रवि लामिछाने र जिवी राईविरुद्ध सहकारी विभागमा उजुरी

File Photo
File Photo

गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई र तत्कालीन एमडी तथा तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेकाे छ।

सहकारी ठगी प्रकरणमा राई र लामिछानेमाथि आवश्यक छानबिन र कारबाहीको माग गर्दै युवराज पौडेल सफलले विभागमा उजुरी दर्ता गराएका हुन्।

उनले जिवी राई गोरखा मिडिया नेटवर्कको अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा कायम रहेको बेलामा गैरकानुनी रुपमा सहकारीबाट रकम लिएर आजको दिनसम्म रकम नतिरी सहकारी ठगी रकम हिनामिना गरेको उल्लेख गरेका छन्।

‘सहकारीबाट लिएको करिब ५२ करोडको सावाँ व्याजसहितको हालसम्मको रकम सहकारीलाई फिर्ता गराउन साथै सहकारी ऐनभन्दा बाहिर गई कारोवार गरी सहकारीसम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेश गरेको छु’, सफलले भनेका छन्।

सहकारीबाट कर्जा लिँदा-दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपी वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्नसमेत उनले सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

‘निजहरुले कुनै. लिखित सम्झौता बिना कर्जा लिनेदिने कार्य गरेका रहेछन् भनेपनि संगठित अपराध, जालसाझी , षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्वन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु। यदि अबिलम्व यस प्रकरणमा कारवाही नगर्ने हो भने हजारौँ पीडित नागरिकको वचत रकमको सुरक्षा गर्न र उनीहरुको हक अधिकारको रक्षा गर्न कानुनी बाटोमा जानसमेत म निवेदक युवराज पौडेल सफल बाध्य हुने यसै निवेदनमार्फत जानकारी गराउन चाहन्छु’, निवेदकमा भनिएकाे छ।

हजारौँ बचतकर्ताहरुको करोडौँ रुपैयाँ हिनामिना गरी कोही फरार रहको र कोही अझै पनि गैरजिम्मेवारपूर्ण तरिकाले खुलेआम हिँडिरहेको हुनाले फरार प्रतिवादीको खोजी र सम्पर्कमा रहेका व्यक्तिलाई यथाशक्य पक्राउ गरी आवश्यक कानुनी कारवाही गर्न सफलले अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2024-01-17 15:12:00

प्रतिकृया दिनुहोस्