जसले अप्ठ्यारोमा पार्टी जोगाए, उनैलाई चिन्दैन काँग्रेस 

जनप्रतिनिधि बनेर राजनीतिक जीवनबाट ‘सन्यास’ लिने पुरानो सपना साकार पार्ने अनेकन प्रयास। पटक–पटकका प्रयास फेल भए। सिंगो काँग्रेसमा पलाएको ‘प्रतिशोध’ रुपी ‘विष’ को शिकार बनिरहे दाङका पुराना काँग्रेसी नेता वीरकेसरी गौतम।

तथापि द्वन्द्वकालमा दाङमा काँग्रेस र काँग्रेसीलाई ‘जोगाएको’ आफ्नो योगदानको कदर हुने ‘भ्रम’ मा परिरहे उनी। फलतः २०७४ को निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बन्ने ‘अन्तिम’ जस्तै प्रयास थालेका गौतमले १० दिनसम्म काठमाडौँका गल्ली नापे, नेताहरूको दैलोमा ‘टिकट’को ‘भिख’ मागे।

१० दिनसम्म काठमाडौँको गल्ली नापेका गौतमको पार्टीप्रतिको ‘योगदान’लाई भने केन्द्रीय नेताहरूले योबेला पनि नाप्न भ्याएनन्। फेरि उम्मेदवारका लागि ‘अयोग्य’ करार गरिए, अनि आफूमाथि पुनः गरिएको प्रतिशोध रुपी ‘बन्देज’ले फेरि ‘गले’ गौतम। नेताहरूको दैलोमा टिकटको भिख मागेका पुराना नेता गौतम रित्तो हात घर फर्किए।

समानुपातिक उम्मेदवारका लागि सिफारिसमा परेका गौतम बन्द सूचीमा अटाएनन्। ‘सिफारिस कागज’ को ‘चिर्कटो’ बाटै फ्याँकिएका गौतमले आफ्नो ‘गलहत्याइ’लाई बुझेका छन्, ‘मलाई फेरि प्रतिशोधको शिकार बनाइयो, मेरो मूल्याङ्कन कुनै न कुनैबेला होला भन्ने थियो, तर म गलत रहेछु।’

बुढौली शरीर। राजनीतिक दौडधुपबाट ‘थकित’ महसुस गरेका गौतमलाई वर्तमान काँग्रेस नेतृत्वले झनै पिरोलिरहेको छ। काँग्रेस जोगाउनका लागि आफूले गरेका ‘त्याग’ रुपी पानाहरू पल्टाएर इतिहास पढिरहेका छन्। भन्छन्, ‘मलाई ती दिनहरूले झस्काइरहन्छन्, ती दिनमा गरिएको कर्मको मूल्याङ्कन हुनुपर्ने थियो।’

हुन पनि काँग्रेसी भएकै कारण विवाहकै दिन गिरफ्तारीमा परेको तितो ‘यथार्थ’ गौतमको मानसपटलबाट अहिले पनि छिप्न सकेको छैन। उनी भन्छन्, ‘विवाहको दिन सुहागरात पनि मनाउन पाइनँ, विवाहकै दिन गिरफ्तारीमा परेँ।’

२०३६ को पञ्चायत विरोधी आन्दोलनमा सडकमा खरो बनेर उत्रिएका गौतम त्योबेला तत्कालीन शासकहरूको ‘वान्टेड’ सूचीमा थिए। उनले पञ्चायत विरोधी युवा विद्यार्थी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेका थिए। त्योबेला आफुलाई शासकहरूबाट लुकाएका गौतमको परिवारमा त्यहीबेला उनको विवाहको निर्णय भयो। उनको विवाहमा घरबाट जन्ती निस्कन पाएन।

गौतमको विवाहको खबर प्रहरीले पाइसकेको थियो। गौतमलाई त्यहीबेलै नियन्त्रणमा लिने तयारीमा रहेको प्रहरीले गौतमको घर घेरा हालिसकेको थियो। ‘म घरमा हुने कुरै भएन, म फरार थिएँ, घरबाट जन्ती निस्कने तयारी भैरहेको थियो,’ गौतमले भने ‘तर प्रहरीले घर घेरा हाल्यो, जन्तीसमेत निस्कन पाएन।’

लुकीछिपी घर परिवारका केही सदस्यसहित बेहुला बनेर दुलही लिन पुगे गौतम। तर प्रहरीले यो पनि थाहा पाइसकेको थियो। दुलही लिएर घर फर्कँदै गर्दा गौतमलाई प्रहरीले फेला पार्‍याे। अनि त्यहीँबाटै उनलाई नियन्त्रणमा लियो। ‘म दुलही लिएर घर फर्कनेबेलामा बाटोबाटै गिरफ्तारीमा परेँ,’ उनी भन्छन्, ‘म थुनातिर लागेँ, दुलही एक्लै घर गइन्।’  गौतम झण्डै दुई महिनापछि मात्रै रिहा भए।

दाङलाई काँग्रेसको ‘गढ’ बनाउने मिसनमा अनवरत खटिएका गौतमका लागि तत्कालीन माओवादी सशस्त्र युद्ध एकल चुनौतीका रुपमा उब्जियो। त्योबेला काँग्रेसीहरूमाथि भएको दमन रोक्ने शाहस उनी एक्लैले गर्नुपर्‍याे। उनी त्योबेला दाङ काँग्रेसका सभापति थिए। खरो स्वभावका गौतम माओवादीसँग वार्ताका लागि अनेकन स्थानमा एक्लै पुग्थे। एकोहोरो माओवादीको निशानामा परिरहेका दाङका काँग्रेसीहरूलाई जोगाउन जंगल–गोप्य स्थानमा माओवादीको घेराभित्र आफूलाई एक्लै उभ्याए गौतमले।

माओवादी लडाकुहरूको घेराभित्र एक्लै बसेर काँग्रेसीहरूमाथि भएको अत्याचारको विरोध गर्थे। अत्याचार रोक्न सुझाउँथे। गलत नगर्न चुनौतीसमेत दिन्थे। ‘अरु साथीहरू मसँग वार्ताका लागि माओवादी नेताहरूसम्म जान डराउँथे,’ गौतम भन्छन्, ‘धेरै ठाउँहरूमा माओवादीसँग वार्ता गर्न एक्लै गएँ।’

काँग्रेसका जिल्ला सभापति, माओवादीको ‘तारो’मा गौतम स्वयम् नहुने कुरै भएन। तथापि कार्यकर्ताहरूको सुरक्षाका निम्ती आफूलाई माओवादी घेराभित्र शाहस जुटाएर एक्लै उभ्याउँथे। ‘त्योबेला माओवादीहरूले मलाई थ्रेट नदिने कुरै भएन नि, म त्योबेला झन् पार्टी सभापति पो थिएँ,’ उनले भने, ‘तथापि म शाहस लिएर माओवादीसमक्ष पुग्थेँ।’

त्योबेला तत्कालीन माओवादी नेता नेत्रविक्रम चन्दसँग कब्जा भएको काँग्रेसीहरूको सम्पत्ति फिर्ताका लागि वार्तामा बसेको स्मरण गौतमले गरे। ‘विप्लवसँग वार्तामा बसेँ, हाम्रा साथीहरूको सम्पत्ति किन कब्जा गरेको भनेर मैले प्रश्न गरेको थिएँ,’ गौतमले भने, ‘यो राम्रो भएन भनेर मैले उहाँलाई सुझाव पनि दिएको थिएँ।’

गौतम जिल्लाका काँग्रेसीहरूको त्योबेला माओवादीबाट कब्जा भएको जमिन फुकुवाका लागि निरन्तर माओवादीसँग वैचारिक लडाइँ लडेका थिए। बेपत्ता पारिएका आफ्ना कार्यकर्ताको रिहाइका लागि पटक–पटक जंगलसम्मै पुगेका गौतम काँग्रेसीहरूका भरोसाका केन्द्र बनेका थिए। फलतः अहिले पनि उनलाई दाङका काँग्रेस कार्यकर्ताहरूले ‘शाहसी सभापति’ को दर्जा दिन्छन्।

माओवादी द्वन्द्वकालको जगजगी पूर्ण अवस्थामा गौतमले जिल्ला सभापतिको दुई कार्यकाल पुरा गरे। उनको योजना थियो जनप्रतिनिधि बन्ने।

२०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि गौतमले जनप्रतिनिधि बन्ने कसरत थाले। तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले गौतमलाई नलड्न सुझाव दिए। गौतम भन्छन्, ‘म संविधानसभा सदस्यका लागि सिफारिसमा परेको थिएँ, त्यो बेला म जिल्ला सभापति पनि भएकाले गिरिजा बाबुले मलाई चुनाव नलड्न सुझाव दिनुभयो र म ब्याक भएँ।’

संविधानसभाको पछिल्लो निर्वाचन २०७० मा उनी फेरि चुनाव लड्न चाहे। तर त्यो बेला पनि पाएनन्। ०७४ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आकाँक्षा पाले गौतमले। घोराही उपमहानगरको मेयरका आकाँक्षी गौतमले त्यो बेला पनि टिकटका लागि काठमाडौँमा दौडधुप निक्कै गरेका थिए। ‘मेयरमा आकाँक्षी थिएँ, टिकटका लागि काठमाडौँ दौडधुप पनि गरेँ,’ उनले भने ‘तर त्योबेला पनि मैले टिकट पाएँन।’

तथापि गौतमले जनप्रतिनिधि बन्ने दृढतालाई मर्न दिएनन्। लगत्तै भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न खोजेका गौतम त्योबेला पनि पछारिए। वर्षौँदेखि जनप्रतिनिधि बन्ने सपनालाई पछ्याइरहेका गौतमले काँग्रेसभित्र मौलाएको गुटगत राजनीतिको शिकार आफू बन्दै आएको महसुस गर्छन्।

काँग्रेसभित्रको यो गलत संस्कृति केन्द्रदेखि स्थानीय स्तरसम्मै व्याप्त भएको उनको बुझाइ छ। अनि त स्थानीय स्तरमा पनि गौतमले फेल खानुपर्छ। उनी काँग्रेसको गत महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिन सकेनन्। स्थानीय तहमै मौलाएको गुटगत राजनीतिको निशानामा गौतम परे।

जनप्रतिनिधि बन्ने दौडबाट गलेका गौतम काँग्रेसभित्रको स्वार्थको लडाइँदेखि दिक्क छन्। जनप्रतिनिधि बन्ने आफ्नो दृढ संकल्प अब पुरा हुने वा नहुने त्यो फरक पाटोको कुरा भयो। तर उनी पार्टीको इतिहासलाई आम काँग्रेसीहरूले सम्मान र उचित मूल्याङ्कन होओस् भन्ने चाहन्छन्।

भन्छन्, ‘मेरो एउटा मात्रै चिन्ता छ कि काँग्रेसभित्र ‘सम्मान’ को संस्कृति कायम होओस्।’

प्रकाशित मिति: : 2023-12-30 11:17:00

प्रतिकृया दिनुहोस्