प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे एक वर्षकाे कार्यकाल पूरा भएपछि क्रमभंग गर्ने बताएका छन्।
इनरुवा सबस्टेसनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नाे तेस्रो कार्यकालकाे एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर अर्काे क्रमभंग गर्ने बताएका हुन्। उनले त्यतिबेला आम नेपालीकाे साथ रहने विश्वास व्यक्त गरे।
‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ। यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर साँच्चै क्रमभङ्ग गर्दैछु अर्को’, प्रचण्डले भने, ‘त्यतिबेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु।’
नेपाल अँध्याराे छ, बस्न लायककाे देश हाेइन भन्ने गलत भाष्य निर्माण भएकाे भन्दै यस्ताे गलत प्रचारबाट सावधान रहन अपीलसमेत गरे।
‘मानिसहरूमा अहिले एउटा बडो नकारात्मक भाष्य निर्माण भएकाे छ, जनतालाई निराश पार्ने, नेपाल अँध्यारो छ बस्न लायक देश छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ। म तपाईंहरूलाई यो ऐतिहासिक दिन आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षडयन्त्रबाट सावधान रहन अपिल गर्छु’, उनले भने, ‘नेपाल उज्यालो छ। धेरै सम्भावना छ । हाम्रो प्रकृति भूगोल, सम्पदा र जनशक्ति धेरै गर्न सकिन्छ यो विश्वास जनतामा जगाउनुछ हामीले एकताको बलमा नयाँ आत्मविश्वास जगाउने काम सुरू गरेको छ।’