गणतन्त्र रक्षाका लागि जनता जे पनि गर्न तयार छन्: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रप्रति जनताको असाधारण विश्वास रहेको भन्दै गणतन्त्रको रक्षार्थ जनताले जे गर्न पनि तयार रहेको बताएका छन्।

‘लोकतन्त्रप्रति जनताको असाधरण विश्वास छ। र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनता जे गर्न पनि तयार छन्’, एमालेले केही दिनअघि गरेको मध्यपहाडको यात्रा सकेर आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘व्यवस्थाविरुद्ध जन्माइएका गलत भाष्यहरूलाई चिर्न र नयाँ, यथार्थ सही भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ। जनतामा देखिएको नैराश्यताको भावलाई चिर्नका लागि पनि यो यात्रा सफल भएको छ।’

उनले अहिले उठिरहेका लोकतन्त्र र गणतन्त्र विरोधी आवाजहरूलाई चिर्नका लागि एमालेको यो यात्राले महत्वपूर्ण भूमिका खेलेको पनि बताए।

‘कोही कोही राजतन्त्र फर्काउन लागेका छन्। यही अवधिभित्र राजतन्त्र फर्काउँछौँ भन्नेहरू पनि छन्’, उनले भने ‘तर यी प्रयासहरूलाई हाम्रो यो यात्रामा निरर्थक बनाइदिएको छ।’

नेकपा एमालेले केही दिनअघि मध्य पहाडमा १८ दिनको यात्रा गरेको थियो। मंसिर १४ गते पश्चिम बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८औँ दिनमा पुस ३ गते पूर्व पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिएको थियो।

उनले मध्यपहाडमा अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको बसाइँसराइको समस्यालाई समाधान गर्न सरकारलाई दबाब दिने पनि बताए।

‘सबैभन्दा ठूलो चुनौती युवाहरू नबस्ने र सारा वस्ती नै बसाइँ सर्ने। बसाइँसराइको समस्या धेरै देख्यौँ। ४० प्रतिशत युवाहरूमात्रै देख्यौँ हामीले पनि। निकै कम देख्यौँ’, ओलीले भने, ‘तर पनि मानिसमा आशा छ। आशावादी छन् मान्छेहरू।’

उनले समग्रमा एमालेको यो यात्रा सोचेभन्दा धेरै सफल भएको पनि बताए। चुनाव आउन धेरै समय बाँकी रहेको भन्दै उनले यो यात्रा चुनावी भोट माग्नका लागि नभएको पनि स्पष्ट पारे।

‘यात्रा सफलमात्रै भएन। यसका उद्देश्यहरू जे थिए त्यसलाई असाधारण बल दिएर पनि सफल भएको छ’, उनले भने, ‘देशको भविष्य बोकेको मध्यपहाडलाई ध्यान दिइएन भने हामी संकटमा फस्नेछौँ।’

प्रकाशित मिति: : 2023-12-24 14:02:00

प्रतिकृया दिनुहोस्