नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कुनै समय ‘सन्दीप लामिछाने’ नाम सबैभन्दा गर्विलो थियो। यही नामले मात्र पनि नेपाली क्रिकेट जगतलाई संसारले चिन्थ्यो। तर, आज यही नाम बदनाम भएको छ।
कलिलै उमेर नेपाली क्रिकेटको नेतृत्व सम्हाल्ने अवसर पनि पाएका सन्दीपलाई अदालतको एउटा फैसलाले अब ‘बलात्कारी’को रुपमा चिन्नेछ।
काठमाडौँ जिल्ला अदालतले लामिछानेले एक युवतीलाई ‘नाजुक आर्थिक अवस्था’को फाइदा उठाउँदै बलात्कार गरेको ठहर गरेको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले इजलासले सन्दीपले युवती बलात्कार गरेको फैसला सुनाएको छ। अर्थात्, सन्दीपमाथि लागेको बलात्कारको आरोप पुष्टि भएको छ।
एक्कोहोरो सफलताको सिँढी चढिरहेका सन्दीपमाथि २०७९ भदौ जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। जतिबेला सन्दीप वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग खेलिरहेका थिए।
मैदानमा चम्किरहेका सन्दीपको कलिलो ‘करियर’ त्यही दिनदेखि ओराली लागेको थियो, त्यसपछि जे भयो सबै बदनामीमात्र।
‘पीडित’ युवतीले दिएको बयानअनुसार सन्दीप र उनीबीच सामाजिक सञ्जाल (स्न्याप च्याट)मा कुराकानी हुन्थ्यो। सामान्य कुराकानीकै क्रममा सन्दीपले २०७९ भदौ ५ मा ती युवतीलाई भेट्न प्रस्ताव राखे।
काठमाडौँको एक कफी सपमा सन्दीप र ती युवतीबीच भेट भएको थियो। सन्दीपले ती युवतीलाई सोही दिन दिउँसो युवतीलाई लिएर नगरकोट पुगेका थिए। नगरकोटमा रात बिताउने सन्दीपको प्रस्ताव थियो। तर, युवती तयार भइनन्। अनि, नगरकोटबाट काठमाडौँ पुग्दासम्म सन्दीपले युवतीको मोबाइल कब्जा गरेका थिए। अनि, रातको समयमा सबैतिरबाट परिबन्धनमा पारेर सन्दीपले मध्यरातमा युवतीलाई सिनामंगलस्थित एक होटलमा पुर्याएका थिए।
जबकि त्यो बेला उनी देशकै राष्ट्रिय क्रिकेट टोलीको क्याप्टेन थिए, र त्यो बेला नेपाली टिम ‘क्लोज क्याम्प’मै थियो।
रातको समयमा होस्टलमा फर्किने सम्भव नभएपछि युवती सन्दीपसँगै होटल छिरेकी थिइन्। होटलमा बसेको अवस्थामा सन्दीपले युवतीमाथि बलात्कार गरेका थिए, त्यो पनि २५ मिनेटको फरकमा दुईपटक।
त्यसको भोलिपल्ट सन्दीप नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध टी- २० अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्न नैरोबी प्रस्थान गरे।
यता युवती अत्तालिएकी थिइन्।
त्यति बेलासम्म सन्दीपले ती युवतीलाई सामाजिक सञ्जालमा सबैतिरबाट ब्लक गरिसकेका थिए।
अनि, युवती प्रहरी गुहार्दै गौशाला पुगिन्।
केन्याको खेल सकेर सन्दीप वेस्ट इन्डिज पुग्दा भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो। आफूविरुद्ध बलात्कार गरेको भन्दै जाहेरी परेपछि सन्दीप केही समय त्यतै लुके।
सामाजिक सञ्जालमार्फत् बेला बेलामा छिट्टै नेपाल फर्किने र अनुसन्धानमा सहयोग गर्ने बताए पनि उनी फर्किएनन्।
असोज १० गते नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्यो। त्यसको १० दिनपछि असोज २० गते सामाजिक सञ्जालमार्फत् जानकारी गराएरै सन्दीप त्रिभुवन विमानस्थल ओर्लिए। त्यहीँबाट प्रहरीले उनलाई समात्यो।
त्यसपछि मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने फैसला गरेको थियो।
सन्दीप काठमाडौँ जिल्ला अदालतको त्यो निर्णयविरुद्ध उच्च अदालतमा पुगेका थिए। त्यसपछि उच्च अदालतले पुस २८ गते सन्दीपलाई २० लाख धरौटीमा सर्शत छाड्न आदेश दिएको थियो।
विदेश जान नपाइने, काठमाडौँबाहिर जानु परे प्रहरीसँग अनुमति लिनुपर्ने, पीडितसँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपले भेट्न नहुने सर्त उच्च अदालतको थियो।
उच्चको आदेशविरुद्ध सन्दीप फागुन २५ गते सर्वोच्च पुगेका थिए। त्यसपछि सर्वोच्चले उच्चको आदेश उल्टाएर उनी खेलाडी भएकोले विदेश जाने अनुमति दिएको थियो।
सन्दीपले त्यसयता राष्ट्रिय टोलीबाट केही महत्वपूर्ण खेलहरु खेले। त्यतिन्जेल काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्धको मुद्दामा प्रमाण जुटाउने काम भइरहेको थियो।
यो मुद्दा १० महिनासम्म निरन्तर पेशी चढ्दै आएको थियो तर सबै इजलासले हेर्न नभ्याइनेमा राख्दै आएका थिए। युवतीको जन्ममितिलाई लिएर विवाद उत्पन्न भएको थियो।
अन्तत: लामो प्रतीक्षापछि सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला भएको छ। अदालतले सन्दीपलाई बलात्कारी ठहर गरेको छ। फैसलामा बलात्कार भएको मितिमा पीडितको उमेर १८ वर्ष पुगेको भनिएको छ। भने, सन्दीपले युवतीको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर जबर्जस्ती करणी गरेको ठहर छ।
यद्यपि, इजलासले सजाय तोकेको छैन, त्यसका लागि २५ गते पेशी तोकिएको छ। उनी जेल जालान् वा नजालान्, सजायबारे अदालत अहिले नै बोलेको छैन।
तर, योसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको एउटा चर्चित र गर्विलो नाम धुमिल भएको छ।