आज भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै

कोभिड महामारीका कारण विगत दुई वर्ष संयुक्त बैठक हुन सकेको थिएन। त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन्।

नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

दूतावासका अनुसार मन्त्री जयशंकरले आज नै उच्चपदस्थ राजनीतिक भेटघाट सक्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनी बिहान ११ बजे शितलनिवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुनेछ।

दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।

जयशंकर शुक्रबार बिहान ८ बजे पूजाआजाका लागि पशुपति जाने कार्यक्रम छ।

दुई दिने भ्रमण सकेर उनी शुक्रबार १२ बजे भारत फर्किने दूतावासले जनाएको छ।

प्रकाशित मिति: : 2024-01-04 07:03:00

प्रतिकृया दिनुहोस्