पारस खड्काले क्रिकेट संघमा ‘आफ्नो मान्छे’ महाप्रबन्धक बनाएका हुन्?

लामो रस्साकस्सीपछि ‘जनरल म्यानेजर(महाप्रबन्धक)’ पाएको नेपाल क्रिकेट संघ(क्यान)मा उत्सव ढुंगानाको नियुक्तिले विवाद चुलिएको छ। पदाधिकारीबीच कुरा नमिल्दा क्यानमा करिब ६ महिनासम्म त्यो पदमा नियुक्ति हुन सकेको थिएन।

अघिल्लो हप्ता क्यानले ढुंगानालाई जनरल म्यानेजनर (जिएम) नियुक्त गरेको थियो। यसअघिका जनरल म्यानेजर वृत्तान्त खनालले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो।

जनरल म्यानेजर पदका लागि क्यानले दुई पटक विज्ञापन खुलाएको थियो। त्यसपछि क्यानले केही आवेदकहरूलाई सर्टलिस्टेड गरेर नयाँ जिएम नियुक्त गर्‍यो। तर, नयाँ जिएम नियुक्त भएको दुई दिन नबित्दै असुन्तष्ट पक्षले नियुक्त प्रक्रिया गलत भएको र त्यसमा आफ्नो मान्छे राख्न चलखेल भएको आरोप लगाएको छ।

बुधबार असन्तुष्ट पक्षका नवराज कोइरालाले पत्रकार सम्मेलन गरेर त्यसको विरोध गरेका हुन्। उनी आफैँ पनि जिएमका लागि प्रतिस्पर्धामा थिए।

उनले क्यानका सचिव पारस खड्का र गोविन्दराज केसी नै संस्थापक रहेको अर्को गैरसरकारी संस्था ‘बलियो नेपाल’का कर्मचारी ल्याएर क्यानको जलरल म्यानेजर बनाएको आरोप लगाएका छन्।

‘अहिले क्यानमा जिएम नियुक्त हुनुभएका उत्सव ढुङ्गाना पनि पारसजीहरूकै संस्था बलियो नेपालमा हुनुहुन्थ्यो’, उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘आफ्नै फरक संस्थाबाट ल्याएर त्यहीँको मान्छे नियुक्त गर्दा त्यसमा पक्कै चलखेल भएको छ भन्ने हाम्रो ठम्याइ हो र त्यो नियुक्ति नै शंकास्पद छ।’

जिएम नियुक्त गर्नका लागि क्यानले एउटा छनोट समिति बनाएको थियो। त्यो समितिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए।

क्यानले जिएमका लागि मसिंर ७ मा निवेदन माग गरेको थियो। पहिलो पटक छनोट नभएपछि क्यानले पुन: दोस्रो पटक जिएमको लागि निवेदन माग गरेको थियो। त्योबेला नियुक्तिमा विवाद भएपछि क्यानको साधारणसभासमेत बिथोलिएको थियो।

क्यानका अध्यक्ष चन्दले भने यसलाई आफूहरूले सामान्यरुपमा लिएको बताए। ‘हामीले योग्य मान्छेलाई नै नियुक्त गरेका हौँ। हामीले नियुक्त गरेको जिएम आफ्नै योग्यता र क्षमता कारण नियुक्त हुनुभएको हो, कसैको नजिकको मान्छे भएर नियुक्त हुनुभएको होइन’, चन्दले भने, ‘यस्ता असन्तुष्टिहरू आइरहन्छन्। हामीले त्यसलाई सामान्यरुपमा लिएका छौँ।’

त्यो पदका लागि ६१ जनाले आवेदन दिएका थिए। तीमध्ये क्यानले ७ जनालाई सर्टलिस्टमा राखेको थियो र उनीहरूसँगै अन्तर्वार्ता अनि प्रस्तुतिका आधारमा ढुङ्गानालाई नियुक्त गरेको हो। त्यसमा छनोट नभएकाहरूले भने क्यानको त्यो नियुक्तिलाई लिएर विभिन्न सवालहरू उठाएका छन्।

शनिबारको दिन त्यो पनि ‘स्टार होटल’मा अन्तर्वार्ता र प्रस्तुति लिएको अनि सामान्य कर्मचारीलाई सोधिनेखालका प्रश्नहरू सोधिएको भन्दै उनीहरूले ‘योग्यता’ नभइ आफन्त र नजिकको मान्छे भएको आधारमा जिएम नियुक्ति गरिएको आरोप लगाएका छन्।

यता, क्यानका अध्यक्ष चन्दले भने ती आरोपहरूमा कुनै तथ्य र सत्यता नभएको बताएका छन्। उनले क्यान अन्तर्राष्ट्रिय अनुदानबाट चल्ने संस्था भएका कारण त्यही फिल्डमा योग्य र क्षमतावान जिएम नियुक्त गरेको भन्दै असन्तुष्टिहरू आएकै कारण यो नियुक्ति खारेज नहुने दाबी पनि गरे।

‘यस्ता कुराहरू हुँदै गर्छन्। उहाँहरूले भनेजस्तो केही ठूलो भएको छैन। त्यसमा कुनै शंका गर्नुपर्दैन। यस्ता नियुक्ति, कुनै सम्झौताहरू हामीले होटलमै बसेर टुङ्ग्याउँछौँ’, उनले भने, ‘हामीले उहाँहरूलाई जानकारी दिने भनेको पनि इमेलबाट नै हो। यही प्रक्रियामा चल्दै आएका छौँ।’

असन्तुष्ट पक्षले भने ७२ घण्टाभित्र क्यानले निर्णय नसच्याए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्। तर क्यानका अध्यक्ष चन्द त्यो उनीहरूको ‘अधिकार’ भएको र आफूहरू निर्णयबाट पछि नहट्ने बताउँछन्।

‘चित्त नबुझे अदालत जान पाउने उहाँहरूको अधिकार नै हो। उहाँहरू जान सक्नुहुन्छ। तर त्यसकै आधारमा फेरि नियुक्ति बदर हुने भन्ने हुँदैन’, चन्द भन्छन्, ‘यसमा हामीमात्रै होइन, आइसिसीकै सहमति र स्वीकृति चाहिन्छ। त्यसैले यसमा त्यस्तो कुनै कमिकमजोरी भन्ने हुँदैन।’ 

प्रकाशित मिति: : 2024-01-12 19:33:00

प्रतिकृया दिनुहोस्