फुटबलको क्रेज घट्दो: पैसा बाँड्दा पनि एनएसएलले पाएन दर्शकको दरिलो साथ

photo: NSL
photo: NSL

खेलमा राजनीतिक झेल, चम्किला खेलाडी विदेश पलायन, मैदानमा विदेशी खेलाडीको दबदबा, कमजोर व्यवस्थापनलगायत कारण नेपाली फुटबलप्रेमीहरुमा स्वदेशी प्रतियोगिताहरुप्रतिको उत्साह घट्दै गइरहेको उदाहरण एनएसएलले प्रस्ट पारेको छ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘नेपाल सुपर लिग’ (एनएसएल) चलिरहेको छ। नियमितरुपमा लिगहरु नभइरहेको, अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद सतहमा आइरहेको तथा चम्किला युवा खेलाडीहरु ‘गरिखाने मेसो’ खोज्न विदेश पलायन भइरहेको बेला अर्थात् नेपाली फुटबल क्षेत्रमा एक किसिमको नैराश्यता छाइरहेको समयमा सुरु भएको एनएसएलले नयाँ उत्साह थप्ला भन्ने अपेक्षा गरिएको थियो। तर, रंगशालामा दर्शकहरुको उपस्थितिलाई हेर्दा त्यस्तो देखिँदैन।

लिगका समूह चरणका खेलहरु सकिएका छन्। ९ टोली सहभागी प्रतियोगितामा समूह चरणमा कूल ३६ तथा एउटा क्वालिफायर खेल सकिएको छ। समूह चरणका खेलहरुलाई हेर्दा उद्घाटन खेलबाहेक अन्य खेलहरुमा दर्शकको उपस्थिति न्यून छ।

आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले उपलब्ध गराएको विवरणअनुसार उद्घाटन खेलमा ७ हजार बढी दर्शकको उपस्थिति थिए। तर, त्यसपछिका खेलहरुमा भने दर्शकहरुको उपस्थिति निरन्तर पातलिँदै गयो। कुनै-कुनै खेलहरुमा त २-३ सय दर्शकमात्र मैदान प्रवेश गरेका रेकर्ड छन्।

दशरथ रंगशालाको क्षमता २५ हजार दर्शक अट्ने हो। तर, एनएसएलका खेलहरु भइरहँदा दर्शकहरुको उपस्थित चामलमा देखिएका बिँयाजस्तै छ। प्रत्येक खेलमा औसत तीन हजारसम्म दर्शक उपस्थित हुने गरेको आयोजकको दाबी छ।

यद्यपि, अपेक्षा गरिएअनुसार दर्शकको उपस्थिति नभएको लिग निर्देशक सञ्जीव मिश्रकाे गुनासो छ। ‘सोचेजस्तो दर्शकको उपस्थिति छैन। दर्शक ल्याउने मुख्य भूमिका आयोजकको हुन्छ’, उनले भने।

आयोजकले दर्शकलाई मैदान प्रवेशका लागि रंगशालाको प्रवेशद्वारबाट तथा आइएमई पेमार्फत् टिकट काट्ने व्यवस्था मिलाएको थियो। शुल्क पनि साधारण सिटको २ सय रुपैयाँ र विशिष्टको ५ सय रुपैयाँ तोकिएको छ। तर, दुवै माध्यमबाट टिकट काट्ने दर्शकको संख्या न्यून छ।

किन आएनन् दर्शक मैदानमा?

मैदानमा दर्शकको उपस्थिति र उत्साह कम भएकोप्रति आयोजक, एन्फा पदाधिकारी तथा खेलकुद सम्बद्ध निकायहरु चिन्तित छन्।

एनएसएल स्थापित लिग नभएका कारण, स्वदेशका परिचित र युवा खेलाडीहरु विदेश पलायन भई मैदानमा नदेखिएका, टाइट सेडुल, टोलीमा धेरै खेलाडी विदेशी भएका कारण, एन्फाको विवादका कारण खेलप्रेमीहरुको नकारात्मक धारणा र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएका कारण मैदानमा दर्शकको उपस्थिति कम भएको हुन सक्ने अनुमान उनीहरुको छ।

टेलिभिजन र मौसम

एनएसएलका सबै खेलहरु हिमालय टेलिभिजन र उक्त टेलिभिजनको युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रसारण भइरहेका छन्। मानिसहरु भौतिक उपस्थितिबाट भर्चुअल माध्यमतिर आक्रषित भइरहेका छन्। एनएसएलका खेलहरु पनि सहजैरुपमा अनलाइन माध्यमहरुमा उपलब्ध भएका कारण मानिसहरु रंगशालासम्म नपुगेको हुन सक्ने अनुमान आयोजकको छ।

त्यस्तै यो समयमा दिनहरु छोटा छन्। सामान्यतया साढे पाँच बजेदेखि नै अँध्यारो हुने भएकोले बालबच्चासहितको पारिवारिक टोली चाहेर पनि मैदान पुग्न असमर्थन भएको तथा चिसो बढेका कारण पनि दर्शकहरु मैदानसम्म नपुगेर भर्चुअल माध्यमबाट नै खेलहरु हेर्ने गरेको हुन सक्ने अनुमान आयोजकको छ।

साँझको चिसोको कारण दर्शकहरु मैदानमा नआएको हुन सक्ने अनुमानसित आयोजकले खेल समय आधा घन्टा अगाडि सारेको थियो। अर्थात्, साढे पाँच बजेबाट सुरु गर्ने भनिएका खेलहरु पाँच बजेबाट नै सुरु गरिएको थियो। यद्यपि, त्यसपछि पनि दर्शकको उपस्थिति उल्लेखरुपमा वृद्धि भएन।

खेलाडी पलायनको असर

संसार कोरोना महामारीको संकटबाट बाहिरिँदै गर्दा नेपालमा पनि रोकिएका लिगहरु विस्तारै चलायमान हुँदै गइरहेका छन्। यद्यपि, एकातिर रोकिएका लिगहरु चल्न सुरु गर्दैगर्दा अर्कोतिर नेपालका परिचित खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन्।

पछिल्लो दुई वर्षको अवधिमा नेपालका दर्जनौँ नेपाली फुटबलरहरु विदेशिए। जसको असर खैल मैदानमा देखिएको छ। लिगको लागि खेलाडी अभाव भएपछि आयोजकले नीति नै बनाएर प्रत्येक टोलीमा कम्तिमा ६ जना विदेशी खेलाडी राख्ने व्यवस्था मिलाएको थियो। सोहीअनुसार लगभग सबै टोलीले टोलीमा ६ जना विदेशी खेलाडी राखेका छन्। तीमध्ये खेलको समयमा ५ जना विदेशी खेलाडी मैदानमा उपस्थित गराउन पाउने व्यवस्था छ। अर्थात्, मैदानमा आधा खेलाडी त विदेशी नै हुने भए। र, खेलमा उनै विदेशी खेलाडीको दबदबा छ। लिगमा सबैभन्दा धेरै गोल गर्नेको सूचीमा सबैजना विदेश खेलाडी छन्।

स्वदेशी परिचित अनुहारहरु मैदानमा नभएका कारण र मैदानमा पनि विदेशी खेलाडीकै दबदबा रहेका कारण पनि दर्शकले खेल हेर्न रुचि नराखेको हुन सक्ने अनुमान आयोकको छ।

खेलाडी विदेश पलायन हुनुको असर लिगमा प्रस्टसँग देखिएको मिश्र बताउँछन्। ‘गएको वर्ष धेरै नेपाली खेलाडी विदश गए। ठुलो नाम गरेका खेलाडीहरु लिगमा कम छन्। ती ठुला-ठुला खेलाडीहरु यहाँ खेलिरहेको भए दर्शक मैदानमा आउँथे। ठुला खेलाडी विदेश पलायन र भर्खर खेलिरहेका खेलाडी जम्न नसक्दा दर्शक आएनन् कि’, उनले भने।

त्यस्तै चलेका फुटबर विदेश पलायन हुँदा नेपाली फुटबलप्रेमीमा नैराश्यता उत्पनन भएको र त्यसको असर दर्शकदीर्घमा देखिएको हुन सक्ने उनी बताउँछन्।

एन्फाभित्रको किचलो

अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद नयाँ होइन। विगतदेखि एन्फाभित्रको विवाद र राजनीतिकरणको कारण फुटबलका गतिविधिहरु नियमितरुपमा चलेका छैनन्। एन्फाभित्रको राजनीतिका कारण लिगहरु नियमित रुपमा भएनन्। लिगहरु नभएपछि खेलाडीहरु विदेश पलायन भए।

एन्फाको राजनीतिक किचलो कारण नै खेलाडीहरुले आवश्यक सेवा र अवसर पाउन सकेनन्। जसकारण खेलाडी र खेलप्रेमीप्रति नकारात्मकता पैदा भएको छ। मिडियाहरुमा खेल गतिविधिका भन्दा एन्फाभित्रको राजनीति र विवादका समाचारहरु बढी चर्चामा हुने गर्छन्। त्यही कारण पनि दर्शकमा फुटबलप्रति नकारात्मक धारण बनेको अनुमान आयोजकको छ।

प्रशिक्षक मेघराज केसी पनि फुटबल संघभित्रको विवाद र राजनीतिकरण कारण समर्थक घट्दै गएको बताउँछन्। ‘पछिल्लो समय नेपाली फुटबलमा धेरै नै विवाद उत्पन्न भइरहेको छ, जसले गर्दा फुटबलप्रेमीहरू फुटबलदेखि टाढिरहेका छन्’, उनले भने, ‘डिभिजन लिगहरू पनि नहुने, अन्य प्रतियोगिताहरू पनि नहुने भएपछि समथर्कहरू घट्दै गएको छन्।’

दर्शक तान्न गरिएका असफल प्रयासहरु

रंगशालाका कुर्सीहरु खाली-खाली भएपछि आयोजकले दर्शक तान्नको लागि केही प्रयासहरु पनि नगरेको होइन। आयोजकले दर्शक तान्नको लागि चाउचाउका खोल ल्याए नि:शुल्क प्रवेश दिनेदेखि फ्यान अफ द म्याचको रुपमा पाँच हजार पुरस्कार दिनेसम्मका योजनाहरु अगाडि सारेको थियो।

आयोजक नेपाल स्पोर्ट एन्ड इभेन्ट म्यानेजमेन्टले दर्शक तान्नको लागि प्रत्येक खेलमा बढी सक्रियता देखाउने दर्शकलाई फ्यान अफ म्याचको रुपमा पाँच हजार दिँदै आएको छ।

त्यस्तै आइएई पेमार्फत् टिकट काट्ने दर्शकहरुमध्ये एक जनालाई पाँच हजार पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो। आयोजकले आइएमई पेमार्फत् टिकट काट्नेमध्ये एक जनालाई छनोट गर्थ्यो, छनोट भएका ती व्यक्तिलाई खेल मैदानको मध्य भागबाट गोल गर्न लगाउँथ्यो। यदि ती व्यक्तिले गोल गरेको खण्डमा ती व्यक्तिलाई पाँच हजार पुरस्कार प्रदान गरिन्थ्यो।

त्यसैगरी आयोजकले एएफसी बुटवल लुम्बिनीको स्पोन्सर करेन्ट चाउचाउको खोल लिएर आउने दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको थियो।

यस्तै ललितपुर सिटी एएफसीले पनि एक खेलमा सयौँ टिकट नि:शुल्क वितरण गरेको थियो। भने, आयोजकले पनि लिगको माहोल सिर्जना गर्न उद्घाटन समारोहमा केही कलाकारलाई ल्याएर प्रस्तुति दिन लगाएको थियो।

आयोजकले दर्शक तान्नका लागि यसरी निरन्तर विभिन्न प्रयासहरु गरे पनि सफल हुन सकेनन्। यति प्रयास गर्दा पनि अपेक्षाअनुरुप दर्शक मैदानमा नआएकोमा आयोजक चिन्तित छ। र, यो एउटा लिग वा खेलको मात्र कुरा नभएर समग्र नेपाली फुटबलको लागि चिन्ताको विषय हो। यो चिन्तालाई चिर्ने विषयमा एन्फा र फुटबल सम्बद्ध संस्थाहरु जिम्मेवार हुन आवश्यक छ। भने, क्लबहरुले पनि आफ्नो टोलीको लागि फ्यान बढाउने तर्फ ध्यान दिन जरुरी छ।

प्रकाशित मिति: : 2023-12-27 19:50:00

प्रतिकृया दिनुहोस्