काठमाडौँ क्षेत्रपाटीस्थित पकनाजोलमा रहेको पिपल्स क्याम्पसले आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रुपले मनाएको छ।
काठमाडौँ विश्वविद्यालयका उपकुलति प्रा.डा. भोला थापाको प्रमुख आतिथ्यमा साेमबार भएकाे उक्त कार्यक्रममा संघीय सांसद गणेश पराजुली, बागमती प्रदेशसभा सदस्य वसन्त मानन्धर र प्रकाश श्रेष्ठलगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
नेपालको वर्तमान शैक्षिक प्रणाली र विद्यार्थीको विदेश पलायनको विषयमा सबै जसो अतिथि, क्याम्पस प्रमुख तथा प्राध्यापकहरुले समेत आफ्नो मन्तव्य अभिव्यक्त गरिरहँदा उपकुलपति थापाले भने विद्यार्थी विदेश पलायनभन्दा पनि नेपाली युवाहरुको प्रस्थान भएकाे बताएका थिए।
नेपाली विद्यार्थीहरु अध्ययनको लागि मात्र नभई प्रमुखत: रोजगारको निम्ति विदेश गइरहेकाले उनीहरुलाई रोजगार र जीविकोपार्जन गर्ने अवसर राज्यले दिनुपर्ने उनले बताएका थिए।
‘नेपालमा पढेका अधिकांश विद्यार्थीहरु विदेशमा गएर अब्बल दर्जाका कोर्षहरु अध्ययन गरिरहेका छन्। उनीहरुले त्यही अनुसारको रोजगार पनि पाइरहेका छन्। त्यसैले नेपालको शिक्षा नराम्रो भएर भन्दा पनि उनीहरुले आफूले पढेको विषय र हासिल गरेको दक्षताअनुसारको रोजगार नभएर विदेशिएका हुन्’, उनले भने।
डा. थापाले अब हरेक शैक्षिक संस्थाहरुले पनि आफ्ना विद्यार्थीहरुलाई विदेशमा पठाउने सिफारिस मात्र होइन, विदेशीहरुलाई पनि नेपालमा अध्यापन भइरहेको विषय तथा संकायहरुमा अध्ययन गर्न बोलाउने र आफू पनि विदेशका विश्वविद्यालयहरुमा आफ्ना विभिन्न शैक्षिक उन्नयनका कोर्षहरुको अध्यापन गराउन जानुपर्ने बताए।
‘जसरी काठमाडौँ विश्वविद्यालयले भारतका विभिन्न विश्वविद्यालयहरुमा आफ्ना शैक्षिक कार्यक्रमहरुमार्फत त्यहाँका विद्यार्थीहरुलाई अध्यापन गराउँदै आइरहेको छ र निकट भविष्यमा अष्ट्रेलियाको सिड्नीमा त्यस्ता कोर्षहरुको अध्यापन गर्न जाने योजना बनाइरहेको छ, त्यसैगरी पुरानो इतिहास बोकेको पिपल्स क्याम्पसले पनि त्यस्ता दीर्घकालीन शैक्षिक योजनाहरु निर्माण गर्नुपर्छ’, डा. थापाले भने।
नेपाली युवाहरु विदेशमा अध्ययन वा रोजगारीको निम्ति गएतापनि त्यहाँको सीप, शिक्षा र अवसरलाई नेपालमा नै फर्केर सदुपयोग गरेमा आउने पुस्ताले अझ धेरै सीप, शिक्षा र अवसर आफ्नै मुलुकमा प्राप्त गर्न सक्ने संघिय संसद गणेश पराजुलीले बताए।
वि.स. २०३८ सालमा स्थापना भएको यस क्याम्पसले हालसम्म विभिन्न क्षेत्रमा हजारौँ दक्ष जनशक्तिहरु उत्पादन गरिसकेको छ। पिपल्स क्याम्पस सामुदायिक क्याम्पसहरुमध्ये एउटा इतिहास बोकेको क्याम्पस हो।
क्याम्पसले ४२औँ वर्षसम्म उत्पादन गरेका दक्ष जनशक्तिहरुले नेपाललगायत विश्वका थुप्रै राष्ट्रहरुमा आफ्नो दक्षता प्रस्तुत गरिरहेको बताउँदै बागमती प्रदेशसभा सदस्य वसन्त मानन्धरले क्याम्पसको अझै उन्नति, प्रगति र समृद्धिको कामनासँगै यसको बढावाकाे निम्ति आफूले सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालको शैक्षिक क्षेत्र लामो समयदेखि संक्रमणकालीन अवस्थामा रहेकाले यसको निम्ति सधैँ सरकार र राजनीतिज्ञहरुको मुख ताक्नुभन्दा प्रत्येक नागरिकले यस विषयमा उत्तिकै सचेत र सजगताका साथ आफ्नो भूमिका निभाउनुपर्ने विचार निवर्तमान क्याम्पस प्रमुख निर्मल मणि पन्थीको थियो।
साे अवसरमा क्याम्पसका विभिन्न संकाय तथा तहहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसका साथै क्याम्पसमा २५ वर्ष सेवा गरेका प्राध्यापक र कर्मचारीलाई दीर्घकालीन सेवा पदक र रजत सेवा पदक पनि प्रदान गरिएको थियो।
हाल याे क्याम्पसमा कक्षा ११ र १२ मा बीबीएस, बीबीए, बीबीएम, एमबीएसलगायतका संकायहरुमा करिब एक हजार चार सय विद्यार्थीहरु अध्ययनरत छन्।