सिभिल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, कार्यकारी निर्देशकको कार्यकक्षमा लगाए ताला (तस्बिरहरू)

मिनु गोले

काठमाडौं
तस्बिर: शनि शाक्य
तस्बिर: शनि शाक्य

करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालका कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएकाे छ।

आन्दोलित कर्मचारीहरूले विभिन्न माग राख्दै शुक्रबार अस्पतालका निर्देशक प्रा.डा.विधान निधि पौडेलको कार्यकक्षमा ताला लगाएका हुन्।

गत चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपस्थितिमा अस्पताल र स्वास्थ्यकर्मीबीच छ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौता १० महिना बितिसक्दा पनि कार्यान्वयनमा नभएकाे भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।

अस्पतालमा करारमा कार्यरत कर्मचारीहरूले दुई महिनादेखि पारिश्रमिक नपाएको र १४ वर्षदेखि अस्पतालमा सेवा गरिरहेका कर्मचारीलाई परीक्षाको नाममा बाहिर निकाल्ने तथा एक तह घटुवा गरेर काम गर्न अस्पताल प्रशासनले बाध्य बनाएको स्वास्थकर्मीहरूको गुनासो छ।

निजामती कर्मचारी अस्पतालको विनियमावली सम्पूर्ण कर्मचारीहरुको हकहित सुनिश्चित गर्नको लागि संशोधन गर्नुपर्ने र विनियमावली निर्माण गर्दा निजामती कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरूलाई अनिवार्य सहभागी गराउन माग गर्दै उनीहरूले विराेध प्रदर्शनसँगै निर्देशकको कार्यकक्षमा ताला लगाएका हुन्।

उनीहरू विगत लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई पूर्वः वत सेवा र सुविधाको निरन्तरता कायम गर्नुपर्ने र स्थायी प्रक्रियामा जाने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

सामाजिक सुरक्षाकोष कायम गर्नुपर्ने, कर्मचारीहरुको वृत्ति विकासमा न्यायपूर्ण समानता र पेशागत सुरक्षा कायम गर्नुपर्ने उनीहरूकाे माग छ।

आफूहरूको माग पूरा नभएसम्म आन्दोलन गर्ने र ताला नखुलाउने कर्मचारीहरूले चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2024-01-19 13:03:00

प्रतिकृया दिनुहोस्