गत बुधबारदेखि तातोपानी गाउँपालिका–८ थालालेमा टावर निर्माण भएपछि उक्त क्षेत्रमा फोनको समस्या दुर भयो भनिएको थियाे। तर केही गाउँमा संचार सुविधा अझै राम्रो भइसकेको छैन।
टावर संचालनपछि सुविधा पुग्यो भनेर संचार माध्यममा आएपनि सुविधा उपभोग गर्न नपाएको स्थानीयको भनाइ छ।
तातोपानी ७ मा पर्ने ताम्ती स्वास्थ्य चौकी स्थित लामाबगरबाटै टावरले काम गर्न छोडेको देखिन्छ। स्वास्थ्य चौकी आसपासमा नेटवर्कले थोरै काम गरे पनि डुंग्री, टोप्ला लगायतका गाउँमा नेटवर्कले गतिलो काम गरेको छैन।
'सानो किप्याड मोबाइलमा घरबाहिर आएर मात्रै कुरा गर्न सकिने स्थिति छ,' स्थानीय महेन्द्र शाहीले भने, 'हामीले अझै संचार सुविधा पाएका छैनौं।'
तातोपानी–८ का सबैभन्दा दुर्गम गाउँ मछाली, बुडाबाडा, टोप्ला, डुंग्री लगायतका क्षेत्रमा अझै टावरले काम नगरेको पाइएको छ।
थलाले टावर सञ्चालन भएपनि टोप्ला, मछाली, बुडाबाडा, डुंग्री लगायतका केही बस्ती अझै संचार विहिन रहेको टोप्ला गाउँका स्थानीय लोक बहादुर शाहीले बताए।
'वर्षौंदेखि अलपत्र थलाले टावर संचालनपछि फोरजी सहितको ईन्टरनेट तथा टेलिफोन सेवा सुरु हुने आशा थियो,' उनले भने, 'संचार असुविधाले भोग्नु परेका समस्या अन्त्य हुने अपेक्षा गरियो।'
के कति कारणले टोप्ला लगायतका केहि गाउँमा थलाले टावरले काम नगरेको हो स्थानीयले बझ्न नपाएको प्यारजंग शाहीले बताए। उनले भने, 'यता झन् असुविधा भयाे।'
सबैभन्दा समस्याका रुपमा रहेको संचार सेवाको दिर्घकालीन समधान हुन नसकेकोमा स्थानीय दल बहादुर शाहीले बताए। 'जताततै भेरीखोला संचार पहुँचमा भन्ने सुनियो। तर हामीले ढुक्कले फोन गर्न पाएका छैनौं,' उनले भने, 'यहाँको संचार समस्याबारे पालिका, नेपाल टेलिकम सबै गम्भीर हुन आवश्यक छ।'
साथै ताम्ती स्वास्थ्य चौकीको क्षेत्रमा पनि टावरले काम नगरेको पाइएको छ। भोल्ट कनेक्ट भएको मोबाइल सेटमा मात्रै फोन तथा ईन्टरनेटले काम गरेको र अन्य कुनै पनि मोबाईल सेटमा टावरले काम गरेको छैन।
नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सुर्य यादवले थलाले टावरमा टुजी जडान हुन बाँकी रहेकोले टाढाका गाउँहरूमा टावरले काम नगरेको बताए।
'टुजी जडान नभएरसम्म साना ठुला कुनै पनि मोबाइलमा टावरले काम गर्दैन,' उनले भने, 'हामीले चलाउने मोबाईल प्राय ८ सय व्याण्ड र १८ सय व्याण्डका हुन्छन्। तर टुजी जडान भएपछि सबै मोबाइलमा काम गर्छ।'
उनका अनुसार एक हप्ताभित्र भेरीखोलाका सबै गाउँहरूमा थलाले टावरले काम गर्छ। टुजी जडानपछि ८ सय र १८ सय व्याण्ड भएका मोबाइलमा कुनै समस्या हुने छैन।