सर्लाहीको बरहथवा नगरपालिकामा एक जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति बनाएको छ।
मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
समितिमा सहसचिव गौतमसहित नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी छन्।
यसैगरी मन्त्रालयले मृतकको परिवारलाई सरकारका तर्फबाट राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सचिव भट्टराईले बताए।
शुक्रबार सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै भएको विरोध प्रदर्शनमा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो।