म्यान्मार सेनाले बम बर्साउँदा एकै परिवारका ३ ‘नेपाली’को मृत्यु

सुधा अत्रि

म्यान्मार

म्यान्मारको सत्तासीन ‘सैनिक सरकार’ले शान राज्यको एउटा गाउँमा हवाई आक्रमण गर्दा नेपालीमूलका ३ बर्मेलीको मृत्यु भएको छ।

शान राज्यस्थित नाउँछ्यो नगरको तौंजे गाउँमा तानाशाही सैनिकले अन्धाधुन्ध बम बर्साउँदा ६९ वर्षीय रिखीराम पोखरेल, २३ वर्षीया छोरी दीपा पोखरेल र २० वर्षीय छोरा विष्णु पोखरेलको घटनास्थलमै मृत्यु भएको स्थानीयबासीले जनाएका छन्।

शुक्रबार दिउँसो साढे १ बजेतिर खाजा खाएर घरभित्रै बसिरहेका ‘पोखरेल परिवार’को सैनिक आक्रमणबाट मृत्यु भएको ‘केआईए गोर्खा बटालियन’का अधिकारीले समेत पुष्टि गरेका छन्।

म्यान्मारको सैनिकले सत्ता हातमा लिएयता एक दर्जभन्दा बढी नेपालीभाषीले ज्यान गुमाइसकेका छन्। नेपालीभाषीको बाक्लो बसोबास रहेको शान र कचिन राज्य युद्धबाट धेरै प्रभावित छ।

‘तौंजे नेपालीहरूको गाउँ हो। गाउँनजिकै सेना र नागरिकबीच ब्यापक लडाइँ छ। अहिलेको सन्दर्भमा जुन्ता सेनाले लडाइँ हारिरहेको छ,’ तौंजे गाउँका एक नेपालीभाषीले भने, ‘जनसेनाले आतंकवादी जुन्तालाई लखेट्दै छन्। लडाइँ हारेपछि तानाशाहीले गाउँघरमा बम बर्साइरहेको छ।’

पोखरेल परिवारको मृत्यु म्यान्मारका नेपालीभाषीहरू शोकमा छन्। सबैभन्दा धेरै लडाइँ भइरहेको शान राज्यमा हजारौँ नेपालीभाषीहरू बसोबास गर्छन्। दशकौँअघि काम खोज्दै विदेशिएका नेपालीहरू ‘बर्मा’ पुगेर शान राज्यका विभिन्न गाउँबसतीमा छरिएका छन्।

प्रकाशित मिति: : 2024-01-15 15:29:00

प्रतिकृया दिनुहोस्