बालेनलाई प्रचण्डकाे प्रश्न- उपत्यकाभित्रकाे समस्या समाधानका लागि सिंहदबारमा कतिपटक बैठक भयो? (भिडियाे)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन साह कार्यक्रमकाे बीचमै उठेर हिँडेपछि असन्तुष्टि जनाएका छन्।

साेमबार ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको कार्यक्रममा बालेनले आफ्ना कुरा राखेर बालेन कार्यक्रमबाट हिँडेपछि असन्तुष्टि जनाएका हुन्।

कार्यक्रममा बालेनले काठमाडाैँ उपत्यकाकाे फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। बालेनले आफ्ना कुरा राखेर प्रधानमन्त्रीकाे जवाफ नसुनी हिँडे। त्यसपछि प्रचण्डले असन्तुष्टि पाेखेका हुन्।

उनले भने, ‘अघि बालेन्द्रजी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्नहुन्न। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

काठमाडाैँ उपत्यकाभित्रकाे समस्या समाधानका लागि सिंहदबारमा बैठक नभएकाे भन्दै प्रधानमन्त्रीले भने, ‘म उहाँलाई भन्न चाहन्छु चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई लिएर होस्, या तीनकुनेको कुरालाई होस्। चाहे उपत्यकाको फोहोर व्यवस्थापनको निम्ति काठमाडाैँ उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कतिपटक सिंहदबारमा बैठक भयो? के अहिलेको प्रधानमन्त्री जस्तो सकारात्मक र रचनात्मक ढंगले याे समस्या समाधान गर्न समन्वय गरेको अर्को कहीँ कसैले देख्नुभएको छ?’

प्रकाशित मिति: : 2023-12-18 13:11:00

प्रतिकृया दिनुहोस्