सपना थियो कि बाध्यता त्यो जसले सुजन र वीरेन्द्रहरूको जिन्दगी निल्यो

बिहानका चिसा सिरेटाहरूलाई घामले लखेट्दै गर्दा बालकुमारी सडकमा बलेका टायर र हजारौँ मान्छेको कोलाहलले तात्तिइसकेको थियो। कार्यालयबाट हतारहतार क्यामेरा तयार गरेर पुग्दा बालकुमारी-ग्वार्को सडक जलिरहेको थियो। हजारौँ युवाहरू चर्का नारा लगाउँदै प्रहरीसँग भीडिरहेका थिए। सडकमा पुत्ताइरहेका टायरका धुँवाले आकाश रंगमगिएको थियो।

त्यो भीड खासमा पैसा कमाउन कोरिया जान खोज्नेहरूको थियो। जो यसअघि कोरियाले मागेको ‘सिप बिल्डिङ’ क्षेत्रका लागि ‘अयोग्य’ भएका थिए। ग्वार्को चोक नजिकै रहेको इपिएस शाखा कार्यालय घेरेका उनीहरूले शुक्रबार बिहानभरि त्यो वरिपरिको सडकलाई ‘रणभूमि’ बनाइसकेका थिए।

इपिएसको त्यो परीक्षामा सामेल भएर ‘अनुत्तीर्ण’ भएका करिब २८ हजार विद्यार्थीले कोरियाकै लागि फेरि अर्को क्षेत्रमा काम गर्नेगरी परीक्षा दिन माग गरिरहेका थिए। तर त्यही विषयलाई लिएर अदालतमा मुद्दा हालेका १८ जनालाई मात्रै इपिएस कार्यालयले परीक्षा दिन पाउने भनेर सूचना निकालेपछि बाँकी बचेका २८ हजार विद्यार्थी सडकमा आए।

आफू बच्दै सडकमा भीडिरहेका प्रहरी र आन्दोलनकारीको त्यो दृश्य हामीले जसोतसो कैद गरिरहेका थियौँ। ‘ओई त्यहाँ मान्छे ढल्यो, पुलिसले बन्दुकले हान्यो’, भीडकै बीचमा अर्को कोलाहल थपियो।

हामी पनि त्यतै दौडियौँ। त्यहाँ सडकमा ढलिरहेका एक युवकलाई भीडले घेरेको थियो। कोही उनको छातीमा थिचिरहेका थिए।

जलिरहेको सडकको धुँवामा प्रहरीले हानेको अश्रुग्यासका गोला बाक्लो गरी छरिइसकेको थियो। सडकमा मान्छे ढलिरहेका थिए। कसैले उनलाई अस्पताल लैजाऔँ भन्दै थिए तर उनलाई निकाल्ने गरी त्यहाँ बाटै थिएन। प्रहरी र प्रदर्शनकारीको बाल्लो भीडले पूरै सडक ढाकिएको थियो।

०००

‘प्लिज मलाई अस्पताल लगिदिनुस्…!’ चोटले फुटेको टाउको समाएर बगिरहेको रगत रोक्ने प्रयास गरिरहेका अर्का युवकको विलाप सुन्दा बिरक्तिएको मन थामेर मैले त्यहाँको दृश्य नियालिरहेको थिएँ।

उनको खुट्टामा जुत्ता थिएन। खाली खुट्टा कराउँदै हिँडिरहेका उनलाई प्रहरीले फेरि लाठी तेर्स्यायो। ‘म जुत्ता लगाएर अस्पताल जाँदैछु’ भनेर प्रहरीलाई बिन्ती गरेपछि उनलाई प्रहरी छोड्यो।

आफ्ना साथीहरू घाइते भएपछि झनै उग्र भएका प्रदर्शनकारीको त्यही भीडले भरिएको सडकमा केहीबेरपछि एउटा सरकारी गाडी देखियो। त्यसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला थिए। भीडले छेकेपछि मन्त्री आफैँ गाडीबाट ओर्लिएर अघि बढ्न खोजे।

उनका निजी सुरक्षाकर्मीले छेक्दाछेक्दै आक्रशित भीडका केही युवाले मन्त्रीलाई धकेलिदिए। त्यहाँ प्रहरी र उनीहरूबीच फेरि धकेलाधकेल भयो।

मन्त्री हिँड्न थालेपछि सडकमा बलिरहेको टायर प्रदर्शनकारीले मन्त्रीको त्यही गाडीमा झोसिदिए। क्षणभरमा उनको त्यो गाडी दनदनी बल्न थाल्यो।

फेरि सडक उसैगरी तात्न थालिसकेको थियो। प्रहरी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान हुन थाल्यो। प्रहरीले अश्रुग्यासका गोला हानिरहेको थियो। अश्रुग्यासले पिराएका आँखामुख पुछ्दै प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा बर्साइरहेको थियो।

भीड छेल्दै भीडियो खिचरहेको मेरो गर्दनमा पनि ती ढुङ्गा उछिट्टिएर लाग्यो। तर त्योबेला खासै दर्द महसुस भएन। अर्को दिन पो नराम्रोसँग दुख्न थाल्यो। धन्न केही भएको रहेनछ।

शुक्रबार बिहानैदेखि इपिएस कार्यालय घेरिबसेका युवाहरूले नाराबाजी गरिरहेका थिए। त्यहाँ पुगेर एकछिन सबैतिर नियालेँ। युवाहरु नारा लगाउँदै थिए। प्रहरी भीडलाई शान्तसँग प्रदर्शन गर्न अनुरोध गरिरहेको थियो।

अवस्था सामान्य नै लाग्यो। त्यसपछि म पनि फोटो-भीडियो लिन अन्य मिडियाका साथीहरु भए ठाउँतिर गएँ। एउटा फोटो मात्र लिन भ्याएको थिएँ, प्रदर्शनरत युवाहरुको भीडले प्रहरीलाई धकेल्न थाल्यो। प्रहरी विद्यार्थीहरुलाई संयमित हुन माइकिङ गरिरहेको थियो।

तर त्यहाँ कसले कसको कुरा सुन्नू!

प्रहरीले विद्यार्थीमाथि लाठ्ठी बर्साउन थाल्यो। अश्रुग्यास छोड्यो। सबैजना आ–आफ्ना ज्यान बचाउन सङ्घर्ष गरिरहेका थिए। एकमाथि अर्को अनि अर्कोमाथि अर्को लड्दै, कुल्चँदै अनि धकेल्दै सबैजना आफ्नो ज्यान बचाउन भागिरहेका थिए। कसैका जुत्ता थिएनन्, कसैका घडी अनि मोबाइल सबै भुइँमा छरपस्ट थिए। एकैछिन अघिसम्म हजारौँको मात्रा जम्मा भएको भीड एकैछिनमा तितरबितर भयो। निमेषभरमै त्यो सडक रणभूमि बनिरहेको थियो।

प्रहरी अझै रोकिएको थिएन। अश्रुग्यास हानिरहेको थियो। विद्यार्थीहरु ज्यान जोगाउँदै आधा विद्यार्थी बालकुमारीतिर र आधा विद्यार्थी ग्वार्कोतिर कुदे।

०००

आधा दिन बितिसक्दा माहोल केही शान्त जस्तो भएको थियो। दिनभरि क्यामेरामा कैद भएका सामग्रीहरू खन्याउन म पनि अफिसतिर कुदेँ।

कार्यालय आइपुग्दा बालकुमारी सडकका समाचारहरू थरिथरिका हेडलाइन बनेर अनलाइन र सामाजिक सञ्जालमा छरिइसकेका थिए। त्योभन्दा धेरै एकजना परीक्षार्थीको मृत्युको खबर भाइरल भइसकेको थियो।

समाचारहरू नियाल्दै गर्दा थाहा भो दैलेखका सुजन रावत सदाका लागि अस्ताइसकेका थिए। यी उनै सुजन हुन्- जो प्रहरीको बन्दुककाे कुन्ना लागेर सडकमा ढलेका थिए र मैले त्यही भिडियो खिचेको थिएँ।

दिनभरिको त्यो दृश्यले खिन्न भएको मन झन् उदासिन थाल्यो। तर एउटा पत्रकार भएकाे नाताले मैले उनका समाचारहरू पनि लेख्नै थियो, आफ्नै मन थामेर।

सडकमा ढलेका सुजन जो बाबुको मृत्युपछि ऋणले भताभुङ्ग भएको परिवार जोगाउन कोरिया जान खोजिरहेका थिए। क्षणमै उनको मृत्युको खबर दैलेख पुगिसकेको थियो- परिवारको रोदनका समाचारहरू दैलेखबाटै आइसकेका थिए।

केहीबेरमा त्यही सडकमा ढलेका अर्का युवा वीरेन्द्र शाह पनि सदाका लागि अस्ताएको समाचारहरू आए। उनी अछामका थिए। अस्ताएका वीरेन्द्र र सुजनसँगै धेरै युवाहरू त्यो सडकमा ढलेका थिए। कतिलाई प्रहरीले भ्यानमा कोचेर लगिरहेको थियो।

केहीबेरमा फेरि ‘बालकुमारीमा अस्ताएका कोरिया सपना…’ जस्ता समाचारका हेडलाइनहरूले दिमाग हल्लाउन थाल्यो।

कोरिया जान खोज्दा ज्यानै गुमाएका सुजन अनि वीरेन्द्रहरूको त्यो सपना थियो कि बाध्यता? उनीहरू आफ्नै बाध्यताले मरेका थिए कि, राज्यले मारेको? अहिलेसम्म पनि बहस उस्तै छ।

सरकारले केही सुरक्षा अधिकारी र कर्मचारीहरूलाई निलम्बन गरेको छ। एउटा छानबिन समिति बनाएर औपचारिकता पूरा गरेको छ। अनि मारिएका सुजन र वीरेन्द्रको परिवारलाई दश लाख रुपैयाँ दिने भनेर ‘ज्यानको मूल्य’ पनि तोकिदिएको छ। 

प्रकाशित मिति: : 2023-12-31 19:40:00

प्रतिकृया दिनुहोस्