एकै बगानमा दश लाखका सुन्तला

इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ। ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु,’ चापागाईँले भने।

सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताए। जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिदै गएकाले चापागाईँको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ। ‘गत वर्ष रु चार लाखमा बिकेको यस बगानमा यस वर्ष उत्पादन राम्रो छ,’ उनले भने, ‘धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन्।’

कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईँको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ। केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताए।  गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए। कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तलाखेती भएको छ। 

गत आव २०७९/८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो। इलाम नगरपालिका–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नं ६ लगायत क्षेत्रमा व्यावसायिकरुपमा सुन्तला उत्पादन भएको उनले बताए। ‘पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्,’ उनले भने, ‘अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन्। किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ।’

 

प्रकाशित मिति: : 2024-01-02 08:45:00

प्रतिकृया दिनुहोस्