कारागारमा टोपबहादुर, माओवादीमा उज्जवल

ठिक १३ महिनाअगाडि सन्धिखर्कस्थित टुँडिखेलमा नेकपा (एमाले)का सचिव (तत्कालीन)समेत रहेका टोपबहादुर रायमाझीले भनेको थिए, ‘अब हामीलाई कसैले हराउन सक्दैन।’

उनको यो भनाइ अर्घाखाँचीबाट चौथोपटक चुनाव जितेको अर्काे दिनको थियो। र, यो दाबीको आधार थिए, चन्द्रबहादुर खड्का ‘उज्जवल’हरु।

त्यस्तो दाबी गर्ने टोपबहादुर अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा छन्, उज्जवल आजैकै दिन माओवादी केन्द्रमा फर्किए।

उज्जवल टोपबहादुरका युद्धकालीन तथा राजनीतिक सहकर्मी हुन्। माओवादी जनआन्दोलनको सुरुवातदेखि नै उज्जवल र टोपबहादुरसँगै थिए। उनीहरु जंगलमा सँगै युद्ध लडे। सँगै राजनीति पनि। अर्थात् उज्जवल टोपबहादुरका दुःख सुखका सारथी थिए।

टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट लगातार चार पटकसम्म चुनाव जित्दा उज्जवल उनका ‘खम्बा’ बनेर उभिरहे।

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २०७८ फागुनमा सर्वाेच्च अदालतको फैसलाबाट विभाजन भयो। विभाजनपछि एमाले र माओवादी नेता कार्यकर्ताहरु आ–आफ्नै घर फर्किए।

एमालेमा समाहित सबै नेता कार्यकर्ता माओवादीमा फर्किँदा टोपबहादुर भने एमालेतिर मोडिए।

त्यतिबेला जिल्लामा टोपबहादुरको चर्काे आलोचना भयो। पार्टी छाडेका टोपबहादुरलाई माओवादीले कारबाही गरेर सांसद पद खारेज गरिदियो। बरुक्क उफ्रिएर फुत्त एमालेमा पुगेका टोपबहादुर थचक्क भए। उपप्रधानमन्त्रीसहित मन्त्री पद पनि चैट भयो।

जतिबेला टोपबहादुर पदच्युत भए, त्यतिबेला उनको चर्काे आलोचना भयो। उनलाई ‘अवसरवादी’देखि ‘गद्दार’सम्मको बिल्ला भिराइयो। अनि, धेरै कार्यकर्ताहरुले टोपबहादुरको साथ छाडे। तर, ‘उज्जवल’हरुले छाडेनन्। टोपबहादुरको सारथी बनेर एमालेमा गएकोमा उज्जवलको आलोचना भयो। तर, पनि उनी पछाडि हटेनन्।

आधा दर्जन दलसहितको गठबन्धन र पुष्पकमल दाहाल प्रचण्डको पेलानका बिच टोपबहादुरले गत वर्षको निर्वाचनमा पनि चुनाव जिते। सबैतिरबाट पेलिएका टोपबहादुरलाई गठबन्धनका उम्मेदवारलाई परास्त गर्न सजिलो थिएन। तर, उनी फेरि पनि अर्घाखाँचीको ‘नायक’ सावित भए। टोपबहादुरले एकपछि अर्काे जित निकाल्नुको पछाडि उज्जवल पनि हुन्।

यद्यपि, जनतासँग जितको खुसी राम्रोसँग साट्न नपाउँदै टोपबहादुरलाई प्रहरीले पक्राउ गर्‍यो। त्यो पनि ‘मानव तस्करी’ अर्थात् नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्च रचेको आरोपमा।

टोपबहादुर अहिले पुर्पक्षका लागि थुनामा छन्। उनको सांसद पद निलम्बनमा छ। भने, एमालेले सचिव पदबाट हटाएको छ।

उनी कारागार चलान भएपछि अर्घाखाँचीको ‘राजनीति’लाई लिएर धेरै आंकलनमात्र भएका छैनन् भित्र–भित्रै रणनीतिक चलखेलहरु पनि भइरहेका छन्।

काँग्रेस महामन्त्री गगन थापाले त अब अर्घाखाँचीमा पुनः निर्वाचन हुने र त्यसका लागि कार्यकर्ताहरुलाई तयारी अवस्थामा रहनसमेत आदेश दिएर फर्किएका छन्। काँग्रेस नेताहरुको अर्घाखाँची आउजाउ पनि बाक्लिदै गएको छ।

यति हुँदा पनि ‘अविचलित’ रहेका टोपबहादुरका ‘खम्बा’हरु अब भने हल्लिन र बसाइँ सर्न थालेका छन्।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गरेको ‘अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम– २०८०’को उद्घाटन कार्यक्रममार्फत् सोमबार टोपबहादुरको एउटा ‘खम्बा’ अर्थात् उज्जवल माओवादीमा सरे।

पर्यटन प्रवर्द्धन भनिए पनि माओवादीको ‘पार्टी कार्यक्रम’ जसरी आयोजना गरिएको सभामार्फत् प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले उज्जवललाई पार्टीमा स्वागत गरे।

संयोग पनि कस्तो भयो भने जुन मैदान (टुँडिखेल)बाट टोपबहादुरले अन्य दलहरुलाई आफू कहिले नहार्ने चुनौती दिएका थिए, त्यही मैदानबाट माओवादीले टोपबहादुरको खम्बा आफ्नो घरमा सार्‍यो।

यो टोपबहादुरको ‘ओराली यात्रा’पछिको अर्घाखाँची एमालेको सबैभन्दा ठुलो क्षति हो। र, क्षयीकरणको सुरुवात बिन्दु पनि। अहिलेलाई यो बिन्दु सामान्यजस्तो देखिएपनि टोपबहादुरको राजनीतिक यात्रा र भविष्यमा यसले ठुलो अर्थ राख्ने निश्चित छ।

उज्जवलज्यूलाई पार्टी प्रवेश गराउने पुरानै याेजनाअन्तर्गत हाे- ठाकुरकुमार विक (किशाेर)

विगतमा विभिन्न भ्रममा परेर अन्य पार्टीमा गएका साथीहरु क्रमश: फर्किँदै हुनुहुन्छ। र, भुलवश अन्य पार्टीमा रहनुभएका साथीहरूलाई माओवादी केन्द्रमा नै फर्किएर संघीय लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै विकास, सुशासन र सामाजिक न्यायकाे पक्षमा लाग्नका लागि र आगामी समाजवादी क्रान्तिकाे यात्रालाई अगाडि बढाउनका लागि सम्पूर्ण एमालेमा जानुभएका तथा अन्य कम्युनिस्ट पार्टीमा रहनुभएका साथीहरूलाई नेकपा माओवादी केन्द्रमा आउनुहुन आव्हान गर्छु।

धेरै पहिलादेखि नै हामीहरूले अन्य पार्टीमा गएका हाम्रा कार्यकर्ता फर्काउने अभिायन सुरु गरेका थियाैँ। उज्जवलजीलाई पार्टीमा फर्काउने हाम्राे विगतदेखिकाे याेजना हाे। संयाेगवश पार्टी अध्यक्षज्यू यहाँ आउनुभयाे, पार्टी प्रवेशकाे कार्यक्रम राखिएकाे हाे नत्र हामी काठमाडाैँ गएरै भएपनि उज्जवलज्यूलाई पार्टीमा भित्र्याउने तयारीमा थियाैँ। हामी अब अरू साथीहरुलाई पनि पार्टीमा भित्र्याएर जिम्मेवारी दिने तयारीमा हामी छाैँ।

प्रकाशित मिति: : 2024-01-15 19:25:00

प्रतिकृया दिनुहोस्