नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ।
बालुवाटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनका अनुसार विधान सम्मेलन गर्नका लागि सात सदस्यीय विधान मस्यौदा समिति गठन गरिएकाे छ।
समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा छन् भने सचिवद्वय गणेश शाह र राम कार्की छन् रहेका छन्। समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गर्नेछ।
यसैगरी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो। स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ।
बैठकले यही पुस १६ गते सबै स्थानीय तहमा जनपरिचालन गरेर पार्टी रुपान्तरण अभियानको समापन गर्ने निर्णय गरेको छ।