प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलकाे शेयर खरिदबिक्रीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।
उनले आफू जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुबईमा रहेकै बेला एनसेलकाे शेयर खरिद बिक्रीको काम भएको भन्ने समाचार आएको र स्वदेश फर्कनासाथ यस सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताए।
‘एनसेल आजियटाको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर न्यून मूल्याङ्कन गरी खरिदबिक्री भएको तथा उक्त कारोबारमा करछलीको योजना गरिएको भन्ने समेतका विषयहरू विभिन्न सञ्चार माध्यममा प्रकाशन/प्रसारण भएपछि सो सम्बन्धमा विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको छ’, उनले भने।
यसले नेपालको राजस्व, लगानी र दूरसञ्चारको विकासमा पर्ने/पार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरी छानविन समिति गठन गरेकाे प्रधानमन्त्रीले जानकारी दिए।
एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गठित अध्ययन तथा छानविन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको समेत उनले बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘छानबिन समितिले नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, नेपाल राष्ट्र बैङ्क, आन्तरिक राजश्व विभाग र अन्तर्गतका करदाता सेवा कार्यालय र धितोपत्र बोर्डसँग समन्वय गरी कागजात र विवरण संकलन गर्ने र सोको विश्लेषण गर्ने कार्य गरिरहेको मैले बुझेको छु।’
नियामक निकायहरूले आ-आफ्नो क्षेत्राधिकारमा रही वैदेशिक लगानीसमेत रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको वैदेशिक लगानी, शेयर खरिदबिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्कलन समेतको कार्य गरिरहेकाे उनकाे भनाइ छ।
‘अध्ययन तथा छानविन समितिको यकीन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि उक्त राय सुझावसमेतको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ’, उनले भने, ‘यस प्रकरणमा कतै कसैबाट कानून विपरीतका काम कारबाही भए-गरेको पाइएमा कानूनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ।’