यसरी मनाइन्छ ‘माघे संक्रान्ति’

Breaknlinks
Breaknlinks

माघ महिनाको पहिलो दिनमै ‘माघे संक्रान्ति’ पर्व मनाइन्छ। ‘माघे संक्रान्ति’ हिन्दुहरूको चाड हो। शास्त्रअनुसार सौरमासमा ‘माघे संक्रान्ति’देखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिन्छ।

सूर्यले सबै राशीलाई प्रभावित गरेतापनि सूर्यको कर्कट राशी (साउने संक्रान्ति) र मकर राशी (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। र, उत्तरायण तथा दक्षिणायणका रुपमा परिभाषा गरिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ र दिन लम्बिन र रात छोटिन सुरु हुन्छ।

‘माघे संक्रान्ति’ पर्व नेपालभर विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागरलगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भीड लाग्छ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ।

मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई महिमा सुनाउँछन्। महिमा सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।

महाभारतकाअनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगिरथले सोही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए, त्यसैले ‘माघे संक्रान्ति’का दिन प्रयाग र गङ्गा सागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।

नेपालको समस्त भू-भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि सबै जनजातिले ‘माघे संक्रान्ति’लाई आ-आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ।

नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ। नेवारहरू यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन्। यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन्।

बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एकआपसमा दुःख-सुखका गफमा रमाउँदै, भजनकिर्तन गर्दै यस पर्वलाई मनाउने गर्दछन्।

भक्तपुर टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ। तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ। ‘माघे संक्रान्ति’का दिन नारायणको मूर्तिभरि घिउ दलेर तिल चढाउने र उक्त घिउ–तिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ।

पनौतीमा मकर मेला लाग्छ। लिच्छविकालीन राजा मानदेवको पालादेखि नै सुरू भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट हुने गर्दछ।

इलाममा ‘माघे संक्रान्ति’का दिन इलाम जिल्लाको माइबेनीमा मेला लाग्छ। उक्त मेलामा धान नाच, चण्डी नाच, बालन, संगिनी, मारूनी नाच जस्ता परम्परागत नृत्य हेर्न पाइन्छ। झापामा ‘माघे संक्रान्ति’का दिन कन्काईमा हिन्दु धर्मावलम्बीले मकर स्नान गर्छन्।

संक्रान्तिदेखि पाँच दिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ।

सुनसरी बराहक्षेत्रमा ‘माघे संक्रान्ति’का दिन बिहानैदेखि हजारौँ हिन्दु धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन्। हिन्दु धार्मिक विश्वासका आधारमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ।

मैथिलीले तिला संक्रान्ति पर्वका रूपमा मनाउँछन्। यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन्। यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ। यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ। नुवाकोटमा तारूका गोरू मेला प्रत्येक वर्ष माघ १ गते वा ‘माघे संक्रान्ति’का दिन भव्य रूपमा आयोजना गर्ने गरिन्छ।

दैलेखमा यो पर्व मनाउने छुट्टै परम्परा रहेको छ। यस क्षेत्रमा मकर संक्रान्तिलाई चेलीत्यार भनिन्छ। चेलित्यार भन्नाले चेलीको तिहार भन्ने बुझिन्छ। यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याइन्छ। पुस मसान्तको राति तरूल, बाबर (सेलरोटी), पकाएर पहिले कागको लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ। राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढाहरूको थुप्रो बनाएर आगो लगाइन्छ।

गाउँका बुढा-बुढी तन्नेरी-तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन्। मुढा ताप्ने थलामा रातभर कसैले देउडा गायत विभिन्न नाचगान गर्छन् भने कसैले गाउँखाने कथा, दन्तेकथा गरेर रात काट्छन्। बिहान भएपछि नुहाएर सबैभन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ।  कागलाई बोलाउँदा केटाकेटीहरू ‘कौवा का का, बाबर खा खा’ भनेर बोलाउँछन्। सेलरोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँड्ने चलन छ। माइतमा बसेका चेलीहरूलाई गाउँमै पोका बाँडेर ‘पोइल’ गइसकेका चेलीहरूलाई पनि पोका पुर्याउन जाने चलन छ।

मकर संक्रान्तिको दिन आफ्नो चेलीलाई पोका दिन सकिएन भने माघको महिनाभित्रै कुनै पनि दिनमा एक पटक चेलीलाई सेलरोटी र तरुलको पोका बनाएर पुर्‍याउने चलन छ।

रिडीमा चर्चित ‘माघे संक्रान्ति’ मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लाग्छ। कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ। देवघाटमा हरेक वर्ष लाग्ने मकर संक्रान्ति मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ।

माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ। ‘माघे संक्रान्ति’को अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई 'जिता मरना दिन' भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी–पिठोको एक परिकार, माछालगायतको परिकार बनाएर जाँड–रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका गर्ने प्रचलन छ।

'सखियै हो, माघीक पिली गुरी जाँर' भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ। माघीमा गाइने गीतलाई 'धमार' भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ। ‘माघे संक्रान्ति’को दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ। यसलाई 'माघ लहान' भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ।

माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ। यो दिनलाई 'खिचरहवा' भनिन्छ। माघीमा थारू समुदायले छोरीचेलीलाई उपहार दिने चलन छ। माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ। सम्बन्ध प्रगाढ बनाउने दिन पनि हो।

मगर जातिमा नेपालका मगर जातिहरूबीच ‘माघे संक्रान्ति’लाई मुख्य पर्वको रूपमा धुमधामसँग मनाउने चलन छ। मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको ‘माघे संक्रान्ति’ पूर्व र पश्चिम अर्थात् मगरहरूबीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ।

‘माघे संक्रान्ति’लाई मगर जातिले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ। बालकहरू धनु काँड खेल्दै ‘माघे संक्रान्ति’को रौनक सुरू गर्छन्।

वन–तरुलबिना दिदीबहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ-भाइ जिरेलतिर लाग्छन्। घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घर–तरुल खनेर तयारी गर्छन्। अबेर वन–तरुल लिएर फर्केका पाइहरू रात भरर तरुल पकाउनेदेखि पुरी बनाउने अधिष्ठान्न भोज पकाउनुमा व्यस्त हुन्छन्।

(तेजस्वी र कुन्जन काठमाडाैँस्थित एस स्कुलमा कक्षा ५ र कक्षा ३ मा अध्ययनरत छन्।)

प्रकाशित मिति: : 2024-01-15 13:26:00

प्रतिकृया दिनुहोस्