सोती घटनाः २४ जनालाई जन्मकैदको फैसला

तस्बिरः नवराज बिक
तस्बिरः नवराज बिक

रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा २४ जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार फैसला गर्दै २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो। 

न्यायाधीश खड्गबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल,  तिलक चन्द, हर्कबहादुर मल्ललाई जन्मकैदको सजाए सुनाएको छ। 

यस्तै जन्मकैदको साजय पाउनेमा विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्।

यसअघि धरौटीमा छुटेका ८ जनाले सफाइ पाएका छन्। 

तीन वर्षअघि २०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या भएको थियो। 

उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए।

दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।

घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। 

घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। 

(नाेट : यसअघि २४ हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ।) - सम्पादक

प्रकाशित मिति: : 2023-12-05 18:44:00

प्रतिकृया दिनुहोस्