प्रवेश परीक्षा उत्तीर्ण भएपनि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनकी छोरी झरना पुनले एमबिबिएस पढ्न पाइनन्। छोरी एमबिबिएसमा भर्ना हुन नपाएपछि पुन परिवार तनावमा छ।
सबैका छोराछोरीले आफूसँग भएको सीप, क्षमता र सिर्जनाको प्रस्फुटन र उपयोग नेपालमै गर्नुपर्छ भनेर आविष्कार केन्द्र खोलेका महावीरकी छोरी आफैँ नेपालमा एमबिबिएस पढ्न नपाउने अवस्थामा पुगेकी छन्। सिधा हिसाबले भन्नुपर्दा अब उनी विदेशिनुको विकल्प छैन् या त अर्काे एक वर्ष कुर्नु पर्ने हुन्छ।
तर, महावीरसँग न त छोरीलाई विदेशमा पढाउन सक्ने पैसा छ, न त उनी छोरीलाई विदेशमा पठाउन चाहन्छन्। त्रिभुवन विश्वविद्यालयको आडैमा रहेको आविष्कार केन्द्रमा दर्जनौँ युवालाई आविष्कारको लागि प्रेरणा दिइरहेका महावीर एक किसिमको छट्पटीमा छन्।
महावीरको यही छटपटीलाई देखेर/बुझेर सांसद सुनिल शर्माले झरनालाई एमबिबिएस पढाउने घोषणा गरेका छन्। सांसद शर्मा काठमाडौँको सिनामंगलमा रहेको काठमडौँ मेडिकल कलेज र विराटनगरको नोबेल मेडिकल कलेजका मालिक हुन्। शर्माले यी दुई कलेजमध्ये झरनाले जुनमा पढ्न चाहन्छिन्, त्यसमा निःशुल्क पढाउने घोषणा गरेका छन्।
सांसद शर्मा झरनालाई आफ्नो कलेजमा निःशुल्क पढाउन तयार छन्। अनि झरना पनि शर्माले दिएको सुविधा लिन तयार छिन्।
तर, यसमा राज्यको नीति बाधक बन्यो।
किन?
एमबिबिएस पढ्नको लागि सुरुमा सम्बन्धित विषयबाट कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ। त्यसपछि चिकित्सा शिक्षा आयोगले लिने एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ।
प्रवेश परीक्षा उत्तीर्ण भएर मात्र सिधैं कलेज भर्ना हुन पाइँदैन। भर्नाको लागि सरकारले कोटा छुट्याएको हुन्छ। कोटामा योग्यता र छनोट गरिएको कलेजको अवस्थालाई आधार बनाएर विद्यार्थी छनोट गरिन्छ। छनोटमा पर्नेहरु एमबिबिएसको लागि आफूले छनोट गरेका कलेजमा भर्ना हुन्छन्। भने, बाँकीले प्रवेश परीक्षा उत्तीर्ण गरेपनि पढ्न पाउँदैनन्।
अहिले नेपालका २१ वटा मेडिकल कलेजहरुले एमबिबिएस पढाइरहेका छन्। कलेजको अवस्था र क्षमताको आधारमा सरकारले विद्यार्थीको कोटा निर्धारण गर्छ। सरकारले जति कोटा छुट्याएको हुन्छ, त्यहाँभन्दा बढी एक जना पनि भर्ना गर्न पाउने अनुमति मेडिकल कलेजहरुलाई छैन।
अहिले भएको त्यही हो।
यस वर्ष एमबिबिएस अध्ययनको लागि कूल १३ हजार ६ सय ९९ जनाले प्रवेश परीक्षा दिएका थिए। त्यसमध्ये ६ हजार ८ सय ३२ जना प्रवेश परीक्षामा उत्तीर्ण भए। ती मध्ये ‘मेरिट लिस्ट’को आधारमा १ हजार ९ सय २५ जनाले एमबिबिएस अध्ययनको लागि भर्ना अनुमति पाए। अर्थात्, देशभरका २१ वटा मेडिकल कलेजहरुको अवस्था र क्षमता हेर्दा ती कलेजले जम्मा १ हजार ९ सय २५ जनामात्र पढाउन सक्ने भए। अनि, चिकित्सा शिक्षा आयोगले त्यति नै कोटा खोल्यो। जुन सूचीमा महावीर पुनकी छोरी झरना पुन परिनन्।
उनीसँगै प्रवेश परीक्षा उत्तीर्ण भएका ४ हजार ९ सय ७ जनाले एमबिबिए पढ्न पाएनन्।
अब उनीहरु कहाँ जान्छन्?
‘मेरिट लिस्ट’मा नपरेकाहरुले यस वर्ष नेपालका कुनै पनि मेडिकल कलेजमा भर्ना हुन पाउने छैनन्। अर्थात, कुनै पनि मेडिकल कलेजलाई मेरिट लिस्टमा परेकाहरुबाहेक अन्यलाई भर्ना गर्ने अनुमति छैन।
यस्तो अवस्थामा पैसा हुनेहरु एमबिबिएस गर्न लागि विदेश जान्छन्। अरु बाँकीले कि त अर्काे वर्षसम्म कुर्छन् कि त डाक्टर बन्ने सपना नै त्यागेर अर्कै बाटो रोज्छन्।
यही बाध्यकारी अवस्था परिवर्तनको लागि बेला–बेलामा दुर्गा प्रसाईंहरुले आन्दोलन गरिरहेका हुन्। तर, सरकारले सुन्दैन। जसकारण देशको ठुलो युवा शक्ति विदेश वा अन्य क्षेत्रमा पलायन भएको छ।
अब महावीर पुनकी छोरीको पढाइ के हुन्छ?
सांसद शर्माले महावीर पुनकी छोरीको लागि निःशुल्क होस्टलसहित अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिने घोषणामात्र गरेका छैनन्, उनको संस्था ‘काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड’ चिकित्सा शिक्षा आयोगलाई झरना पुनलाई अध्ययन अनुमति दिनको लागि अनुरोध गरेर पत्र पनि लेखेको छ।
‘उहाँको छोरीलाई काठमाडौँ मेडिकल कलेज वा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमध्ये कुनै एक कलेजमा व्यवस्थापन कोटाअन्तर्गत छात्राबाससहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी गराउँदै त्यहाँबाट भर्नाको लागि आवश्यक अनुकुलता प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले चिकित्सा शिक्षा आयोगलाई भनेको छ।
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले भनेको व्यवस्थापन कोटा वर्षमा २/३ जना विद्यार्थीको लागि उपलब्ध गराइन्छ। यो भनेको मेरिट लिस्टमा नपरेका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवकका छोराछोरीलाई दिने सुविधा हो।
यदि चिकित्सा शिक्षा आयोगले महावीर पुनकी छोरीलाई व्यवस्थापन कोटा (म्यानेजमेन्ट कोटा)को लागि योग्य ठहराएमा झरनाले नेपालमै एमबिबिएस गर्न पाउनेछिन्।
तर, महावीर पुनकी छोरीमात्रै छैनिन्, सरकारको यो ‘आधि–नियम’का कारण झरनाजस्तै करिब पाँच हजारको ‘डाक्टरी सपना’ अलपत्र परेको छ।