यदि कसैले हरि रोकाया को हो? भन्यो भने त्यसको सजिलै उत्तर दिन सकिन्छ।
हरि रोकाया १५ वर्षको उमेरदेखि नै धावन यात्रा तय गरेका एक नामी खेलाडी हुन्। एभरेस्ट म्याराथनमा ह्याट्रिक गर्दै विश्व कीर्तिमान राख्ने एक अद्भुत क्षमतावान व्यक्तित्व हुन्। साविकको कर्णाली अञ्चललाई पहिलो पटक मेडल दिलाउने यो देशकै सान हुन्। १३ वटा राष्ट्रिय तथा २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका जुम्ली सपुत हुन्।
जो विगत २८ वर्षदेखि खेलकुद विकास समितिका जागिरे थिए। उसो त त्यसअघि पनि जागिरे नै थिए। तर, बहुदल आएपछि पञ्चायती व्यवस्थामा खाएको जागिरबाट हात धुनु परेको थियो। सुरुमा केही रुडडदा देखाए पनि बहुदलले रोकायाको प्रतिभालाई चिन्यो। उनी पुन: जागिरे भए।
शुक्रबार ५८ वर्ष पुगेपछि उनले आफ्नो जागिरे जीवनबाट अनिवार्य अवकास लिए। जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा आयोजित बिदाइ तथा सम्मान कार्यक्रममा थोरै लोसेजस्तो गरी बसेका उनको गला जब माला र खादाले भरिँदै गयो तब थोरै मुस्कुराए। तर, त्यो मुस्कान फिक्का लागिरहेको थियो। उनको बोलीमा उत्साह थिएन। तैपनि बोले, ‘जीवन पूरै खेल क्षेत्रमा लागेर बित्यो। कहाँ टाढा हुन सकुँला र? म रहुन्जेल खेल क्षेत्रको विकासका लागि सकेको गर्नेछु।’
जुम्ला बजारबाट बिहान दौडिएर मुगुको रारा ताल पुगेर फेरि साँझ जुम्ला बजार आइपुग्न सक्ने अहिलेसम्म पनि एक व्यक्ति रोकाया नै हुन्। (जुम्लाबाट रारातालसम्मको दूरी ४९ किलोमिटर छ।)
अन्नपूर्ण सर्किट सबभन्दा छिटो (२४ घण्टा ५ मिनेट)मा सम्पन्न गर्ने कीर्तिमानी व्यक्तित्व उनै हुन। थुप्रै रेकर्डहरू तोड्ने, आफ्नै रेकर्डसम्म तोडेका, सन् ८० दशकको उत्तरार्धदेखि ९०को दशकभर नेपालमा भएका लामो दूरीका लगभग सबैखाले दौडहरू जितेका र एक गर्विलो इतिहास बोकेका खेलाडी, उनी। जसको नामैले सारा कर्णालीबासीको छाती चौडा गराइदिन्छ।
उनले आफ्नो खेल जीवनमा सबैभन्दा ठुलो सफलता एभरेष्ट म्याराथनमा हात पारे। सन् १९९३देखि एभरेष्ट म्याराथनमा सहभागिता जनाएका उनले त्यसको ४ वर्षपछि मात्रै सफलता हात पारे। तर, त्यो विश्व रेकर्ड भने थिएन। त्यसको दुई वर्षपछि सन् १९९९मा रोकायाले हाई अल्टिच्युडको उक्त प्रतियोगितामा रेकर्ड बनाए, फाष्ट रनरको। उनले ४२.१९५ किलोमिटरको एभरेष्ट म्याराथन ३ घण्टा ५६ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए। एभरेष्ट म्याराथनमा कम समयमा दौड पूरा गरेपछि उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश भयो।
उनी आफैँले आफ्नो पहिलो रेकर्ड धेरै समय टिक्न दिएनन्। एभरेष्ट म्याराथन सन् २०००को संस्करणमा रोकायाले ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा पूरा गर्दै गिनिज बुकमा रहेको आफ्नै रेकर्ड तोडे। रोकायाले आफ्नो खेल जीवनको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय मेडल जितेका छन्। त्यो हो, बैङ्ककमा भएको इन्टर कप प्रतियोगिता। जहाँ ५ र १० किलोमिटरको दौडमा प्रथम भएका थिए।
रोकायाको एभरेष्ट म्याराथनको ह्याट्रिक रेकर्ड अहिलेसम्म कसैले ब्रेक गर्न सकेको छैन। यसैबाट नै उनले देश चिनाएका छन्। त्यो भन्दा बढी देश चिनाउने उत्तराधिकारी तयार पारेका छन्। विश्वरुपा बुढा, सुनमाया बुढा, पूर्णलक्ष्मी न्यौपाने, दुर्गा बुढा, रेजिना भण्डारी, राममाया बुढा, मञ्जु बुढा, सबै रोकायाका उत्तराधिकारीको रूपमा उदाएका छन्। उनीहरू विदेशी भूमिमा चन्द्र-सूर्य अंकित झण्डा फहराइरहेका छन्।
झण्डै २५ वर्षसम्म नेपाली राष्ट्रिय एथ्लेटिक्स संघको खेलाडीका रुपमा रहेका रोकायाले २०६० सालमा भएको एभरेष्ट म्याराथनबाटै सन्यास लिएको घोषणा गरे। उक्त प्रतियोगितामा रोकायाले ४० वर्ष उमेरभन्दा माथिको समूहमा दौडिएका थिए। त्यहीबेला उनी म्याराथनको बिचमै बिरामी भए। जसले गर्दा उनी चाहेर पनि दौडिन सकेनन्।
त्यसयता उनी चुप लागेर बसेनन्। दौदिन छोडेनन्। आफ्ना उत्तराधिकारीलाई कठिन भिरपाखामा दौडाउन लागे। परिणाम आज राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा छाप बसाउन सफल खेलाडीहरूको जन्म भएको छ।
प्रसिद्ध भूगोलविद डा. हर्क गुरुङ जुम्ला आउँदा घण्टी बाँधिएको भाला र हुलाकी झोला बोकेर हरेक बिहान ५ किलोमिटर दगुर्दै अर्को केन्द्रसम्म हुलाक पुर्याउने हुलाकीलाई सम्झदै भनेका छन्- ‘पहाडका जवान हुलाकीलाई अलिकति मात्र फकाउने हो भने अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको म्याराथन दौडमा नेपालले जित्ने राम्रो सम्भावना छ।’ झण्डै ५७ वर्षअघि गुरुङले गरेको कल्पनालाई रोकायाले हकिकतमा बदलिदिएका छन्, डाँडापाखामा केटाकेटी दैडाएर।
अहिले पनि कैयौं खेलाडीहरू खेल जीवनबाट टाढिएपछि विदेश पलायन भएका छन्। रोकायासँगैका कतिपय साथीहरू अहिले विदेशमा छन्। उनलाई पनि विदेशबाट प्रस्ताव नआएका होइनन्। तर, देशको सम्मानका लागि पनि पलायनको सोच नराखेका कारण उनी राष्ट्रको गहना बनेका छन्।
रोकायालाई २०७५ सालमा ‘गुलिएन-बेर्रे सिन्ड्रोम (जिबिएस)’ भयो। त्यसले शरीरको प्रतिरक्षा प्रणाली हात-खुट्टातिर प्रवाह हुने स्नायुलाई आक्रमण गर्यो। यो रोगको लक्षण हातखुट्टाको चाल, दुखाइ, तापक्रम र स्पर्श संवेदना नियन्त्रण गर्ने स्नायु अवरुद्ध हुने हुन्। जसले शरीरका मांशपेशीहरू कमजोर र लाटा हुन्छन्। सम्भावित जटिलताको समयमै उपचार भएन भने प्यारालाइसिस हुन सक्छ। सुखद संयोग मान्नुपर्छ समयमै समस्याको उचित उपचार, स्याहार र फिजियोथेरापी माध्यमबाट उनी निको भए। त्यसपछि पनि लगातार खेलाडीहरुलाई प्रशिक्षण दिई नै रहेका छन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा अब्बल सावित हुँदै आएका उनका खेलाडीहरुलाई उत्साह दिन उनी आफ्नो दैनिकी खेलाडीहरुसँग बिताइरहेका छन्। उनले भने, ‘दौड प्रशिक्षणमा लगनशील युवा-युवतीमा डर नपसोस्। अभिभावकले नै उनीहरूलाई दौडिन निरुत्साहित नगरुन्। भावी पुस्ताका खेलाडीमा खेलप्रतिको रुचि नघटोस भन्ने लागेर नै उनीहरुसँग समय बिताउन मन लाग्छ। केही भएपनि नयाँ सिकाउन पाए हुन्थ्यो भन्ने लाग्छ।’
रोकायाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका म्याराथन जित्न अल्टिच्युडले असर पार्ने बताउँदै आएको लामो समय भयो। त्यसैले उनी जुम्लाजस्तो अग्लो स्थानमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर खोलेर थुप्रै खेलाडीहरू तयार पार्ने सपना बोकेर लागेका छन्। यस्ता ठाउँमा ट्रेनिङ गरेमा सबै प्रकारका खेल जितिने र खेलाडीहरूबाट उपलब्धी हात लाग्ने उनको अनुभव हो। तर, आजसम्मका सबै सरकारले उनको यो योजनालाई प्राथमिकतामा राखेका छैनन्।
खेल क्षेत्रबाट देशको शिर उचो पार्न आफ्नो पूरै जीवन लगाएका रोकायाको सोच हालसम्म पूरा हुन सकेको छैन। उनको नामको रंगशाला बन्दैछ। तर, त्यसमा एथलेटिक्सका खेलाडीले प्रशिक्षण लिन मिल्ने छैन। किनभने, त्यहाँ बन्ने ट्रयाक अन्तर्राष्ट्रिय मापदण्डको नहुने उनको बुझाइ छ। केही थप जग्गा लिएर भएपनि सरकारले एथलेटिक्सको खेलाडीलाई मध्येनजर गरेर रंगशाला बनाइदिएको भए आफ्नो सपना पूरा हुने उनको आशा छ।