शरीर नचलेर के भो त, ‘जुनून्’ चाहिन्छ जिन्दगी जिउन (भिडियोसहित)

‘जे काम चूनौतीपूर्ण हुन्छ, त्यही काम गर्न मन लाग्छ’

कुनैबेला धेरै पढ्ने सपना बुनेकी गायत्री अहिले समाजका लागि एक उदाहरणीय महिला बनेकी छिन्। आफूले पढ्न नपाए पनि उनी आफूजस्तै ह्वीलचियरका भाइबहिनीहरूलाई पढाउन आवाज उठाइरहेकी छिन्।  


दसैँको रमझम थियो। सुन्दरीजल माँकलकी गायत्री दाहाल घर–नजिकै पिङ खेल्दै थिइन्। रमाउँदै–हाँस्दै पिङमा मच्चिदै थिइन् उनी तर त्याे खुसी धेरै–बेरसम्म टिक्न सकेन। अचानक गायत्री पिङबाट लडिन्। हुँइर्किँदै गरेकाे पिङबाट भुइँमा बजारिएकी गायत्री रगताम्य भइन्। हाेस गुमाइन्।

त्यसपछि के भयाे उनैलाई थाह छैन।

‘पिङबाट लडेपछि मलाई मेराे परिवारले वीर अस्पताल पुर्याउनुभएछ’, अस्पताल पुगेकाे कुरा गायत्रीले पछि मात्र थाह पाइन्।

वीर अस्पतालमा भर्ना भएकाे २० दिनपछि गायत्रीकाे चेत फर्कियाे। पहिलाेपल्ट आँखा खुल्दा अगाडि आमाबुबा देखिन्। खुसी हुँदै अस्पतालकाे सेताे बेर्डबाट उठ्न कयाैं प्रयत्न गरिन् तर सकिनन्।

आफ्नो खुट्टामा उभिनका लागि गायत्रीले गरिरहेको त्याे संघर्ष देखेर डाक्टरले उनलाई भन्न थाले, ‘तपाईंकाे शरीरकाे पछाडि पट्टीकाे भाग ड्यामेज भएकाे छ। यसकाे कुनै उपचार छैन।’

उनी ‘मेरुदण्ड पक्षघात’को सिकार भएकी थिइन्।

डाक्टरकाे कुराले भक्कानिदै राेइरहेकी गायत्रीले बुझिसकेकी थिइन्, अब उनी कहिल्यै उठ्न र हिँड्न सक्दिनन्। उनी ‘मेरुदण्ड पक्षघात’को सिकार भएकी थिइन्। र, त्यो पहिलो दिन थियो गायत्रीले आफूलाई लाचार सम्झिएको।

त्याेबेला मेरुदण्ड पक्षघातका बिरामीहरू कमै हुन्थे। धेरै जनाले त त्याे शब्द पनि सुनेका थिएनन्। त्यसैले गायत्रीलाई लाग्याे उनी ठुलै राेगबाट ग्रसित भएँ।

जीन्दगीभर ह्वीलचियरमा बस्नुपर्ने पीडाबाट उम्किन उनले कयौंपटक काेसिस गरिन्। कानमा लगाएको सुन बेचेर भएपनि आफूलाई मार्न परिवारसँग आग्रह गरिन्। तर, मृत्युपनि सजिलै कहाँ मिल्छ र?

‘सपाङगबाट म अपाङ्ग भएकी थिएँ। मैले कसरी आफूलाई सम्हालेँ त्यो त मलाई नै थाहा छ’, आफूले भोगेको पीडालाई सुनाउँदै भावुक हुन्छिन् गायत्री।

६ महिना अस्पतालको बसाइँपछि उनी घर फर्किइन्। तर, बाल्यकाल बिताएको त्यही घर नै उनका लागि बिरानो बनेको थियो।

जीन्दगी देखेर आजित भइसकेकी थिइन् गायत्री। उनी त मात्र संसार त्याग्न चाहन्थिन्। त्यसैले गायत्री एक्लै दिन बिताउँथिन्। छाेरीकाे त्याे अवस्था देखेर बुबाआमाको मन पनि कुँडिइरहेको थियो।

म जति रोएँ, मेरो परिवार पनि रोइरह्यो तर मेरो अगाडि देखाउनु भएन’, विगतलाई कोट्याउँदै उनले भनिन्, ‘तर सधैं मलाई उहाँहरूले साथ दिइरहनुभयो।’

परिवारको माया र हौसला पाइरहेकी थिइन् गायत्रीले। तरपनि उनले सहनुपरेकाे पीडा त कहाँ कम हुन्थ्याे र? एकान्तमा बसेर सधैं राेइरहन्थिन्। ‘म दुखी भएपछि मेरो बाआमाले मलाई मजस्तै भएकाहरूकाे संस्था राख्ने निर्णय गर्नुभयो’, उनले सुनाइन्।

घरपरिवारकै कारण गायत्री जोरपाटीकाे नारायणटारमा रहेको ‘राइडर चेसार हाेम’ (अपाङ्गहरू राख्ने संस्था) मा पुगिन्।

१३ वर्षको उमेरमा परिवारबाट छुट्टिँदा उनलाई लागिरहेको थियो सायद उनी परिवारको लागि ‘बोझ’ भएँ।

‘त्योबेला मेरो मनमा नकारात्मक सोच आयो। मलाई स्याहार्न नसकेर टाढा पठाइदिएको जस्तो लाग्यो तर उहाँहरूले मेरै लागि गर्नुभएको थियो’, परिवारबाट अल्ग्गिनुको कारण खुल्लाउँदै उनले भनिन्, ‘घरमा मेरो ह्वीलचियर गुड्ने बाटो नै थिएन।’

पहिलोपटक परिवारबाट छुट्टिएर बस्न थालेकी उनले चेसारमा आफूजस्तै धेरै केटाकेटीहरू देखिन्। अनि आफ्नो मन सम्हाल्दै सोच थालिन्, ‘म मात्र होइन रहेछु। मजस्तो त धेरै साथीहरू रहेछन्।’

आफूजस्तो ह्वीलचियरमा गुड्ने साथीहरूसँग विस्तारै घुलिन थालिन् गायत्री अनि आफूले आफैंलाई ‘मोटिभेट’ गर्दै अगाडि बढ्ने साेचिन्।

र, त्यही निर्णय बन्याे गायत्रीकाे लागि जीन्दगीकाे ‘टर्निङ प्वाइन्ट’।

गायत्रीको पढ्ने रहर

सानैदेखि उनको पढाइमा रुची थियो। सधैं स्कुल जान्थिन्, पढ्नमा पनि माहिर थिइन्। धेरै पढेर ठुलो मान्छे भन्ने उनको ‘ठुलै’ सपना थियो। तर, उनको त्यो एक घटनाले चकनाचुर बनायो।

पिङबाट लड्दा कक्षा– ७ मा पढ्दै थिइन् १२ वर्षकी गायत्री। त्यसैले उनी आफ्नो पढाइलाई पूरा गर्न चाहन्थिन्। गायत्रीको पढ्ने रहर देखेर उनलाई संस्थाले ‘खगेन्द्र नवजीवन केन्द्र’ (अपाङ्गताहरूका लागि स्थापना भएको स्कुल’मा भर्ना गरिदियो। कक्षा– ७ देखि पढ्न थालिन् उनी।

‘खगेन्द्रमा मात्र ७ कक्षासम्म थियो। त्यसैले मैले कक्षा दोहोर्याएँ, उनी भन्छिन्, ‘मसँग अर्को विकल्प पनि त थिएन।’ एक वर्ष खगेन्द्रमा पढेर बिताएपछि अन्याेलमा परिन् गायत्री।

अब कहाँ पढ्ने?

साेच आयाे ‘चामुण्डा’ स्कुलमा पढ्ने। राइडर चेसारबाट नजिकै थियाे चामुण्डा। मात्र पाँच मिनेटकाे बाटाे।

तर, चामुण्डामा पढ्ने उनकाे रहर पूरा हुन सकेन। उनलाई पढाउन मानेन चामुण्डा स्कुल। ‘मलाई त्यहाँ किन भर्ना लिएन त्यो थाह छैन तर अपाङ्ग भएर हो कि?’ चामुण्डामा पढ्न नपाएको कुरा सम्झिएर अझै झस्किन्छन् गायत्री।

चामुण्डा स्कुलमा पढ्न नपाएकाे कारण दुखी थिइन् उनी। एक्लै टोलाएर बस्थिन्। एकदिन उनी बसेकाे संस्थामा ‘युके’की फिजोयोथेरापिस्ट ‘ओना रो’ आइपुगिन्। गायत्रीसँग भेटिन्। अनि उनीसँग साेध्न थालिन्, ‘के छ तिम्राे इच्छा?’ उनले जवाफ फर्काइन्, ‘मलाई पढ्नु मन छ। पढाइदिनूस् दिदी।’

गायत्रीको पढाइप्रतिको लगाव देखेर ओनाले पढाउने आश्वासन दिइन्। गायत्रीकाे लागि उनी ‘महेन्द्र भवन स्कुल’मा बुझ्न गइन्। तर, स्कुलले गायत्रीलाई ‘नो–नो’ भन्दै पढाउन अस्वीकार गर्याे।

दुई वटा स्कुलबाट ‘रिजेक्ट’ भएकी गायत्रीलाई अब पढ्न पाउँदिन कि भन्ने डरले सताउन थाल्याे। गायत्रीकाे त्याे डरलाई ओनाले बुझिसकेकी थिइन्। त्यसैले उनी फेरि ज्ञानेश्वरकाे ‘मर्टियन्स मेमोरियल बोर्डिङ’ स्कुल गइन्। त्यहाँ भने गायत्रीले पढ्न पाइन्।

त्यही पनि फेरि कक्षा–सातबाटै।

कक्षा–८ बाट पढ्ने उनकाे रहर त थियाे तर बाेर्डिङ स्कुल पढ्नु उनकाे लागि सजिलाे कुरा थिएन। त्यसैले उनले पास गरिसकेकाे कक्षा दाेहाेर्याइन्।

‘सरकारी स्कुलबाट पढेर आएकी थिएँ। म अंग्रेजीमा कमजोर थिएँ। बोर्डिङ स्कुलमा पढ्नु मेरो लागि च्यालेन्जिङ थियो, त्यसैले म फेरि ७ कक्षामा नै भर्ना भएँ’, उनले बिएल नेपाली सेवासँग भनिन्।

सहिद स्मारक आवासीय विद्यालयमा भर्ना भएपछि खुसी थिइन् गायत्री। स्कुल पढ्नका लागि उनी जाेरपाटीबाट डेरा सरेर ज्ञानेश्वर पुगेकी थिइन् भाइहरूसित।

त्योबेला ‘डाइपर’ भन्ने थिएन। ‘पाइप’ लगाउनुपर्छ भन्ने पनि थाहा थिएन। तर, अपाङ्गता भएकाहरूको शरीरबाट पिसाब ‘लिक’ भइरहन्थ्यो। त्यसलाई व्यवस्थित गर्ने उपाय पनि कसैसँग थिएन। गायत्रीले भने ढाड पछाडि ‘बोतल’ बाँधेकी थिइन्। तर, बोतलबाट पनि चुइरहन्थ्यो पिसाब।

‘मेरो बोतलबाट पिसाब झरिरहँदा साथीहरूले गायत्री तिम्रो पानी चुहियो भन्थे तर मलाई थाहा थियो पिसाब चुहिएको भनेर अनि म भन्थें मेरो बोतल नै त्यस्तो छ चुहिरहन्छ’, उनी सम्झिन्छिन्।

स्कुल पढ्दै गरेकी गायत्रीको फेरि ढाडको अप्रेसन हुने भयाे। उनी खुसी थिइन्। मनमा आशा पलाउन थाल्याे। अप्रेशन गर्न उनी परिवारसँग ‘टिचिङ’ पुगिन्। तर, त्यहाँबाट उनी निराश भएर फर्किइन्।

‘मेरो अप्रेसन भवानी नरसिंह राणाले गर्ने कुरा थियो तर पाँच वर्ष कटिसकेकाे कारण अप्रेसन हुन सकेन’, उनकाे अप्रेसन गर्न धेरै ढिला भइसकेकाे थियाे। त्यसपछि आजीवन ह्वीलचयरको जीन्दगीलाई अपनाउन बाध्य भइन् गायत्री।

सहिद स्मारकमा पढेको तीन वर्षपछि २०४८ सालमा एसएलसी दिन नक्सालकाे ‘श्री नन्दी रात्रि माध्यमिक विद्यालय’ पुगिन् उनी। तर, दुर्भाग्यवस उनकाे स्कुलकाे गेटमै पुगेर ह्वीलचयरकाे पाङ्ग्रा बिग्रियाे। एक घण्टासम्म त उनी त्यही अल्झिरहिन्।

‘साथीहरू परीक्षा दिनका लागि स्कुलको गेटभित्र छिरिसकेका थिए। तर त्यतिखेरै मेरो ह्वीलचियरको पाङ्ग्रा खुस्किएको थियो’, एसएलसीको परीक्षा दिँदा भोग्नुपरेको दु:ख उनले खुलाइन्।

कक्षा– १० काे परीक्षा दिएकाे ६ महिनापछि रिजल्ट आयाे। गायत्री एउटा विषयमा फेल थिइन्। त्यही ह्वीलचियरकाे कारण। ‘त्योबेला मेरो चियर नबिग्रिएको भए म पनि पास हुन्थें’, उनी सुनाउँछिन्, ‘जसाेतसाे पास गरें तर १ वर्ष लस् भयो।’

२०४९ सालमा एसएलसी पास गरेकी गायत्रीलाई कलेज जाने पनि इच्छा थियाे। तर, त्याेबेला अपाङ्गमैत्री कलेजहरू थिएन। त्यसैले गायत्रीको कलेज पढ्ने धाेकाे पनि कहिल्यै पूरा भएन।

गायत्रीको हिम्मत

एसएलसी सक्किएपछि उनी परिवारसँग समय बिताउन थालिन्। तर, उनभित्र जुनून थियाे आफूजस्तै ‘स्पाइनल’ भएका भाइबहिनीहरूलाई हकहितका लागि आवाज उठाउने। त्यसैले उनी हातमा–हात राखेर घरमा बस्न सकिनन् अनि फेरि नारायणटारमा फर्किइन्।

पुरानै संस्था फर्किएकी गायत्रीले मेरूदण्ड पक्षघात भएका मानिसहरूका लागि केही गर्ने साेच बनाइन्। र, सन् २००९ सालमा ‘नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस’को स्थापना गरिन्। त्याेबेला उनी संस्थापक सदस्य थिइन्।

‘४-५ जना मिलेर खोलेको त्यही संस्थाबाट हामीले भाइबहिनीहरूलाई उपत्यकाबाहिर खेल्न लैजान्थ्याे। उनीहरूलाई मोटिभेट गराउँथ्याैं’, गायत्रीले सुनाइन्।

केही वर्ष संस्थामा काम गरेपछि उनी उपाध्यक्ष भइन्। त्यसपछि संस्थाकै लागि बाँच्न थालिन् गायत्री। उनलाई घरभन्दा प्यारो थियो संस्था।

परिवारबाट टाढिएर एक्लै बस्न थालेपछि उनले कहिल्यै नपाएको दु:ख पाइन्। दुई हात जोड्नसमेत हाम्मेहाम्मे पर्थ्यो गायत्रीलाई। तर, कहिल्यै उनले परिवारलाई दु:ख देखाइनन्।

आफूले भोगिरहेको दु:ख सधैं लुकाइरहिन्। ‘मैले धेरै दु:ख खेपे पनि परिवारको अगाडि कहिल्यै राेइनँ। मेरो कारण परिवार दु:खी होस् भन्ने म चाहदिनँ थिएँ’, विगतलाई कोट्याउँछिन् गायत्री।

एक्लै अगाडि बढ्ने सोचेकी गायत्री कयौं रात त खाली पेट नै निदाइन्। तर, कसैको अगाडि झुकिनन्, बरू हावा खाएरै पेट भर्थिन्।

‘जब म भोको हुन्थें, हावा खाएरै पेट भर्थें अनि काम गर्न अगाडि बढ्थें’, उनी भन्छिन्, ‘कोठाको झ्याल खोल्थें अनि सररर चलिरहेको हावालाई मुख खोलेर निलिदिन्थें, त्यसरी साँच्चै पेट भरिन्थ्यो।’

भोक तिर्खा बिर्सिएर सधैं संस्थाका लागि अघि बढिरहन्थिन् गायत्री। त्यहीबेला उनी नेपाल अपाङ्ग संघ काठमाडाैं जिल्लाकी सदस्य भइन्, त्यही पनि आजीवन।

आफ्नोभन्दा पनि अरूको भविष्यकाे चिन्ता लिइरहन्थिन् उनी। त्यसैले एकदिन गायत्रीले नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टसकाे अध्यक्ष बन्ने सोचिन् आनि आफूले बुनेको योजना साथीहरूलाई पनि सुनाइन्।

त्यसपछि उनी संस्थाकी अध्यक्ष भइन्।

संस्थाको अध्यक्ष भएपछि उनीमाथि झनै जिम्मेवारी थप्पिदै गयो। तर, कत्ति पनि ढगमगाइनन् गायत्री। सधैं आत्मविश्वासका साथ अगाडि बढिरहिन्।

उनी भन्छिन्, ‘जुन काम चुनौतीपूर्ण हुन्छ, मलाई त्यही काम गर्नु मनलाग्छ। त्यसैले म कहिल्यै डराइनँ।’

संस्थाकी अध्यक्ष भइसकेपछि उनले संस्थाका भाइबहिनीहरूलाई विदेश खेल खेलाउन लगिन्। उनीसहित ह्वीलचियर बास्केट बल खेल्न १३ जनाको टोली बङ्गलादेश गएका थिए।

विभिन्न देशहरूसँग प्रतिस्पर्धा गरेकाे गायत्रीकाे टिम प्रतियाेगितामा ‘दाेस्राे’ भएर स्वदेश फर्कियाे। ‘खेलमा प्रथम हुन्छौँ भनेर आश गरेकी थिएँ तर हुन सकिएन दु:ख लागेको थियो’, उनी भन्छिन्, ‘तर, हाम्रा भाइबहिनीहरू राम्राे प्रदर्शन गरेका थिए।’

स्पाइनल भएका भाइबहिनीहरूलाई खेल खेलाउन धेरै ठाउँ पुगिन् गायत्री। तर, सबैभन्दा उनकाे यादगार ठाउँ बन्याे गाेरखा। ‘म भाइबहिनीहरूसँग धेरै ठाउँ पुगेँ तर गाेरखा दरबार मेराे लागि स्मरणयाेग्य बन्याे’, उनी सम्झिन्छिन्, ‘त्यो मन्दिर पुग्न तीन सय  सिँढी चढ्नुपथ्यो। त्यहाँ पुग्दा मैले सगरमाथा चढेकाे महसुस गरेँ। धेरै खुसी भएँ।’

आफूमाथि रहेको संस्थाको रेखदेखमा पोख्त थिइन् उनी। तर, २०७६ सालमा अचानक उनकी आमा जयन्त्री दाहालको निधन भयो। आमाको निधनपछि गायत्री छानाबाट खसेझैं भइन् अनि आमासँग बिताएका दिनहरूलाई स्मरण गर्दै रुन थालिन्।

‘आमाले सधैं मलाई संस्थाको पछि मात्र नलाग्। आफ्नो भविष्यको बारेमा पनि सोच् भनेर सम्झाइरहनुहुन्थ्यो’,स्वर्गीय आमालाई सम्झिएर भावुक हुँदै उनी सुनाउँछिन्, ‘मैले आमालाई वचन दिएकी थिएँ उहाँकाे सेवा गर्छु भनेर तर अपसोच सकिनँ।’

संस्थामा एक कार्यकाल बिताएपछि उनले अध्यक्षको जिम्मेवारी आफ्नै टिमलाई दिइन्। त्यसपछि उनी गोकर्णमा बस्न थालिन्।

राजनीति मोह

नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टसबाट बाहिरिपछि अन्योलमा परेकी गायत्रीले राजनीतिमा पाइला टेकिन्। राजनीतिमा छिरेपछि उनले धेरैजना मानिसहरूसँग संगत गरिन्। र, अपाङ्गता भएकाहरूलाई समाजमा छुट्टै नजरले हेरिरहेकाे कुरा पनि उनले राम्रैसँग बुझिन्।

सोचेजस्तो हुँदो रहेनछ राजनीति। ‘अपाङ्गताहरूलाई न्याय दिन राजनीतिमा आएकी थिएँ तर सत्यको बाटो हिँड्दा सबैजनाको साथ र सहयोग नपाइने रहिछ’, उनी गुनासो पोख्छिन्, ‘हामीाहरूलाई हेर्ने नजर नै फरक हुँदाे रहिछ।’

राजनीतिमा लागेकी गायत्री नेपाली कांग्रेसबाट प्रदेश सदस्य भइन्। तर, अब उनी सांसद हुन् चाहन्छिन् र आफूजस्तै अपाङ्गता भएकाहरूका लागि आवाज उठाउन चाहन्छिन्। गायत्री भन्छिन्, ‘अपाङ्गताहरूको मर्म अपाङ्गले नै बुझ्न सक्छ। त्यसैले म उहाँहरूका लागि केही गर्न चाहन्छु। त्यसका लागि मलाई नेपाली कांग्रेसले साथ दिनुपर्छ।’

राजनीतिमा डुब्दै थिइन् गायत्री तर उनले एकाएक ‘खगेन्द्र नवजीवन केन्द’मा भइरहेको बेथितीबारे थाह पाइन्। ‘कुनै सयम म पनि त्यही बसेर हुर्किएँ त्यसैले त्यो ठाउँको मलाई माया लाग्छ’, उनी भन्छिन्, ‘संस्थाका भाइबहिनीहरूले म कहाँ आएर त्यहाँको बेथितीबारे सुनाएका थिए। त्यसपछि मैले पनि सहयोग गर्ने निधो गरें।’

खगेन्द्र नवजीवनभित्र भ्रष्टाचार भइरहेको कुरा बाहिरिरहेको थियो। त्यसको विरोध गर्न गायत्री पनि त्यहाँ पुगेकी थिइन्। ‘भ्रष्टाचार गर्न हुँदैन, कसैलाई ठग्न पाइँदैन’ भन्दै आवाज उठाइरहेकी थिइन् गायत्री। तर, सत्यकाे पक्षमा बाेलिरहँदा उनले थप्पड खाइन्। त्यही पनि पुरुषको हातबाट।

खगेन्द्र नवजीवनमा बस्दैआइरहेका दानबहादुर थिङले गायत्रीलाई खुलेआम हिर्काएका थिए। तर पनि केही बाेलेनन् संस्थाका कर्मचारीहरू।

‘उनी कसैको इसारामा चलिरहेको कुरा मलाई राम्रोसँग थाहा थियो तर उसले आमासम्मानको मान्छेलाई थप्पड हान्छ भनेर चाहिँ सोचेकी थिइनँ’, मंसिर १ गते आफूसँग घटेको कुरा सम्झदै उनले भनिन्, ‘उनी पनि अपाङ्ग नै हुन्। तर, म क नम्बरको उनी घ नम्बरको।’

दानबहादुरकाे थप्पडले दुई दिन थला परिन् गायत्री।

खगेन्द्र नवजीवनले गरिरहेकाे भ्रष्टाचार र मनाेमानीलाई राेक्न आवाज उठाइरहँदा बिना गल्ती कुटाइ खाएपछि उनी महानगरीय प्रहरी वृत्त बौद्ध पुगिन्। उजुरी दर्ता गरिन्।

दानबहादुर प्रहरीकाे फन्दामा परे। तर, उनलाई खगेन्द्र नवजीवनले १० हजार धराैटीमा छुट्यायाे।

‘मैले दानबहादुरविरुद्ध महिला आयोगमा पनि उजुरी दिएकी छु तर अहिलेसम्म केही भएको छैन’, आक्रोशित हुँदै गायत्री भन्छिन्, ‘महिलालाई कुट्ने अधिकार पुरुषसँग छैन। उसलाई कारबाही हुर्नैपर्छ।’

सत्यकाे बाटाेमा हिँड्दा कुटाइ खाएकी गायत्री अहिले पनि आफ्नाे कुरामै अडिग छिन्। जस्ताेसुकै परिस्थितीमा पनि न्यायकाे लागि लड्न छाड्दिनन्।

‘मैले गलतकाे विराेध गर्दा र न्यायकाे लागि बाेल्दा थप्पड खाएँ तर हार मानेकी छैन’, जीन्दगीलाई संघर्ष बताउँदै उनी भन्छिन्, ‘जीवनमा धेरै दु:ख त सहें भने त्यो थप्पड मेरो लागि के पो थियो र? मैले मेरो अडान अझै छाडेकी छैन। सत्यकाे बाटाे हिँडिरहनेछु।’

कुनै समय धेरै पढ्ने रहर भएपनि कलेजको आँगन टेक्न नपाएकी गायत्री अहिले स्पाइनल भएका भाइबहिनीहरूलाई पढाउनका लागि दिनरात खटिरहेकी छिन्। त्यसका लागि उनले गोकर्णमा ‘नवजीवन संगठन नेपाल’ स्थापना गरेकी छिन्। जसबाट उनले अपाङ्गता भएकाहरूलाई उद्धार गरिरहेकी छन्।

‘मैले पढ्न नपाएपनि मजस्ता भाइबहिनीहरूले धेरै पढ्न पाओस्’, संगठनकी अध्यक्षसमेत रहेकी गायत्री भन्छिन्, ‘मेरो जीवनको लक्ष्य भनेकै अब स्पाइनल भएका केटाकेटीहरूलाई न्याय दिनु र उचित शिक्षा दिलाउनु हाे।’

प्रकाशित मिति: : 2023-12-25 20:30:00

प्रतिकृया दिनुहोस्