निर्वाचन आयोगले आजदेखि राष्ट्रियसभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्न निषेध गरेको छ।
यही माघ ११ गते हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म लागि प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।
राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न भन्दै आयोगले आजदेखि राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने उल्लेख गरेकाे छ।
यस्तै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न/गराउन आयोगले अनुरोध गरेकाे छ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्थासहितको तयारी कार्य पूरा भएकाे समेत जनाएकाे छ।
निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाताको रुपमा उक्त दिन बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।
निर्वाचनमा प्रदेशसभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको व्यवस्था गरिएको आयोगले जनाएकाे छ।