सहकारी ठगी प्रकरणमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रारसमेत रहेका पराजुलीलाई प्रहरीले बुधबार दिउँसाे कार्यालयबाटै पक्राउ गरेकाे हाे।
रजिष्ट्रार रहेका बेला उनले पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोप थियो।
सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड ५ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ।
पराजुलीले १ करोड ५ लाख लिएको मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेलकाे बयानका आधारमा कास्की प्रहरीले पुस ५ गते पक्राउ पुर्जी जारी गरेकाे थियो।
प्रहरीका अनुसार साेही आधारमा पराजुलीलाई बुधबार पर्वतबाट पक्राउ गरेर कास्की पठाइएको छ।