मुगुमा १४ वर्षीया बालिका बलात्कार, दुई सरकारी कर्मचारी पक्राउ

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

मुगुमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए।

उनकाअनुसार पीडित बालिकाले जाहेरी दिएपछि प्रहरीदेखि सरकारी कर्मचारीसम्मले ती बालिकालाई बलात्कार गरेको खुलेको छ।

‘बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ,’ उनले भने, ‘बालिकाको गर्भमा भ्रूण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो। ती बालिकामाथि गत भदौमा बलात्कार भएको देखिएको छ।’

डिएसपी थापाकाअनुसार बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायानाथ रारा नगरपालिका- ५, कार्कीवाडाका ३० वर्षीय पुरुष, छायानाथ रारा नगरपालिकाका नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका- ८, आँसिधारा गाउँका २२ वर्षीय वसन्त रोकाया लगायतविरुद्ध जाहेरी परेको छ।

१४ वर्षीया बालिकाले गत १६ भदौमा आफूमाथि बलात्कार गरेको र १० असोजमा नगर प्रहरी वसन्त कार्कीसहित वसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयान दिएको डिएसपी थापाले बताए।

बलात्कारपछि पेट दुख्नेलगायतका समस्या देखापरेपछि बालिका जिल्ला अस्पताल मुगुमा स्वास्थ्य जाँच गराउन पुगेकी थिइन्। अस्पतालमा जाँच गराउँदा उनको गर्भमा बच्चा रहेको पाइएको थियो।

बालिकाको जाहेरीपछि घटनामा संलग्न रहेको आरोप लागेका तीन बालकसहित नगर प्रहरी वसन्त कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकायालाई पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको डिएसपी थापाले बताए।

प्रकाशित मिति: : 2024-01-14 20:32:00

प्रतिकृया दिनुहोस्