घलेकाे समूहले १३८ किलो सुन भित्र्याएकाे छानबिन समितिकाे निष्कर्ष

File Photo
File Photo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घलेसहितकाे समूहले १३८ किलो सुन भित्र्याएकाे निष्कर्ष निकालेको छ।

१४ किलाे सुन प्रकरणमा पक्राउ परेका घलेकाे समूहले उक्त परिमाणकाे सुन नेपाल भित्र्याएकाे निष्कर्ष निकालेकाे हाे।

मंसिर २२ गते दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई १४ किलाे सुनसहित भन्सार कार्यालयले विमानस्थलबाट पक्राउ गरेकाे थियाे। साेही क्रममा मीनबहादुर पक्राउ परेका थिए। त्यसपछि छानबिन समिति गठन भएकाे थियाे।

पटक-पटक गरी मीनबहादुर घले, चन्द्र घलेलगायतले १३८ किलाे सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेको र पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ किलाे मात्र पक्राउ परेको देखिएकाे छानबिन समितिले उल्लेख गरेकाे छ।

मीनबहादुर घलेले दुबईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको समितिले निष्कर्ष निकालेको छ।

मीनबहादुर घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक-पटक दुबईबाट सुन लिएर आउने गरेको अनुसन्धानबाट खुलेकाे समितिले बताएकाे छ।

मीनबहादुरले एयरपोर्टको सेटिङ्ग मिलाउन डि.वी. भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको देखिएकाे पनि समितिले उल्लेख गरेकाे छ।

समितिकाअनुसार एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरका एसी. मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी. शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएकाे छ।

यसैगरी भरियाले ल्याएको सुन एयरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडाैँकाे बानियाटारस्थित सूर्यदर्शन हाइटमा रहेको डि.वी. गुरुङको घरमा पुर्याउने गरेको छानबिन समितिले उल्लेख गरेकाे छ।

उक्त सुन मीनबहादुर घले र उनको साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगीदिने गरेको समेत अनुसन्धानबाट खुलेकाे छ।

प्रकाशित मिति: : 2023-12-24 14:40:00

प्रतिकृया दिनुहोस्