रास्वपालाई मिसन ०८४ का लागि जनताले नै तयार पारेका हुन्: सांसद कठायत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा सांसद विनिता कठायतले पार्टीलाई मिनस ०८४ जनताले नै तयार पारेको बताएकी छिन्।

२१ सिटसहित संसदमा प्रतिनिधित्व गर्ने चौथो ठूलो दल भएको बेला जनताका अपेक्षाहरु धेरै भएको र पूरा हुन नसक्दा जनाता नै रास्वपालाई ठूलो बनाउन लागिरहेको उनको भनाइ छ।

'रास्वपासँग जनताका जति अपेक्षा धेरै छन्। तर अपेक्षाकृत रुपमा जनताको पक्षमा काम भइरहेको छैन। राम्रो काम गर्न आफ्नो नेतृत्वको सरकार हुनुपर्छ,' उनले भनिन्, 'यो कुरा जनताले राम्ररी बुझेका छन्। जनताले नै रास्वपा ठूलो दल भएको खण्डमा काम गर्न सक्ने भन्दै ०८४ मा ठूलो दल बनाउनुपर्छ भनेका हुन्।'

उनका अनुसार जनताको चाहना, अपेक्षा र भावनाअनुसार नै रास्वापले मिसन ०८४ लाई आत्मसात गरेको हो। संसदको चौथो ठूलो दलबाट पहिलो दल हुन जनचाहना अनुरुपको गतिविधि गर्नैपर्ने हुन्छ।

सांसद कठायले रास्वपा मिसन ०८४ भनेर मात्रै नलागी वर्तमानको शासन व्यवस्थाको विकृत स्वरुप बदल्नका लागि समेत लागेको बताइन्।

उनले थपिन्, 'हामी जता जाँदा पनि जनताले विकास भएन भएन भनेर गुनासो गरिरहेका हुन्छन्। विकास व्यक्तिले भन्दा पनि सिस्टमले गर्ने हो। हामी सिस्टम राम्रो बनाउन संघर्ष गरिरहेका छौँ।'

पछिल्लो समय रास्वपाका सांसदहरुले संसद र विभिन्न विषयगत समितिहरुमा गरिरहेको खबरदारीलाई स्मरण गर्दै उनले भनिन्, 'हामीले सिस्टम बसाल्न सकेको खण्डमा विकास आफैँ हुनेछ। विकासलाई चमत्कारको रुपमा नबुझी उत्तम व्यवस्थाको निरन्तरता हो भनेर बुझ्नुपर्ने हुन्छ।'

स्थानीय तह र प्रदेशमा रास्वपाको प्रतिनिधि नभएको बेला राष्ट्रियसभा सदस्य निर्वाचनमा खटिनुनपर्ने भएपछि जुम्ला पुगेकी सांसद कठायतले बिएल नेपाली सेवासँगको कुराकानीमा देशका मुख्य मिडियाहरु रास्वपाको विरुद्धमा लाग्नुको कारण सभापतिप्रति पत्रकारहरुका व्यक्तिगत कुन्ठा मुख्य कारण भएको बताइन्।

'आफ्नाे लेभलको मान्छे शासन सम्हाल्ने अवस्थामा पुगेपछि सँगै काम गरेका र हाम्रो सभापतिभन्दा सिनियर पत्रकारहरुलाई चित्त नबुझेको हो,' उनले भनिन्, 'जबकि हाम्रो सभापतिको कुनै दोष नहुँदासमेत व्यक्तिगत कुण्ठा पालेर नेपाली मिडियाले समाचार बनाइरहेका छन्। यसले नेपाली मिडियाको छवि धमिलिँदै गएको छ भने मिडियाले जनताको विश्वास गुमाउँदै गइरहेको स्थिति छ।'

उनले जनाताले अत्यधिक रुचाएपछि पार्टीले मिसन ०८४ चलाउँदा नेपाली मुलधारका मिडियामाहरु पनि मिसन बनाएर रास्वपालाई सकाउनुपर्छ भनि लागिरहेको बताइन्।

'रास्वपाले काम गरेर देखाउनलाई पनि बहुमत प्राप्त गर्नुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ। हामीले भनिरहनु पर्दैन,' उनले भनिन्, 'मिडिया रास्वपालाई मात्रै तारो बनाइरहेका छन्। जबकि वर्तमानमा राम्रो गरेर भविष्यमा अझ राम्रो देखिने चाहना कसलाई हुँदैन?'

प्रकाशित मिति: : 2024-01-25 14:25:00

प्रतिकृया दिनुहोस्