.सं. २०५६ मा भएको संसदीय निर्वाचनमा सिटौलाले आफ्नो गुमेको शाख फर्काए। त्यसपछि उनी राष्ट्रिय राजनीतिमा तीव्र गतिले अघि बढ्दै आए। राजनीतिक वेग समाउनका लागि उनको व्यक्तित्व अझ निखारिँदै आयो।
एउटा चुनावमा पराजित हुने र अर्कोमा विजयी हुने उनको अचम्मको संयोग छ। त्यो क्रमको निरन्तरता त्यहाँ उप्रान्त सिटौलाको राजनीतिक जीवनमा चलिरहेको सिलसिला पनि हो।
माओवादीसँगको वार्ता र संवादमा उनले बाह्य शक्तिसँग पनि आफ्नो सम्बन्ध विस्तार गर्ने अवसर पाए। कानुन विषयको अध्ययन गरेका सिटौला नेताहरू र दलहरुबीच दस्तावेज लेखनीसँगै शक्ति सन्तुलनका लागि रुचाइएका पात्रका रुपमा खरिएर आए।
पहिलो संविधानसभाको चुनाव २०६४ मा उनी पराजित भए। बहालवाला गृहमन्त्री छँदै उनले चुनाव हार्दा गिरिजाप्रसाद कोइराला उनीसँग निकै रिसाएको प्रसङ्गले कुनैबेला राजनीतिक वृत्तमा खुबै चर्चा कमाएको थियो।
नेतृत्वका लागि भरोषायोग्य पात्र सिटौला सुशील कोइरालाको नेतृत्व छँदासम्म पार्टीभित्र कोइराला लिगेसीका ‘की फ्याक्टर’ थिए। तर, २०७२ मा संविधान जारी भइसके पनि सुशील कोइरालाले सत्ता हस्तान्तरणमा देखाएको अलमलका कारण कोइरालासँग सिटौला अलि टाढिए।
काँग्रेसको तेह्रौं महाधिवेशनको (पहिलो चरणमा) उनी न त कोइराला, न देउवा पक्ष कतै नलागेर तेस्रो धारको नेतृत्व गर्दै सभापतिमा चुनाव लडे। गगन थापासितका युवा चेहराहरूलाई लिएर उनले सुरु गरेको तेस्रो धार सफल त भएन तर काँग्रेसको पार्टी जीवनमा त्यो एउटा नवीन प्रयोग भयो। त्यसयता उनी शेरबहादुर देउवाको निकटमा रहेर अघि बढ्ने रणनीतिमा यहाँसम्म आइपुगेका छन्।
पार्टीको आन्तरिक राजनीतिमा सिटौलाका कृत्यहरू अहिले त्यस्तै लाग्छन्।
चुनाव उतिधेरै नफाप्ने सटौलालाई राष्ट्रियसभाको चुनाव भने सुखद संयोग भयो। यसअघि २०७४ र ०७९को निर्वाचन उनका जीवनमा प्रतिकूल रहे।
जीवनको उत्तरार्द्धमा गुमाएको राजनीतिक विरासत राष्ट्रियसभा सदस्यका रुपमा उनको पोल्टामा परेको छ।
कौशिक नदीको सेरोफेरोमा राजनीतिक जीवन अस्ताउँदै गर्दा सिटौला राष्ट्रिय राजनीतिकाे जीवनमा फेरि एकपटक पूर्वबाट काँग्रेसका ‘विश्वामित्र’ झैँ उदाएका छन्।