तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले २०७८ कात्तिकमा नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष बनाएर युवराज अधिकारीलाई नियुक्ति गर्दा भनेका थिए, ‘नेपाल एयरलाइन्सको रुपान्तरणका लागि उहाँ (युवराज) जस्ता अनुभवी नेतृत्वको खाँचो छ।’
तर निगमका अधिकारी र मन्त्रीबीचको त्यो विश्वास अनि भरोसा आठ महिना पनि टिकेन। आले आफ्नै स्वभावका थिए, पदीय मर्यादका अघि आफ्नै हठ र स्वभाव छोड्न नसकेका मन्त्री आलेले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगे, जसरी नियुक्ति गर्दा उनले प्रस्ताव गरेका थिए।
तर मन्त्रिपरिषदको त्यो निर्णयलाई केही दिनमै सर्वोच्च अदालतले उल्टाइदियो। अनि फेरि अधिकारी निगममा प्रवेश गरे। यसपालि झन् बढी ‘शक्ति’ र ‘दम्भ’ लिएर, किनकि उनीसँग अदालतको आदेश थियो।
र, अन्तत: आफैँले रोपेका अधिकारी त्यो मन्त्री आलेमाथि बिझाइरहने काँडा बने।
त्यसयता निगमभित्र उनको मनोमानी र सर्वेसर्वा कसैले पनि रोक्न सकेको छैन। न सरकार न, मन्त्री। उनको त्यही ‘दादागिरी’ सहन नसकेका कर्मचारीहरू अहिले उनलाई नै निगममा ‘प्रवेश निषेध’ गरिरहेका छन्।
बाहिरिइसकेकालाई भित्र्याएपछि
खासमा त्योबेला उनले निगमबाट अनिवार्य अवकास पाइसकेका थिए। त्यो बेलासम्म उनले निगमभित्रको ‘आर्थिक विभाग’ सम्हाल्दा सम्हाल्दै उमेरहदका कारण उनले अनिवार्य अवकास पाएका थिए। अवकास पाएको एक वर्षपछि मन्त्री आलेले उनलाई भित्र्याएका थिए। त्योबेला निगमको नेतृत्व तत्कालीन महाप्रवन्धक डिमप्रसाद पौडेलले सम्हालिरहेका थिए।
आफूभन्दा अघिका मन्त्री योगेश भट्टराईले जिम्मेवारी सुम्पेका पौडेल आलेका आँखामा बिझाइरहेका थिए। अनि उनले अवकाश पाइसकेका पूर्व कर्मचारीलाई त्यहाँ भित्र्याउन ठूलै कसरत गरे।
त्यसको अर्को पाटो गाँसिएको थियो, अधिकारी र नेता झलनाथ खनाल। एउटै जिल्ला निवासी भएको र निगमको अर्थ विभाग पनि सम्हालिसकेका कारण खनालको नजरमा अधिकारी परिसकेका थिए। उनकै जोडबलमा मन्त्री आलेले अधिकारीलाई नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए।
त्यो समयमा पौडेलको विरोधमा कर्मचारीहरूले आन्दोलन थालेका थिए। निगमलाई ‘कम्पनी मोडेलमा लैजाने’ कसरत गरिरहेका पौडेलविरुद्ध कर्मचारीहरूले त्योबेला करिब १२० दिनसम्म आन्दोलन गरेका थिए। निगमको ट्रेड युनियनसँग वार्ता गरेर त्यो आन्दोलन आलेले नै मत्थर पारिदिएका थिए।
लोकसेवा उत्तीर्ण गरेर चौथो तहबाट जागिरमा छिरेका अधिकारीले निगमभित्रै लगभग ३४ वर्ष दुई महिना दुई दिनसम्म काम गरे। त्योबीचमा उनले विभिन्न चारवटा विभागीय निर्देशकको जिम्मेवारी पनि निभाए।
राजनीति शास्त्रमा स्नातकोत्तर र बिएल अध्ययन गरेका उनी अवकाश पाउँदा बढुवा हुँदै आठौँ तहसम्म पुगेका थिए। वर्षदिन अघि मन्त्री आफैँले रुचाएर लगेका अधिकारी त्यसपछि भने पूरै सरकारमाथि भारी हुन थाले।
स्थिति यहाँसम्म पुग्यो कि आफैँले भित्र्याएका अधिकारीलाई त्यो बेला मन्त्री आलेले अश्लील गालीगलौज गर्दै आफैँले लखेट्नुपर्ने बाध्यता आइलाग्यो।
मन्त्री आलेसँग सम्बन्ध बिग्रिसकेको थियो। मन्त्रीले आफूलाई हटाउन लागेको सुइँको पाएपछि त्योबेला आफूलाई मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै अधिकारीले एउटा अडियो नै सार्वजनिक गरिदिएका थिए। जसमा मन्त्री आलेले अधिकारीलाई मुख छोडेरै तथानाम गालीगलौज गरेको सुन्न सकिन्छ।
त्यो भनेको नेपाल एयरलाइसन्सले साउदी अरेबियाको रियादमा उडान भर्ने बेलामा अधिकारी आफैँले मन्त्री आलेलाई अटेर गर्दै त्यहाँ लगेको टोलीका कारण थियो। जहाँ अधिकारीले एमालेका नेपाल महेस बस्नेतलाई समेत अथिति बनाएर त्यही उडानमा रियाद लगेका थिए।
त्योबेला भर्खरै एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी बनेको थियो। र नेपाली काँग्रेससँग मिलेर सरकारमा गएका थिए। माधव नेपालतिर सरेका आले त्यही सरकारमा मन्त्री भएका थिए।
त्यसअघि मन्त्री आलेले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निजी कम्पनीलाई दिन चाहेका थिए। तर अधिकारीले मानेनन्। त्यहीबेला मन्त्री आलेले अधिकारीलाई बेस्सरी गालीमात्रै गरेनन्, ढोका थुनेरै हातै उठाएका थिए।
त्यसको केही महिनापछि मन्त्री आलेलाई नै उनको पार्टी नेकपा एकीकृत समाजवादीले फिर्ता बोलायो र जीवनराम श्रेष्ठलाई मन्त्री बनायो।
त्यसपछि पनि अधिकारीका लफडाहरू अझै शान्त भएनन्।
अहिले फेरि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीसँग निकटता गाँसेर उनले निगमलाई थिलोथिलो बनाइरहेका छन्।
किराँतीसँग ‘हेट एण्ड लभ’, कर्मचारीहरूसँग लफडै-लफडा
निगमको अर्थ विभागमै कार्यरत हुँदा अधिकारीमाथि एउटा गम्भीर आरोप लाग्यो (महिला कमर्चारीमाथि यौन दुर्व्यवहार गरेको।
आफूहरूमाथि यौनजन्य हिंसा भएको भन्दै त्योबेला अर्थ विभाग र आन्तरिक लेखापरीक्षण विभागका महिला कर्मचारीहरूले अधिकारीविरुद्ध महिला आयोगमा उजुरी दिएका थिए। त्यो घटना अवकाश पाएर फेरि कार्यकारी अध्यक्षमा नियुक्ति पाउनुभन्दा चार वर्ष पहिलाको थियो।
उजुरी दर्ता भएको करिब एक महिनापछि महिला आयोगले उजुरी दिएका महिला र अधिकारीबीच ‘मिलापत्र’ गरिदियो। त्योबेला उनले आफ्नो गल्ती स्विकार्दै पीडित महिलाहरूसँग माफी माग्ने र आगामी दिनमा त्यस्तो गल्ती नगर्ने वाचा गरेका थिए।
ती महिलाहरूका अनुसार उनले महिला कर्मचारीहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर ‘कति राम्री भएकी’, ‘कस्तो राम्रो लुगा सुहाएको’ भन्दै महिलाहरूको संवेदनशील अंगमा छुने र गलत नजरले हेर्नेगर्थे। त्यस्तै नियतले उनले महिलालाई जिस्क्याउँथे पनि।
‘आज पनि त्यो बानी छुटेको छैन। उहाँको नियत नै त्यस्तै छ’, निगमका एकजना कर्मचारी भन्छन्, ‘लागेको बानी कहाँ छुट्थ्यो र!’
नियुक्तिकै बेला उनको कार्यक्षमता र चरित्र विवादित थिए। त्योबेला पनि केही कर्मचारीहरूले उनको विरोध गर्न थालेका थिए। तर मन्त्री आलेले त्यो जबर्जस्ती ढिसमिस पारिदिएका थिए।
अहिले पनि स्थिति उस्तै छ। निगममाथि ऋणको भारी गह्रुङ्गो भइरहँदा फेरि एकपछि अर्का विवादहरूमा निगम मुछिइरहेको छ। यसैबेला फेरि कर्मचारीहरू अधिकारीविरुद्ध खनिएका छन् र उनलाई निगममा प्रवेश नै निषेध गरिरहेका छन्।
अहिलेका मन्त्री सुदन किराँतीसँग सुरुवाती दिनमा खासै राम्रो सम्बन्ध थिएन। मन्त्री भएलगत्तै निगमको अनुगमनमा गएका मन्त्री किराँतीले अधिकारीलगायत त्यहाँका कर्मचारीहरूलाई एउटा कडा निर्देशन दिएका थिए (फेरि निगमको स्थिति हेरेर रुन नपरोस्।
त्यसका लागि निगम सुधार्न भन्दै उनले कार्यकारी अध्यक्ष अधिकारीलाई दुई महिनाको समय पनि दिएका थिए। तर त्यो दुई महिना नबित्दै मन्त्री किराँतीले अध्यक्ष अधिकारीलाई ५ बुँदे स्पष्टीकरण सोधेका थिए।
त्यसपछि किराँती र अधिकारीबीच खासै ‘जम्न’ सकेन।
तर मन्त्री भएपछि ‘एक वर्षभित्र दश वटा जहाज किन्ने’ रटान लगाइरहेका मन्त्री किराँतीसँग भने फेरि निगमका कार्यकारी अध्यक्ष अधिकारी नजिक हुन पुगे, कारण थियो जहाज किन्ने अर्बौं पैसा।
केही समयअघि त्यही मिलोमतोबाट तीनवटा जहाज किन्ने टेन्डर खुलाइएको छ। त्यसमा सरकारसँग कुनै छलफल गरिएको छैन। सम्बन्धित मन्त्रालयको पनि सहमति छैन। तर मन्त्री किराँती र अध्यक्ष अधिकारी दुबैले जहाजको आवश्यकता पुष्टि गर्नेखालका अभिव्यक्ति र विज्ञप्तिबाजी गरिरहेका छन्।
‘यो सबै पैसाले जोडिदिएको साइनो हो। कुरा मिल्दा सँगै हुने र नमिल्दा एकअर्कालाई सक्काउनैसम्म लाग्नेगरीका सम्बन्धहरू यसअघि पनि देखिएकै थियो’, निगमका एकजना कर्मचारी भन्छन्, ‘अहिले पनि त्यस्तै हो। यता निगमका अध्यक्ष र मन्त्रीको साँठगाँठ चलिरहेको छ। उता नियामक निकाय प्राधिकरण रिसाएको छ।’
ऋणको भारीले च्यापिएर नेपाली आकाशमा राष्ट्रिय ध्वजा बाहकको उपस्थिति नै पातलिइरहेको समयमा जहाज किन्ने निर्णय गरेका नियम र मन्त्रीसँग हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण भने खुस छैन।
यहीबीचमा प्राधिकरणले निगमसँग ‘ग्राउण्ड ह्याण्डलिङ’को काम पनि खोस्नेगरी तयारी गरिरहेको छ। विमानस्थलको सुरुवातदेखि अहिलेसम्म बिना प्रतिस्पर्धा ग्राउण्ड ह्याण्डलिङ सम्हाल्दै आएको वायुसेवा निगमलाई हटाएर अब खुल्ला प्रतिस्पर्धा गराउने भनेर प्राधिकरणले सूचना नै निकालिसकेको छ।
जहाज उडाएर खासै कमाइ गर्न नसकेको निगमका लागि ‘ग्राउण्ड ह्याण्डलिङ’ भनेको आम्दानीको एउटा मुख्य हिस्सा हो। जहाज उडाएर र निगमले पाइटल तथा अरु कर्मचारीहरूलाई तलव नै खुवाउन सक्दैन। बरु ग्राउण्डेड भएका जहाज स्याहार्न पनि उसलाई पैसा पुगिरहेको छैन।
‘यी सबै भनेका निगमलाई डुबाउने चालबाजी हुन्’, आन्दोलनरत कर्मचारी संघका अध्यक्ष नवराज कुँवर भन्छन्, ‘हामी निगमलाई डुबाउन दिन्नौँ। अधिकारी निगमलाई डुबाउनकै लागि यहाँ आएका हुन् भनेर हामीले पहिला नै विरोध गरेका हौँ। अहिले सबै मिलेर करोडौँ जनताको सम्पत्ति सक्न लागेका छन्।’
थप समाचार—