अन्तिम बेलाकाे एउटा ‘शुक्रबारे पाटी’मा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना नजिकका एकजना साथीसँग भनेका थिए- ‘बेबी किङ विल बि ओभर माई डेड बडी...!’
‘नागरिक अभिनन्दन’का लागि पश्चिम नेपालका जिल्लाहरू घुमिरहेका ज्ञानेन्द्र शाहले आफूसँगै मञ्चमा आफ्ना नाती ‘ह्रृदयेन्द्र शाह’लाई देखाइरहेका छन्- जो त्यतिबेला ‘बेबी’ थिए।
तिहारलगत्तै पूर्वी नेपालको घुमघाम सकेर फर्किएका ज्ञानेन्द्र फेरि पश्चिम नेपालतिर निस्किएका हुन्। अहिले कपिलवस्तु वरिपरिका क्षेत्रहरूमा घुमिरहेका उनी पुस २७ गते महेन्द्रनगरसम्म पुग्ने कार्यक्रम यसअघि नै उनको सचिवालयले सार्वजनिक गरिसकेको छ।
दुई दिनअघि उनले कपिलवस्तुको शिवराज नगरपालिकाले बनाएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका थिए। हजारौं मानिसले ज्ञानेन्द्र उनकी पत्नी कोमल र नाती ह्रृदयेन्द्र शाहको ‘भव्य’ स्वागत गरेका थिए।
गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा मेयर भएका थिए।
अब उनी बिहीबार भैरहवामा हुने ‘नागरिक अभिनन्दन’ पर्खिरहेका छन्। त्यो अभिनन्दन ‘ग्रहण’ गरेपछि उनले त्यहाँ छोटो सम्बोधन पनि गर्ने छन्।
राजाले देखाइरहेका नाती
कपिलवस्तुमा भएको त्यो कार्यक्रमबीच तयार पारिएको एउटा ‘भव्य’ आसनमा ज्ञानेन्द्रसँगै बसेका उनका नाती ह्रृदयेन्द्रको तस्वीर सार्वजनिक गर्दै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले लेखे- ‘मपछि उही नै हो राजा!’
सामाजिक सञ्जालमा यो तस्वीरसँगै मिश्रले अघि लेखेका छन्- ‘सन्देश यही हुनुपर्छ। राजाले सबै कुरा बोल्दैनन्। संकेतलाई बुझ्नुपर्छ। अहिलेको समयमा सार्वजनिक मञ्चमा राजपरिवारबाट राजा ज्ञानेन्द्र र नवयुवराज हृदयेन्द्र दुई जनाको मात्रै उपस्थितिको ठुलो राजनीतिक अर्थ छ।’
पछिल्ला दिनहरूमा ‘चर्को राजावादी’ भएर निस्किएका मिश्रलाई जवाफ फर्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना नेता अरणिको पाँडेले लेखिदिए- ‘राजतन्त्र फर्किन्न र फर्किन दिन्न पनि, गणतन्त्रको राम्रो पक्ष नै नेता गन्हायो भने जनताले त्यसलाई अर्को चुनावमा हटाउन सक्छन्। अहिले गणतन्त्रलाई बदनाम दिने नेताहरुले फेरि भोट पाउँदैनन्। तर, मूर्तिचोर राजा भइदिए त जीवनभर नै मूर्तिचोर र मूर्तिचोरका सन्तानले देश चलाएको हेरेर बस्ने?’
सामाजिक सञ्जालको यो उत्तेजक सवाल-जवाफमा थुप्रैले प्रतिक्रिया दिएका छन्।
ज्ञानेन्द्रले देखाइरहेका उनका यी नाती उनै हुन्- जो २०६४ सालको संविधानसभा निर्वाचनपछि ‘बेबी किङ्ग’का रुपमा चर्चामा आएका थिए।
ज्ञानेन्द्रका छोरा पारस शाह र हिमानी शाहको कोखबाट २०५६ साल साउन १४ गते जन्मिएका हृदयेन्द्र त्यो बेला जम्मा आठ वर्षका थिए। अब उनी २४ वर्षे लक्का जवान भइसकेका छन्।
नेपालको इतिहासबाट भर्खरै राजतन्त्र उखेलिएको थियो। ‘युद्ध’ बिसाएर नेकपा माओवादी संसदीय राजनीतिमा आइसकेको थियो। अझ २०६४को संविधानसभाको चुनावमा त झन् भर्खरै युद्ध सकेको त्यो माओवादी पहिलो पार्टी भएर आयो।
नेपाली काँग्रेस खुम्चियो। ‘गणतन्त्र’माथि आफ्नो पहिलो ‘हक’ जमाइरहेको माओवादीको रजगज संसदीय राजनीतिको त्यो पहिलो पाइलासँगै अझ भयानक पनि देखिन्थ्यो।
२०६२-६३को ‘जनआन्दोलनका कमाण्डर’ भनेर चर्चा गरिएका नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पहिलो संविधानसभाको चुनावी परिणामले अलिकति रन्थनिएका थिए।
सार्वजनिक रुपमा पहिलोपटक उनकै मुखबाट निस्केको थियो- बेबी किङ्ग। सामान्य परिस्थितिमा राजाको पहिलो सन्तान नै राजगद्दीको स्वतस् हकदार हुन्छन्। एकपटक केही घण्टाका लागि ‘बेबी किङ्ग’ पनि भइसकेका ज्ञानेन्द्र भने अलि फरक परिस्थितिमा राजा हुन पाए। नत्र उनी त्यसका हकदार होइनन्।
उनीपछि स्वत: पारस नै हो, राजा। तर, उनका तमाम बदनामीहरू ‘राजतन्त्र’ मासिनुको एउटा कारण पनि थियो। त्यसैले कोइरालाको मुखबाट फुत्किएको ‘बेबी किङ्ग’को सिधा संकेत थियो- हृदयेन्द्र शाह।
तर, तत्कालीन प्रधान सेनापति रुकमाङ्गद् कटवालले भने त्यो प्रस्ताव आफ्नो भएको दाबी पनि गरेका छन्। उनले आफ्नो आत्मकथामा त्यसबारे लामो बखान गरेका छन्।
उनकै अनुसार त्यो प्रस्ताव कानमा परेपछि एउटा ‘शुक्रबारे पाटी’मा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना विश्वासिला ‘दोस्त’हरूसँग भनेका थिए- ‘बेबी किङ विल बि ओभर माई डेड बडी’ अर्थात् ‘बेबी किङ मेरो लासमाथि मात्र सम्भव छ।’
त्यसको सिधा अर्थ थियो ज्ञानेन्द्रले आफू हटेर अर्को कुनै ‘बालराजा’ खडा गर्ने पक्षमा थिएनन्।
ज्ञानेन्द्रले किन त्यो प्रस्ताव ठाडै अस्विकार गर्थे? कटवालले दरबारनिकट मान्छेहरूबाट सुनेको कुरा आफ्नो आत्मकथामा लेखेका छन्। उनकाअनुसार ‘बेबी किङ्ग’बारे ज्ञानेन्द्र आफू नजिकका मान्छेलाई भन्ने गर्थे- बेबी किङ भन्नु दाजु वीरेन्द्रको वंशज (स्व. अधिराजकुमारी श्रुतिका छोरीहरू)लाई गद्दी बुझाउनु हो वा नाति हृदयेन्द्रको शासन हो। हृदयेन्द्रलाई शासनमा ल्याउनु भनेको हिमानीमार्फत् भारतीयकरणको बाटोमा जानु हो।
यदाकता पारससँग देखिने गरेका ज्ञानेन्द्र शाह केही समययता भने आफ्ना नाती हृदयेन्द्रलाई नै लिएर हिँड्ने गरेका छन्।
तर, नाती देखाइ हिँड्नुकाे अन्तर्य भने उनले अझै खोलिसकेका छैनन्। उसै पनि ज्ञानेन्द्र धेरै बोल्दैनन्। यो राजाको संस्कार नै हो। रवीन्द्र मिश्रले भनेजस्तै ‘राजा सबै कुरा बोल्दैनन्। सबै कुरा भन्दैनन्। हो, राजाले सबै कुरा बोल्दैनन्।’
हल्लिएको गणतन्त्र
एउटा व्यवस्थाबारे दशकभित्रै फैलिसक्ने ‘नैराश्यता’ नेपाली सामाजिक चेतना र राजनीतिले दिक्दारिएको एउटा चित्र हो।
१०५ वर्ष राणा शासन सकिएर २००७ सालमा आएको प्रजातन्त्र होस् कि ३० वर्षे पञ्चायत सकिएर फिर्ता भएको प्रजातन्त्रमाथि माओवादीले थुपारेको ‘युद्ध’को बादल।
२०६३ सालको जनआन्दोलनले ढालिदिएको राजतन्त्रपछि उभिएको गणतन्त्रको जग। संघीयताका रेखाहरूले प्रदेशका सीमाना नकोर्दै त्यसको विरोधमा घन्किएको आवाजहरू।
अनि अहिले त व्यवस्थाविरुद्ध नै चियाचौतारीमा चर्किने गफ र बहसहरू।
यसैको जगमा जन्मिएका दुर्गा प्रसाईंहरूमात्रै होइन, आफूलाई ‘गणतन्त्रवादी’ ठान्ने दलहरूबाटै विद्रोह गरेका नेताहरूको ताँती अहिले ‘राजा बोलाउने’ आवाज बनिरहेका छन्।
बिहीबार भैरहवामा ज्ञानेन्द्रलाई गर्ने भनिएको ‘नागरिक अभिनन्दन’ समारोहको मूल व्यवस्थापक नै नेकपा (एमाले)का नेता रामप्रसाद बस्याल भए। अघिल्लो वर्ष भएको स्थानीय चुनावमा उनी एमालेका तर्फबाट सिद्धार्थ नगरपालिकाको मेयरका उम्मेदवार थिए।
ज्ञानेन्द्रलाई अभिनन्दन गर्ने कार्यक्रमको संयोजक भएपछि नेकपा (एमाले)ले उनलाई ‘कारबाही’ गरेको जनाएको छ। तर, उनले यसबाट आफू कत्ति पनि बिचलित नभएको र बरु थप उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
हुँदा-हुँदा जे गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त ‘व्यवस्थामाथिको प्रहार’ नै देख्न थालेका छन्। उनका छोरीहरूको चकचकी र जगजगीलाई खबरदारी गर्दा प्रचण्डका नजरमा ‘व्यवस्था’ नै आक्रमण हुन्छ।
अनि, कोरिया जान पाउँ भनेर आन्दोलनकारीमाथि गोली प्रहार हुँदा उनीहरूकै ज्यान जाँदा पनि त्यो उनका लागि गणतन्त्र ढाल्ने ‘डिजाइन’ बन्छ।
राजनीतिमा एउटा भनाइ छ- अत्तालिएको शासकले आफ्ना हरेक आलोचनाहरूलाई सिङ्गो व्यवस्थामाथिकै आक्रमण ठान्छ।
सरकार चलाएको वर्षदिन पुग्दा प्रचण्डले त्यसै भनेका होइनन्- ‘अहिले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएका छन्। अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने तिनको भाष्य बिलकुल गलत छ।’
त्यसलगत्तै सत्ता साझेदार नेपाली काँग्रेसको मेलमिलाप दिवसमा प्रमुख प्रतिपक्ष दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि भने- ‘यो निश्चित छ हामी राजतन्त्र फर्काउन दिदैनौं। राजतन्त्र अब इतिहास हो, बितिसकेको कुरा हो । यसबारे छलफल गर्नुको कुनै औचित्य छैन।’
चुनावी वर्ष सुरु हुनुभन्दा अघि पनि ज्ञानेन्द्रलाई ‘नागरिक अभिनन्नदन’को लहर देशव्यापी चलेको थियो। त्योभन्दा पनि व्यापक त तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका श्रृङ्खलाहरू चलाउँदा देशभरि उठेको अभियान थियो- राजा आऊ देश बचाऊ।
नागार्जुनबाट ‘देश दर्शन’का लागि ज्ञानेन्द्र बाहिर निस्किँदा होस् वा कुनै दिवस र ‘बडादसैँ’का शुभकामना सन्देशहरू दिँदा होस्, भारतका तीर्थस्थलमा ज्ञानेन्द्र पुगेका खबरहरूसँग देशको ‘गणतन्त्र’ उत्तिकै हल्लिन्छ, जति उनलाई स्वागत गर्न निस्किएको भीड देखेर ‘गणतन्त्रवादी’हरूको मुटु धड्किरहेको हुन्छ।
एउटा कुराकानीको सिलसिलामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले भनेका थिए, ‘त्यसले मलाई ढाल्नै सक्दैन, केही गर्नै सक्दैन किन डराउनु? भन्नुको मतलब ढालिहाल्छ वा केही गरिहाल्छ कि भन्ने डर हो।’
गर्भसिद्धान्तमै ‘राजसंस्था र हिन्दूधर्म’ लेखिआएको राप्रपाले आफ्नो ‘नवीन राप्रपा’ अभियानभित्रै अबका केही महिनामा देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ।
‘राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरेका छौं’ अघिल्लो महिना केही दिनसम्म बसेको केन्द्रीय समितिको बैठक सार्वजनिक गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘त्यसका लागि हामी प्रदेश र प्रतिनिधिसभा त्याग्न पनि तयार छौँ।’