आयुर्वेदिक औषधि किन्नका लागि सादाेबाटाे, काेटेश्वर र भक्तपुरबाट अनामनगरस्थित सिंहदरबार वैद्यखाना पुग्छन् ग्राहकहरू।
एक समय थियो, सय रुपैयाँको औषधि किन्न मानिसहरू हजार भन्दा धेरै रकम खर्च गर्थे। त्यो भनेकाे आधुनिक चिकित्सा विज्ञानको युगमा पनि ‘वैद्यखाना’ अर्थात् आर्युवेद आफैमा एउटा ब्राण्ड थियाे।
अब वैद्यखानामा औषधि बन्दैन। त्यहाँ औषधिहरू छैनन्। केही कर्मचारी छन्, थोत्रिन लागेकाे भवनमात्रै छ।
अहिले त ग्यास्ट्रिक, अल्सर र दमलगायतका औषधि नपाएर निशासिएका ग्राहकहरूकाे गाली सुनेरै बितिरहेकाे छ, वैद्यखाना बिक्री काउन्टरका कर्मचारीहरूकाे दिन।
वि.सं १६९८–१७३१ सालताका राजा प्रताप मल्लकाे पालामा सुरु भएकाे थियाे, आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखाना।
तर राणा प्रधानमन्त्री जंगबहादुरको पालामा हनुमान ढाेका हुँदै थापाथली पुगेकाे वैद्यखाना पछि जुद्धशमशेरले सिंहदरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’ भनेर चिनिन थाल्याे।
झण्डै चार सय वर्षकाे इतिहास बाेकेकाे वेद्यखानामा त्याेबेला राजदरबार, प्रधानमन्त्री तथा उनीहरूका नातागोताहरूकाे ‘राज’ थियो। उनीहरूले मात्रै त्यहाँको औषधीहरू प्रयोग गर्न पाउँथे।
तर मुलुकमा प्रजातन्त्र आएपछि २००९ सालदेखि वैद्यखानाको औषधि सर्वसाधारणले पनि प्रयोग गर्न पाए। त्यसपछि २०५२ सालदेखि सरकारले यसलाई विकास समितिमा परिणत गर्यो।
याे पनि– एउटा ‘कार्यकारी निर्देशक’ले डुबाउँदै गरेको सिंहदरबार वैद्यखाना
तर सरकारले वैद्यखाना विकास समितिमार्फत सञ्चालनमा ल्याएतापनि वैद्यखाना झन् खस्किँदै गयाे। समितिले वैद्यखानाको विविधीकरण र विस्तार गर्दै १० वर्षमा २५ करोड रुपैयाँ बराबरको उत्पादन गर्ने लक्ष्य लिएको थियो।
तर व्यवस्थापन पक्षले लक्ष्यअनुसारको योजना बनाउन नसक्दा उक्त लक्ष्य कागजमा मात्रै सीमित भयाे।
विगतमा सिंहदबार वैद्यखानाले स्वदेशी जडीबुटी प्रयोग गरेर १८५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्थ्यो। अनि आयुर्वेद विभागले वैद्यखानाको औषधि किनेर नेपाल भरका ३११ स्थानीय तहमा सञ्चालित ३९१ वटा जिल्ला आयुर्वेद औषधालय र स्वास्थ्य केन्द्रहरूमा पठाउँथ्याे।
तर अहिले त्याे एकादेशकाे कथा भएकाे छ। न वैद्यखानाले औषधि बनाउँछ, न त आयुर्वेद विभागले त्यहाँ औषधि नै किन्छ।
तीन वर्षदेखि विभागले वैद्यखानासँग कुनैपनि सम्पर्क नगरेकाे सिंहदरबार वैद्यखाना विकास समितिका मार्केटिङ अधिकृत ऋषिराज रेग्मी बताउँछन्। उनका अनुसार अहिले वैद्यखाना र आयुर्वेद विभागबीच केही लेना र देना नै छैन।
तर वैद्यखानामा उत्पादन घटेसँगै आयुर्वेदले वैद्यखानामा औषधि किन्न छाडेको बिक्री काउण्टरका इञ्जार्ज आदित्य ठाकुर बताउँछन्।
‘पहिले त यहीँबाट विभागले औषधि किन्थ्यो तर अहिले त्यो ठप्प छ। यहाँ औषधि किनेको छैन। कहाँबाट किनिरहेको छ, केही थाह छैन’, बिएल नेपाली सेवासँग उनले भने।
तर यता आयुर्वेद विभागका तथ्याङ्क अधिकृत कृष्णराज पाण्डे भने वैद्यखानासँग विभागकाे कुनै सम्बन्ध नरहेकाे बताउँछन्। उनका अनुसार विभागकाे कामै हाेइन औषधि किनेर बेच्ने।
‘विभाग र वैद्यखाना एकअर्कोसँग सम्बन्धित छैन। विभागले अहिले औषधि बेचिरहेको छैन। यो विभागको काम पनि होइन’, उनी भन्छिन्, ‘अहिले औषधि किनबेचकाे च्याप्टर क्लाेज भइसकेकाे छ। औषधि खरिद बिक्री गर्ने विभागकाे कामै हाेइन। संघीयता आइसकेकाे छ। औषधि बाँड्दै हिड्ने विभागकाे काम हाेइन।’
उनका अनुसार आयुर्वेद विभागकाे काम औषधिकाे अध्ययन गर्ने हाे। तर कहाँबाट औषधि आउँछ त्याे थाह छैन। विगतका दिनहरूमा पनि विभागले वैद्यखानासँग औषधि नकिनेको उनकाे बुझाइ छ।
कसरी थच्कियाे सिहंदरबार वैद्यखाना?
कुनैबेला विभिन्न औषधिकाे बट्टाहरूले भरिभाउ हुन्थ्याे, सिहंदरबार वैद्यखाना। झनै प्रसिद्ध थियाे त्यहाँकाे च्यावनप्रास। औषधि किन्ने मानिसहरूकाे घुइँचाे लाग्थ्याे र, बिक्री गर्न भ्याइनभ्याई हुन्थे कर्मचारी।
तर त्याे सबै अहिले सपना जस्तै भइदिएकाे छ।
कुनैसमय औषधि उत्पादनले हरियाली रहेकाे वैद्यखाना अहिले धराशय बनेको छ। उत्पादन नै ठप्प छ। जसकाे कारण ‘राजनीति’ चलखेल रहेको बताउँछन् कर्मचारीहरू।
वैद्यखानामा २०७७ सालको गठन आदेशअनुसार आयुर्वेद समूहको ११औं तहका कर्मचारी खटाउने प्रावधान छ। साेहीअनुसार गत साउन २३ गतेको सरकारी निर्णयबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागका महानिर्देशक वासुदेव उपाध्यायलाई वैद्यखाना पठाइयो।
उनकै नेतृत्वमा उठ्ने प्रयासमा थियाे वैद्यखाना। तर कार्तिक २ गते उपाध्यायलाई हटाएर नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक प्रदीप केसीलाई वैद्यखानामा नियुक्त गरियो।
तर हाल नियुक्त गरिएका प्रदीप केसी आफ्नो दरबन्दी नभएको स्थानमा नियुक्त गरेको भन्दै अदालत पुगे। त्यसपछि अहिले पद रिक्त बनेको छ। साथै अहिले औषधि उत्पादन समेत ठप्प छ।
याे पनि– घिटीघिटी बाँचिरहेको वैद्यखानालाई प्राण दिनसक्लान् नयाँ प्रमुखले ?
कुनैबेला ८० प्रतिशत आयुर्वेदिक औषधिको हिस्सा ओगट्ने गरी औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिले पछिल्लो ६ महिनादेखि एउटा औषधि पनि उत्पादन गर्न सकेकाे छै।
केही वर्षअघि प्राकृतिक जडिबुटी प्रयोग गरी गुर्जो चिया, तुलसी चिया, शिलाजित, च्यवनप्राश‚ अश्वगन्धा तेल, अविपत्तिकर चूर्ण जस्ता आयुर्वेदिक औषधि उत्पादन गरेर बजार पठाउने वैद्यखाना अहिले जीर्ण अवस्थामा छ।
अहिले ‘घिटीघिटी’ मा बाँचिरहेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सञ्चालन हुँदै आएको सिंहदरबार वैद्यखानामा हाल ४१ जना कर्मचारीहरू छन्। जसमध्ये विकास समितितर्फ ३९ र नेपाल सरकारका २ जना कर्मचारी छन्।
वैद्यखानामा उत्पादन गर्ने उपकरण छ, कर्मचारीहरू छन् तर टिकाउ निर्देशन नै छैनन्। २२ वर्षदेखि वैद्यखानामा काम गर्दैआइरहेकी एक कर्मचारी भन्छिन्, ‘अहिले औषधि छैन। व्यापार पनि छैन। २ महिना यतादेखि तलब पनि पाएकाे छैन।’
खाली रहेका औषधि राख्ने दराज देखाउँदै उनले भनिन्, ‘यतिबेला त औषधिहरूले भरिनुपर्थ्यो यो दराजहरू तर अहिले औषधि नै शून्य छ। केही बट्टा च्यवनप्रास छ। त्याे पनि अब केही दिनमै सक्किन्छ। अहिलेकाे समय भनेकाे व्यापार हुने समय हाे। तर औषधि नभएकाे कारण वैद्याखाना रित्तिदैं गएकाे छ। याे सबै राजनीति चलखेलले भएको हो। हामीलाई केही चाहिँदैन। मन्त्रालयले एउटा राम्रो निर्देशक पठाइदिए पुग्छ। बाँकी काम हामी आफैं गर्छौं।’
हरेक वर्ष १० करोड रुपैयाँभन्दा बढी आयुर्वेद औषधि उत्पादनको क्षमता भएको वैद्यखानामा अहिले शून्य उत्पादन छ। कुनैबेला एक सय ५० भन्दा धेरैथरी औषधि उत्पादन गर्ने वैद्यखाना अहिले ४-५ थरी औषधिमा सीमित भएको छ।
भरपर्दो र गुणस्तरीय आयुर्वेदिक औषधि पाइने बिक्री काउन्टरमा च्यवनप्रास र अन्य केही चूर्णबाहेक औषधि उपलब्ध छैन। त्यही पनि २–३ दिनकाे लागि मात्र।
वैद्यखाना विकास समितिका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीका अनुसार बजारमा च्यावनप्रास, शिलाजित, अविपत्तिकर चूर्ण, लिभकेयर सिरप, एब्डोजाइम सिरपलगायतका औषधिको बढी माग भइरहेकाे छ। तर उत्पादन नहुँदा वैद्यखाना खाली बन्दै गएको छ
अहिले बजारमा च्यवनप्रास र शिलाजितलगायतकाे माग बढिरहेता पनि कच्चा पदार्थ नभएकाे कारण औषधि उत्पादन हुन सकेकाे छैन।
सामान्य अवस्थामा त्यहाँबाट उत्पादित च्यवनप्रास बेचेरै चिसो मौसममा डेढ करोडसम्म नाफा कमाउने वैद्यखाना घाटामा छ। ‘याे चिसाे माैसममा डेढ कराेड रूपैयाँसम्मकाे च्यवनप्रास बेचेकाे रेकर्ड छ तर अहिले कच्चा पदार्थ समेत नहुँदा योपटक उत्पादन नै गर्न सकिएन’, इञ्जार्ज ठाकुरले भन्छन्।
एकैदिनमा औषधि बेचेर लाखाैं रूपैयाँसम्म कमाउने वैद्यखाना अहिले हजार रूपैयाँमा झरेकाे छ। सरकारले वैद्यखानालाई यसैगरी वेवास्ता गरिरहने हाे भने संस्थालाई बन्द गरिदिनुपर्ने ठाकुरकाे भनाइ छ।
‘कोही पनि कर्मचारीहरू सित्तैकाे तलब खान चाहदैनन्’ उनी भन्छन्, ‘तर कर्मचारीहरूलाई काम दिनुपर्याे नि! यदी सरकारले वैद्यखाना चलाउन सक्दैन भने हामीले पाउने सेवासुविधाहरू दिएर संस्था नै बन्द गरिदिनुपर्छ। किन बिना काम हामीलाई तलब दिइरहनुपर्यो र?’
सरकारकाे दाेष?
सिंहदरबार वैद्यखाना विकास समिति छेउमा विश्वराज घिमिरेले आयुर्वेदिक औषधि बेच्न थालेको २५ वर्ष भयो। वैद्यखानाबाट औषधि किनेरै उनले पसल चलाइरहेका थिए।
तर पछिल्लो केही वर्षयता उनको पसल पनि वैद्यखानाझै सुक्दै गइरहेको छ। जसको कारण उनी सरकारलाई देखाउँछन्।
उनका अनुसार सरकारको चरम लापारवाहीकै कारण वैद्यखान धराशयी भएको हो। उनी भन्छन्, ‘सरकारले वैद्यखानामा केही चासो दिएन। यदी दिन्थ्यो भने अहिलेको अवस्थामा कहिल्यै पुग्दैन थियो वैद्यखाना।’
कुनै समय यस्तो थियो कि औषधि किन्ने ग्राहकहरूको लाइनले भरिने गर्थ्यो वैद्यखाना। औषधि किन्नका लाग तछाडमछाड गर्थे ग्राहकहरू। तर औषधि लिएरै फर्किन्थे तर हिजोआज निराश भएर घर फर्किन बाध्य छन् उनीहरू। त्यही कुराले आफूलाई पिरोलिरहेको घिमिरे बताउँछन्।
‘त्योबेला नेपालमै चर्चित थियो वैद्यखाना। त्यहाँ औषधिहरू पनि राम्रो थियो। त्यसैले मैलेपनि त्यहीँबाट किनेर ल्याएको औषधिहरू बेच्थें तर अहिले औषधि उत्पादन भएको छैन। त्यसैले मेरो पसल पनि सक्किदै गइरहेको छ’, स्टक राखेको च्यवनप्रास देखाउँदै घिमिरे भने, ‘अब मसँग एक सातालाई मात्र पुग्ने च्यवनप्रास छ, त्यो सक्किएपछि कहाँबाट ल्याउने थाह छैन। किनकी वैद्यखाना जस्तो गुणस्तरीय औषधि कहीँ हुँदैन।’
लथालिङ रहेको वैद्यखानालाई फेरि पनि उठाउनुपर्ने उनी बताउँछन्। त्यसका लागि सरकारले टिकाउ ‘हाकिम’ पठाउनुपर्ने उनको भनाइ छ। ‘यो संस्था डुब्नुमा सरकारकै हात छ। अब सरकारले झ्यासेम्यासे भन्दापनि ४ वर्षको लागि टिक्न हाकिम पठाउनुपर्छ’, आक्रोश पोख्दै उनी भन्छन्, ‘काम नगर्ने हाकिमलाई सरकारले कारवाही पनि गर्नुपर्छ। होइन भने अब बन्द नै हुन्छ वैद्यखाना।’
आफू सरकारी जागिरे भएपनि सरकारको लापारवाहीकै कारण सरकारी संस्थाहरू डुब्दै गएको एक कर्मचारी बताउँछन्। उनका अनुसार सरकारी कम्पनीहरू खस्किनुमा सरकारकै दोष छ।
‘सरकारी संस्थामा न भनेको बेला काम हुन्छ न त कर्मचारीहरूले नियमकै पालन गर्छन्’, सरकारी संस्था नै भद्रगोल रहेको बताउँदै उनले भने, ‘हाकिमहरू नै काममा लापारवाही गरिदिन्छन्। अनि उनीहरूले आफूभन्दा मुनिका कर्मचारीहरूलाई के सिकाउँछन् र?’
सरकारको कामप्रतिको चरम लापारवाहीकै कारण आम–जनताहरू विश्वास सरकारी निकायहरूसँग घट्दै गएको उनको दाबी छ। ‘सरकारी स्कुल, अस्पताल र कार्यालयहरू सबै भद्रगोल छ। त्यसैले हामीप्रति जनविश्वास पनि घटिरहेको छ’, उनी भन्छन्, ‘वैद्यखाना पनि यही सरकारकै लापारवाहीले सुक्दै गएको हो।’
याे पनि–
मन्त्रालयले हटाए पनि वैद्यखानामा हाजिर गरिरहेछन् रामदेव यादव