सन् २०२३ले विश्वलाई छोडिगएका २३ डोब

सन् २०२३लाई स्वागत गरेको करिब दुई सातापछि नेपालमा हवाई दुर्घटना भयो। पोखरामा भर्खरै सञ्चालनमा आएको नयाँ ‘अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गर्नुभन्दा केही सेकेण्डअघिमात्रै सेती खोँचमा एउटा विमान खस्यो।

यती एयरलाइन्सको एटिआर– ७२ जहाज थियो। त्यसमा सवार ७२ जना सबै यात्रुको ज्यान गएको त्यो दुर्घटना छानबिन गर्न गठन भएको एउटा समितिले करिब ११ महिनापछिमात्रै प्रतिवेदन दिएको छ। र, त्यो प्रतिवेदनमा दुर्घटनाका कारण ‘मानवीय त्रुटि’ भएको भनेर औल्याइएको छ।

हवाई दुर्घटनाको यो भयानकतासँगै नेपाली आकाश सन् २०२३ भरि उतिसारो शान्त रहन सकेन। हुँदा हुँदा वर्षको अन्तिमतिर युरोपियन युनियनले आफ्नो एउटा प्रतिवेदनमा ‘असुरक्षित हवाई’ क्षेत्रको कालो सूचीमा नेपाललाई कायमै राख्नेगरी फेरि चेतावनी दिएको छ।

जाजरकोट भूकम्प

यसै वर्षको नोभेम्बर २३ को राति करिब ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले कम्तीमा १५३ जनाको ज्यान लियो। करिब ६.४ म्याग्निच्युडको यो भूकम्पले दशौँ हजार घरहरू भत्काएको थियो। कैयौँ गाउँ नै रित्याउनेगरी आएको यो विनाशकारी भूकम्पका कारण ध्वस्त भएका बस्तीहरू बनाउने क्रम अहिले पनि जारी छ।

२०७२ पछि नेपाली जमिन बेस्सरी हल्लाएको यो अर्को शक्तिशाली भूकम्प हो।

नेपालमा उच्चस्तरीय भ्रमण

सन् २०२३ मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस नेपाल भ्रमण आए। वर्षको अन्तिम महिनातिर हुने संयुक्त राष्ट्रसंघीय विश्व जलवायु सम्मेलनको पूर्वसन्ध्यामा नेपाल आएका गुटेरेसको भ्रमणले विश्वव्यापी चर्चा पाएको थियो।

त्यसमाथि हिमालका काखामुनि पुगेर नेपालले झेलिरहेको जलवायु परिवर्तनका घाउहरूलाई उनले विश्वभरि फैलाइदिए।

नेपालका हिमालका काखमुन्तिर पुगेका गुटेरेसले विश्वलाई नै चेतावनी दिँदै भनेका थिए, ‘अब यो पागलपन बन्द गर।’ जहाँबाट उनले हिउँ निख्रिएका हिमालका कथाहरू विश्वका ती नेताहरूलाई चेतावनी दिँदै पठाए जसले बायुमण्डलमा कार्बन उत्सर्जन गर्न ‘पागलपन’ देखाइरहेका छन्।

यसै वर्ष दुबईमा भएको विश्व जलवायु सम्मेलनमा नेपालको उपस्थिति गुटेरेसको यही भ्रमणका कारण पनि विश्व आँखामा पर्‍यो। जहाँ नेपालका प्रधानमन्त्री प्रचण्डले जलवायु वित्तमा ‘नेपालको बिन्ती होइन, अधिकार’को भाष्य प्रयोग गर्ने सामर्थ्य पनि देखाए।

७० हजार मान्छेको ज्यान लिने टर्की-सिरया सीमानाको भूकम्प

यो एउटा निकै भयानक र बिनासकारी भूकम्प थियो। टर्की-सिरयाको छेउछाउँको जमिन निकै थर्काएको यो भूकम्पले करिब ७० हजार बढी मान्छेको ज्यान लियो र लाखौँ मान्छे घरबारविहीन बनायो।

यो भूकम्प करिब ७.८ म्याग्निच्युडको थियो। त्यसपछि पनि लगातार हजारौँ पराक्मपनहरूले जमिन हल्लाएको थियो।

रुस-युक्रेन युद्ध जारी

पूरै विश्वलाई नै ध्रुवीकृत गर्नेगरी २०२२को फेब्रुअरीमा सुरु भएको रुस र युक्रेनको युद्ध अझै रोकिएको छैन। शक्ति राष्ट्रहरूलाई आपसमा विभाजित गर्नेगरी चर्किरहेको यो युद्धमा हजारौँ मान्छेको ज्यान लिएको र लाखौँ विस्थापितमात्रै गरेको छैन बरु यसले सारा विश्वलाई प्रभावित पारिरहेको छ।

पूरै विश्वलाई प्रभावित गर्नेगरी ‘आपूर्ति चक्र’ अवरुद्ध पार्नेगरी चर्किरहेको यो युद्धका कारण अहिले पनि शक्ति राष्ट्रहरूबीच ‘वाकयुद्ध’ जारी छ।

यो युद्धले नेपालीको ज्यान पनि लिएको छ। रुसको सेनामा भर्ती भएका सयौँ नेपाली अहिले पनि त्यो युद्धमा फसिरहेका छन्। करिब आधादर्जन नेपाली मारिइसकेका छन्। दर्जनौं नेपाली घाइते भएका छन् र केही युक्रेनको नियन्त्रणमा छन्।

हमास-इजरेल युद्ध

वर्ष २०२३ को अगस्टमा सुरु भएको प्यालेस्टाइन र इजरेलबीचको अर्को चरणको युद्धले फेरि पनि विश्वलाई थप प्रभावित गरिरहेको छ। अगस्टको दोस्रो साता गाजा क्षेत्रबाट प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरेलतिर हजारौँ क्षेप्यास्त्र प्रहार गरेपछि सुरु भएको युद्धमा नेपाली पनि परे।

गाजामा मारिएका दश जना नेपाली विद्यार्थीको शव त्योबेलै नेपाल सरकारले आफन्तलाई बुझाएको थियो। अहिलेसम्म पनि हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीलाई रिहाइ गर्न सरकारले पहल गरिरहेको छ।

भारतको चन्द्रयान

२०२३को जुलाई १४मा भारतले एउटा महत्वकांक्षी अन्तरिक्ष सपनाको प्रक्षेपण गर्‍यो। अँध्यारा निकै बिकट चन्द्रमाको दक्षणी ध्रुवीय क्षेत्रमा पानी र अरू खनिज पदार्थहरू खोज्नका लागि भारतले महत्वाकांक्षी रकेट पठाएको हो। त्यसलाई भारतले चन्द्रयान-३ नाम दिएको थियो।

भारतले करिब ८ करोड डलर खर्चेर तयार गरेको यो चन्द्रयान त्यसको करिब महिना दिनपछि अगस्ट २३मा निर्देशित चन्द्रमाको सतहमा अवतरण गरेको थियो।

अन्तरिक्ष यात्रामा प्रतिष्पर्धा गरिरहेको भारतले त्यसलाई एउटा उत्सवका रुपमा मनाएको थियो र संसारभरिबाट बधाई पाएको थियो।

चीनलाई उछिन्दै भारत धेरै जनसंख्या भएको देश बन्यो

यही वर्ष चीनलाई उछिन्दै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशको सूचीमा भारतले आफ्नो नाम दर्ज गर्‍यो।

सन् २०२३ मा चीनलाई उछिनेर भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको रूपमा स्थापित भएको हो। पछिल्लो शताब्दीमा चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश रहेको थियो।

चीनसँग हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्दै आएको भारतले यसलाई आफ्नो उपलब्धीका रुपमा पनि सूचिकृत गर्‍यो। तर, भारतीयले भने त्यसको आलोचना पनि गरेका छन्।

डोनाल्ड ट्रम्पको चर्चा

सन् २०२०को राष्ट्रपतीय निर्वाचनबाट बाहिरिँदै गर्दा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प जति चर्चामा रहेका त्यसका दिनमा पनि उनको चर्चा, आलोचना र टिप्पणीहरू सेलाउन पाएनन्।

आलोचनाको भारी बोकेर बाहिरिएका ट्रम्पमाथि राष्ट्रपतीय कार्यकालको अन्त्यतिरै कैयौँ आरोपहरू लागेका थिए। ट्रम्पलाई हराएका जो बाइडेन राष्ट्रपति निवास प्रवेश गर्दै गर्दा ट्रम्पका समर्थकहरूले देखाएको ‘हर्कत’माथि सारा विश्वले नजर लगाइरहेको थियो।

अहिले पनि ट्रम्प अदालतहरूमा उपस्थित भएर आफूमाथिका आरोपहरूबारे सफाइ दिइरहेका छन्। यस्तै आरोपहरूमा अमेरिका दुई राज्यका अदालतले आगामी निर्वाचनका लागि ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवारका लागि ‘अयोग्य’ ठहर गरिसकेका छन्।

बेलायतमा नयाँ राजा

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनपछि राजकाजको जिम्मेवारी सम्हालेका चार्ल्स तृतीयले २०२३ को मे महिनाको पहिलो साता ‘राजमुकुट’ पहिरिए।

वर्ष २०२२को सेप्टेम्बर ८ मा महारानी एलिजाबेथ द्वितीयाको निधन भएपछि चार्ल्स राजा घोषित भएका थिए।

बेलायती इतिहासमा संसारलाई नै चकित पार्ने उनको राज्याभिषेक राजा चार्ल्स तृतीय र रानी कमिला बकिङ्गम प्यालेसमा प्रवेश गर्दा बेलायतीहरूले ठूलै उत्सव मनाएका थिए।

ब्लुमून

करिब १४ वर्षपछि एउटा अनौंठो खगोलीय घटना भयो, २०२३ अगस्टको अन्तिम दिन। आकाशमा देखिएको ‘पूर्णचन्द्र’ अर्थात् ‘ब्लू सुपरमून’लाई संसारभरिका मान्छेले निकै रोमाञ्चित भएर हेरे।

वर्षभरि लगभग १२ वटा पूर्ण चन्द्रमा देखिन्छन्। तर, यो प्रक्रियामा १३ वटा पूर्णचन्द्र देखिएको यो रुपलाई ‘ब्लू मून’ भनिन्छ। संसारभरका करोडौँ मान्छेले यो ब्लू मून हेरेका थिए।

अमेरिका छिर्ने लहर

चोरबाटोबाट अमेरिका छिर्ने क्रम वर्ष २०२३मा पनि रोकिएन। भलै तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्मले मेक्सिको सीमानामा काँडेतार लगाउने प्रयास भने नगरेका होइनन्।

तर, विश्वमा चलिरहेका युद्ध, द्वन्द्व र अभावमा पिल्सिरहेका मान्छेहरू अमेरिका छिर्ने सपना बोकेर आफ्नै ज्यान फाल्ने क्रम यो वर्ष पनि रोकिएन।

अभेरिका छिर्नका लागि पार गर्नैपर्ने भयानक र भयंकर ‘ड्यारियन ग्याप’ जंगल पार गर्दागर्दैका तस्बीर र भिडियो दृश्यहरू संसारभरि छाए।

यही जंगल काटेर मेक्सिकोको बाटो हुँदै हरेक वर्ष विश्वभरिका लाखौँ आप्रवासी अमेरिका छिर्ने प्रयासमा हुन्छन्। अमेरिका छिर्न खोज्ने र छिरेका नेपालीबारेका सामाचारहरू वर्ष २०२३भरि नेपालमा पनि ‘ट्रेन्डिङ’ भए।

इमरान खानले गुमाएको इमान

सन् २०२२मा सत्ताच्यूत भएका पाकिस्तानका प्रधानमन्त्री इमरान खान २०२३मा पटक-पटक गिरफ्तार भए। पदच्यूत भएसँगै दर्जनौँ अभियोग बोकेर बाहिरिएका खान अहिले पनि जेलमै छन्। उनको पदच्यूतपछि पाकिस्तानको राजनीति नै अस्थिर भइरहेको छ। कुनै बेलाका चर्चित क्रिकेट खेलाडी खानलाई त्यहाँको सेना र सरकारले दर्जनौँ मुद्दाहरू लगाएका छन्।

भारतमा राम मन्दिरको कथा

सयौँ वर्ष पुरानो एउटा धार्मिक मुद्दा भारतको सर्वोच्च अदालतले सुल्झाइदिएपछि यो वर्ष अयोध्या र त्यहाँ बनिरहेको राम मन्दिर पनि चर्चामै रहे।

१९९२मा त्यहाँको बाबरी मस्जिद भत्काइपछि भएका भीषण द्वन्द्व र विवादपछि १०१९को नोभेम्बरमा सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला सुनाउँदै त्यही विवादित भूमिमा राम मन्दिर बनाउन आदेश दिएको थियो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्ट २०२० मा अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका थिए।

२०२४को जनवरी २२मा प्रधानमन्त्री नरेन्द्र मोदीले नै राम मन्दिरमा ‘प्राण प्रतिष्ठा’ गर्नेगरी तयारी थालिएको छ।

यहाँको सांस्कृतिक पक्ष पनि गाँसिएको अयोध्याको यो राम मन्दिरसँगको यो साइनो अझ बलियो बनाउन नेपालले पनि प्रयास गरिरहेको छ। केही समयअघि नेपालले कालीगण्डकी ‘शालिग्राम’ त्यहाँ पठाएको थियो। यो प्राणप्रतिष्ठामा पनि जनकपुरले ‘कोसेली’ पठाउने तयारी भइरहेको छ।

‘राम-सीता’को जीवनसँग जनकपुरको कथा पनि गाँसिएको छ।

दाउद इब्राहिमलाई विष खुवाइएको हल्ला

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई विष खुवाइएको एउटा हल्लाले वर्षको अन्तिमतिर निकै चर्चा पायो। उनलाई डिसेम्बरको दोस्रो सातातिर पाकिस्तानको कराँचीस्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

कतिपय सञ्चार माध्यमहरूले उनलाई विष खुवाइएको भनेर समाचारहरूमा उल्लेख गरेका थिए।

भारतले उनलाई ‘मोस्ट वान्टेड आतंकवादी’ सूचीमा राखेको छ। उनलाई संयुक्त राष्ट्रसंघले पनि यही आतंकवादी घोषणा गरिसकेको छ।

उनीमाथि कैयौँ आपराधिक मुद्दाहरू छन्। सन् १९९३मा भारतको मुम्बईमा भएको एउटा आक्रमणमा उनलाई नै मुख्य योजनाकार मानिएको छ। त्यो आक्रमणमा कम्तीमा २५७ जना मानिस मारिएका थिए भने ७०० भन्दा धेरैजना घाइते भएका थिए।

भारतको महाराष्ट्रस्थित रत्नागिरीमा उनको जन्म सन् १९५५मा भएको थियो। दाउदले आफ्नो बालापन पनि मुम्बईमै बिताएका थिए।

२०२३ यो शताब्दीकै सबैभन्दा तातो वर्ष रह्यो

जलवायु परिवर्तनको प्रभावले तातिँदै गएको पृथ्वीबारे यो वर्ष धेरै अनुसन्धान र चर्चाहरू आए। कतिपय अनुसन्धान र विश्वतापमानको ‘रेकर्ड’हरूले सन् २०२३लाई यो शताब्दीकै सबैभन्दा तातो वर्ष भनेर घोषणा गरिसकेका छन्।

वैज्ञानिकहरूले आगामी वर्ष २०२४लाई पृथ्वीको तापमानको हिसाबले अझै खराब हुनसक्ने चेतावनी दिएका छन्। पृथ्वीमा औद्योगिक युगभन्दा अघिको उक्त महिनाको औसतभन्दा अक्टोबर १.७ डिग्री सेल्सियस बढी तातो महसुस गरिएको थियो।

भारतमा ‘शक्ति राष्ट्र’हरूको जमघट

सन् २०२३को सेप्टेम्बर पहिलो साता भारतले पहिलोपटक विश्वका धनी देशहरूलाई जुटाएर ‘जी-२०’ बैठक सम्पन्न गर्‍यो। विश्वका २० वटा धनी राष्ट्रहरू यसपालि भारतमा जुटेका थिए।

‘एउटै विश्व’ (वन वर्ल्ड) परिकल्पना गरेको विश्व शक्ति राष्ट्रहरूको यो सम्मेलन बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने, दीर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता, एक्काइसौँ शताब्दीका लागि बहुपक्षीय संगठनहरू, बहुपक्षवादलाई पुनर्जीवित गर्ने सवालमा केन्द्रित भएको थियो।

मोदी सरकारले यसलाई आफ्नो ‘ऐतिहासिक’ उपलब्धिका रुपमा लिएको छ।

मोदीको ‘नजर अन्दाज’मा मणिपुर

सन् २०२३मा पनि भारतको ‘मणिपुर’ जलिरह्यो। मोदी शासनमाथि लागेको एउटा अमिट ‘धब्बा’का रुपमा चिनिएको मणिपुर काण्डले भारतमात्रै होइन विश्वभरि नै चर्चित रह्यो। जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विपक्षीहरूले ‘मसला’ बनाइरहे।

हिन्दू बाहुल्य (मैतेई) र अल्पसंख्यक मानिने (कुकी) समुदायबीच चलिरहेको यो आन्तरिक साम्प्रदायिक द्वन्द्वलाई मोदीले अहिलेसम्म पनि नजरअन्दाज गरिरहेका छन्। यो द्वन्द्वमा अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिसले घरबार छोडिसकेका छन्।

एआईको (कृत्रिम बौद्धिकता) आतंक

मानवजातिलाई नै चुनौती दिनेगरी प्रविधिमा आएको एउटा क्रान्तिकारी छलाङ हो- एआई (कृत्रिम बौद्धिकता)।

२०२३भरि निकै प्रयोग र चर्चामा आएको यो प्रविधिले मानवीय क्रियाकलापलाई सजिलो त बनाइरहेका छन् तर मानव अस्तित्व नै संकटमा पर्ने चिन्ता र चासो भने विश्वब्यापीरुपमै बहसको विषय बनेको छ।

सबैभन्दा धेरै यसको प्रयोग २०२३ भरि सञ्चार माध्यमहरूले गरे। सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनेका एआईका उत्पादनहरूले मानवीय सिर्जनालाई नै दुरुपयोग र चुनौती दिइरहेका छन्। एआईका धेरै नयाँ प्रणालीहरू पनि सन् २०२३ मै जन्मिएका छन्।

नक्कली भुटानी शरणार्थीदेखि क्वीन्टल सुनसम्म

सन् २०२३को तेस्रो महिना बित्दै गर्दा कैयौँ नेपाली ‘नक्कली शरणार्थी’ बनेर अमेरिका गइरहेको र जान खोजिरहेका समाचारहरू बाहिरिन थालिसकेका थिए।

त्यही लोभमा लोभ्याइएका कतिपय नेपाली नागरिकले प्रहरीमा उजुरी दिएपछि त्यसको छानबिन त केही वर्षअघि नै सुरु भइसकेको थियो। तर, यसपालि भने प्रतिष्ठित व्यक्तिहरू नै मुछिएपछि यो मुद्दाले धेरै चर्चा पायो।

यसमा विभिन्न राजनीतिक दलका नेता, सांसद र कतिपय पूर्वमन्त्रीहरू पनि सामेल भएका तथ्यहरू सार्वजनिक भएका थिए। तीमध्ये नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण(हाल धरौटीमा रिहा भएका), नेकपा माओवादीका नेता टोपबहादुर रायमाझी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल (रिहा भएका) लगायतका व्यक्ति मुछिएका थिए।

त्यही बिचमा चर्चामा आएको ‘क्वीन्टल सुन’ प्रकरणले नेपाल विश्वभरि छायो। तर, त्यो सुन पगालेर जोख्दासम्म ६० किलोमा झरेको थियो। सुनका यस्ता काण्ड यो वर्ष धेरै नै सार्वजनिक भए। जसमा नेपालका कतिपय नेता र ब्यापारीदेखि चिनियाँ र अन्य विदेशी नागरिक पनि गाँसिएका छन्।

कोरिया जान्छौँ भन्दा मारिएका युवा

वर्ष २०२३ को अन्तिम बेला दुई नेपाली युवाले सडकमै ज्यान फाल्नुपर्‍यो।

कोरियाको पानी जहाज निर्माणको क्षेत्रमा जान भन्दै क्षेत्र परिवर्तनसमेत गरेका थिए।

केही महिनाअघि पानी जहाज निर्माण कम्पनीहरूमा काम गर्न जानका लागि आवेदन दिएका ३५ हजारमध्ये कम्तीमा ३२ जतिले इपिएस परीक्षा दिएका थिए। तर, त्यसमा जम्मा ४ हजार ९८ जनामात्रै उत्तीर्ण भए। परीक्षामा अनुत्तीर्ण भएका करिब २८ हजार परीक्षार्थीले यो वर्षभित्र अरु कुनै पनि परीक्षामा भाग लिन नपाउने नियम तेर्साइदिएपछि उनीहरूले आन्दोलन गरेका थिए।

शनिबार बालकुमारी-ग्वार्को सडकमा भएको त्यही आन्दोलन भड्किँदा अछामका २२ वर्षे वीरेन्द्र शाह र दैलेखका २३ वर्षे सुजन रावतको ज्यान गयो।

बेलुनको बैमश्यनता

सन् २०२३को फेब्रुअरी पहिलो साता खगोलमा एउटा बेलुन देखियो। खासमा चीनले उडाएको एउटा बेलुनलाई ‘जासुस’ भन्दै अमेरिकी युद्ध विमानले त्यसलाई समुद्रमाथिको आकाशमा ध्वस्त पारेको थियो।

राष्ट्रपति बाइडनले साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाइदिने अमेरिकी पाइलटहरूलाई बधाई पनि दिएका थिए। चीनले भने मौसम अवलोकनका लागि छाडिएको र बाटो ‘बिराएको’ त्यो बेलुनमाथि गरिएको अमेरीकी ‘हर्कत’माथि आपत्ति जनाएको थियो। त्यो बिमान चिनियाँ सामुद्रिक आकाशबाट उडाइएको थियो।

भारतमा रन्थनिएका राहुल

सन् २०२२ को सेप्टेबर ७ मा भारतीय कंग्रेसका नेता राहुल गान्धीले एउटा यात्रा सुरु गरे- ‘भारत जोडो।’

दक्षिण भारतको कन्याकुमारीबाट सुरु भएको उनको पैदल यात्रा करिब १५० दिनमा कश्मीरमा पुगेर अन्त्य भयो। यो बीचमा राहुलले कम्तीमा १२ राज्यमा आफ्ना पाइला राखे अनि लगभग ३ हजार ५७० किलोमिटर पैदल दूरी नापे। यी १२ राज्यमा पर्ने ७५ जिल्लामा पुगेका राहुलले त्यहाँका आम नागरिकसँगै जीवन बिताए। उनीहरूका कुरा सुने, आफ्ना कुरा सुनाए।

यो यात्रा उनले २०२२को अन्तिम दिन सकेका थिए। तर, यो वर्षभरि राहुलको यात्रा र पूरै भारतको राजनीतिको चर्चा चलिरह्यो।


जेलभित्रकी नारीलाई नोबेल शान्ति पुरस्कार

२०२३को नोबेल शान्ति पुरस्कारले वर्षभरि चर्चा बटुल्यो। यो पुरस्कार यसपालि इरानकी अधिकारकर्मी नर्गिस मोहम्मदीले पाइन्।

एउटा सम्प्रदायको ‘कथित’ संस्कार र परम्पराविरुद्ध भिडेकी उनलाई मानवाधिकार र स्वतन्त्रताका लागि गरेको संघर्षका लागि नोबेल शान्ति पुरस्कार समितिले उनलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

तर, मोहम्मदी अहिले तेहरानस्थित एउटा जेलमा छिन्।

प्रकाशित मिति: : 2023-12-31 23:26:00

प्रतिकृया दिनुहोस्