बरहथवा घटना: साहको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका ३० वर्षीय जयशङ्कर साहको शव तेस्राे दिन पनि घटनास्थलबाट उठाइएकाे छैन।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै शुक्रबार भएको विरोध प्रदर्शनका क्रममा प्रहरीकाे गाेली लागेर साहको ज्यान गएकाे थियाे। आफ्नाे माग पूरा नभएकाे भन्दै आन्दोलनकारीले साहको शवघटनास्थलबाट उठाउन नदिएका हुन्।

दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएको छैन।

घटना सम्बन्धमा छानबिन गर्न तथा शव उठाउने विषयमा सबै पक्षसँग संवाद जारी रहे पनि सहमति भएकाे छैन।

शुक्रबार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही घाइते भएका थिए। झडपपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञासमेत जारी गरेको थियो।

प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हावामा गोली हान्नाका साथै र अश्रुग्यास प्रहार गरेको थियो।

नगरप्रमुख कटुवालको निवासअगाडि पार्किङ गरी राखिएको एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरेको थिए।

प्रकाशित मिति: : 2024-01-07 11:50:00

प्रतिकृया दिनुहोस्