जुम्लाकाे ताताेपानी गाउँपालिकाले ३३ सय घरकाे बिमा गरिदिएको छ। पालिकाका आठ वडाका ३ हजार ३ सय घरकाे पालिकाले नि:शुल्क बिमा गरिदिएको हो।
भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट घरमा हुन सक्ने हानीलाई ध्यानमा राखी बिमा गरिएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईंले बताए।
उनले भने, 'भूकम्प, आगलागी, चट्याङ र बाढीपहिराे आदिबाट घरमा क्षति भएकाे खण्डमा बिमितले ५ लाख क्षतिपूर्ति पाउनेगरी बिमा गरिएको हो। यसबाट क्षति भइहालेको खण्डमा पालिकालाई कम नोक्सानी हुने र क्षतिपूर्ति पाउन सकिने अनुमान छ।'
जुम्लामा रहेकाे शिखर इन्स्योरेन्ससँग सम्झाैता गरी बिमा लागू भएकाे अध्यक्ष चाैलागाईंले जानकारी दिए। उनका अनुसार विपन्न नागरिककाे अवस्था मध्यनजर गरेर बिमाकाे सम्पूर्ण खर्च पालिकाले बेहाेरेकाे हो।
'बिमा गरेबापतकाे रकम हरेक वर्ष गाउँपालिकाले तिर्नेछ, भाेलिबाट पालिकाका प्राविधिक प्रत्येक घरकाे अवस्था बुझ्न र तथ्य संकलनमा जुट्नेछन्,' अध्यक्ष चाैंलागाईंले भने, 'पाँच लाखभन्दा बढीकाे बिमा गर्न चाहने घरधनीले आफैँ बिमा गर्नुपर्नेछ।'
याेभन्दा अगाडि घरहरुमा क्षति हुँदा प्रदेश, संघ सरकार र अन्य कुनैठाउँबाट सहयाेग नजुटेपछि विपन्न नागरिकले घरमा क्षति हुँदा दु:ख नपाउन भन्ने उदेश्यले बिमालाई अघि सारिएकाे छ।
पाँच लाख बराबरको बिमाका लागि प्रतिघर ४ सय ६६ रुपैयाँ शुल्क लाग्ने शिखर इन्स्योरेन्सका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए। घरमा आगलागी, भूकम्प, बाढीपहिराे र चट्याङकाे जाेखिम हुने हुँदा बिमा गर्नु उपयुक्त हुनेछ।