प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले एनसेल बिक्रीका सम्बन्धमा अहिलेसम्मको यथार्थताबारे प्रधानमन्त्रीलाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
उनका अनुसार यसबारे प्रधानमन्त्रीलाई पत्र पठाएर छलफलका लागि मिति तय गर्ने निर्णय भएकाे छ।
नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा सो कम्पनीको शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको आशङ्का गर्दै समितिका सदस्यहरूले यससम्बन्धमा सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने बताए।
यता सरकारले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको छ।
मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका छन्।