राष्ट्रियसभा निर्वाचन: एमालेलाई एक्ल्याइयाे, गठबन्धन दलभित्रै सिट बाँडफाँट गरिने

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने भएकाे छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन सम्बद्ध ४ दलको बैठकले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेकाे हाे।

१९ सिट हुने निर्वाचना सत्ता गठबन्धन दलभित्रै सिट बाँडफाँट गरेर जाने निर्णय भएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘बृहद् लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि तत्काल सम्भव हुन सकेन’, लेखकले भने।

एमालेले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेकोले सत्ता गठबन्धनले पनि गठबन्धनभित्रै सिट बाँडफाँट गरेर चुनाव लड्ने सहमति भएकाे उनले बताए।

उनका अनुसार यसका लागि सत्ता गठबन्धनकाे सबै दलहरूबीच साँझ ५ बजे छलफल हुनेछ। साँझको बैठकमा सत्ता साझेदार सबै दललाई बाेलाइएकाे छ। बैठकले निर्वाचनमा कुन दललाई कति स्थान दिने भन्ने निष्कर्ष निकाल्ने छ।

प्रकाशित मिति: : 2024-01-06 13:39:00

प्रतिकृया दिनुहोस्