माओवादीको विद्यार्थी संगठनकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी

फाइल तस्विर
फाइल तस्विर

सुर्खेतमा १५ वर्षअगाडि भएकाे हत्याको घटनामा नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित ६ जनाविरूद्ध पुर्जी जारी भएको सुर्खेत प्रहरीले जनाएको छ।

२०६५ फागुन २६ गते साँझ कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको सुर्खेतस्थित जनमावि हत्या भएको थियो। हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। पक्राउ पुर्जी जारी भएका ६ जनामा टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्की छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूको खोजी गरिरहेको छ। केही दिनअघि समाचार बाहिरिएपछि विद्यार्थी अध्यक्ष पञ्चा सिंहले सामाजिक सञ्चालमार्फत यसबारे आफूलाई थाह नभएको र छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन्।

‘१५ वर्ष अगाडि घटना कसरी घट्याे, किन घट्यो, कसको कारणले घट्याे भन्ने बारेमा न्यायिक र सत्य तथ्य छानबिन हाेस्। यसमा मेराे सहयाेग रहनेछ। स्थानीय राजनीतिक प्रतिशाेधका आधारमा झुट्टा मुद्दा दर्ता गरिएको विषय याे घटनाकाे सत्यता उजागर भएसँगै सार्वजनिक हुने नै छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘राजनीतिक जीवन सुरू भएसँगै हरेक चरण षड्यन्त्रपूर्ण रूपमा कथाहरू तयार गर्ने र आराेपित गर्ने दुष्प्रयास नभएका हाेइनन्। याे घटना आराेपहरूकाे उत्कर्षकाे रूपमा रहेकाे बुझेकाे छु र यही अनुरूप सामना गर्न पनि तयार रहेकाे जानकारी गराउँछु।’

प्रकाशित मिति: : 2024-01-21 21:30:00

प्रतिकृया दिनुहोस्