ट्रम्प जनवरी ६ बिद्रोहमा संलग्न ठहर, कोलोराडोको मतपत्रबाट ट्रम्पको नाम आउट

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प कोलरोाडो राज्यमा चुनाव लड्न नपाउने भएका छन्। कोलोराडो राज्यको सर्वोच्च अदालतले  सन् २०२१ जनवरी ६ को राज्यविरूद्धको बिद्रोहमा उनी संलग्न रहेको ठहर गर्दै यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै २०२४ को चुनावमा ट्रम्पको नाम कोलोराडोको मतपत्रमा हुने छैन।

४-३ को बहुमतबाट भएको फैसलाको पक्षमा चार न्यायाधीश रिचार्ड एल गाब्रियल, मेलिसा हर्ट, मोनिका मार्केज र हुड रहे भने प्रधानन्यायाधीश ब्रायन बोटराइट र अन्य दुई न्यायाधीश कार्लोस स्यामोर र मारिया ई. बेर्कनकोटर विपक्षमा रहे। 

यो फैसलाले ०२४ को आम निर्वाचनमा ट्रम्पले कोलोराडोको १० कलेज इलेक्ट्रोल मत गुमाउने छन् । उनले कोलोराडोको यो मत बिना नै २७० कलेज इलेक्ट्रोल मत पुर्याएर जित्नुपर्ने हुन्छ।

ट्रम्पलाई संविधानको १४औं संशोधनको खण्ड ३ अनुसार राष्ट्रपतिलगायत कुनै पनि सार्वजनिक पदको उम्मेद्वार हुन अयोग्य ठहर गरिएको हो। संविधानको १४औं संशोधनको यो खण्डमा पदको सपथ लिएको कुनै पनि व्यक्ति (सिनेटर्स, प्रतिनिधिहरू, र अन्य सार्वजनिक अधिकारीहरू) अमेरिकाविरुद्ध "विद्रोह वा विद्रोहमा संलग्न" भएमा सार्वजनिक पद धारण गर्न नपाइने भनिएको छ। यो खण्ड टेकेर गरिएको फैसलाअनुसार ट्रम्पको नाम कोलोराडो राज्यको मतपत्रमा समावेश नहुनु भनेको उनी सन् २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको अमेरिकाविरूद्धको मागा विद्रोमा संलग्न हुनु हो।

अदालतको यो पैसला जनवरी ४ सम्मका लागि स्थगित गएको छ। ट्रम्प अमेरिकाको संघीय सर्वोच्च अदालतमा पुनरावेदका लागि जाने सम्भावनालाई ध्यानमा राखेर यो निर्णय गरिएको हुनसक्ने राजनीतिक पण्डितहरूले अनुमान गरेका छन्। 

यसैबीच ट्रम्पो चुनावी क्याम्पेनका प्रवक्ता स्टिभन चेङले यो निर्णयविरूद्ध मंगलबार राति नै पुनरावेदन गर्ने बताएका छन्।

सन् २०२४ को चुनाव तिब्र प्रतिस्पर्धात्मक हुने भएकाले  २७०को जादूगरी आँकडा पुर्याउन कोलोराडोको १० कलेज इलेक्ट्रोल मतको ठूलो महत्व छ । १८७६ यता भएका ३७  चुनावमा २२ पटक रिपब्लिकन, १४ पटक डेमोक्रेटलाई रोेजेको कोलोराडो १८९२ मा पिपुल्स पार्टी पक्षमा गएको थियो ।कोलोराडो २००८ यता नीलो रहदै आएको छ। बिचमा १९९२ मा नीलो रहेको थियो भने पछिल्लो चार दशकमा बाँकि वर्ष रातो रहेको थियो ।  

 

कोलोराडोको यो निर्णयलाई लिएर ट्रम्प समर्थक दक्षिणपन्थी रिपब्लिकन नेताहरूले तिब्र रोष प्रकट गरेका छन्। केहीले यो निर्णयलाई चुनावी धाँधलीको सुरूवात भनेका छन् भने केहीले अमेरिकी प्रजातन्त्रमाथिको आक्रमण भनेका छन्। ट्रम्प समर्थक यसै पनि रिसाएका छन्, यो निर्णयपछि अरू भड्किने सम्भावना बढेर गएको छ।  

उता, डेमोक्रेट नेताहरूले भने ट्रम्पलाई उचित सजाय दिएर कोलोराडोको सर्वोच्च अदालतले ढिलै भए पनि अमेरिकी संविधान र प्रजातन्त्रको रक्षा गरेको बताएका छन् । 

अमेरिकाका अन्य राज्यमा पनि ट्रम्पको नाम २०२४ को मतपत्रबाट बाहिर निकाल्ने प्रयास भएका थिए। मिशिगन, मिनसोटा र न्यू ह्याम्पसायरका अदालल ट्रम्पको पक्षमा उभिएका थिए। अहिलेसम्ममा ट्रम्पको विपक्षमा निर्णय दिने  कोलोरोडो पहिलो र एक मात्र राज्य हो। यस्तै मुद्दा अरू पनि थुप्रै राज्यमा अदालती प्रक्रियामा छन् । 

प्रकाशित मिति: : 2023-12-20 08:41:00

प्रतिकृया दिनुहोस्