गत साताको मध्यतिरबाट धुम्मिएको काठमाडौँकाे आकाश अझै उघारिन सकेको छैन। शुक्रबारदेखि त झन घाम पनि मधुरिएको छ। दिउँसो छिप्पिएको घाम पनि औसतभन्दा न्यानो छैन। सोमबार त बिहानैदेखि आकाश झन् धुम्म भएको छ।
यो बीचमा काठमाडौँ उपत्यकालगायत देशभरि चिसो भएको अनुभव मानिसले सुनाइरहेका छन्। पश्चिम नेपालमा त आइतबार रातिदेखि नै वर्षा सुरु भएको छ।
किन धुम्मिएको छ काठमाडौँको आकाश?
मनसुनपछिको मौसममा प्रायः काठमाडौँ यस्तै हुन्छ। धुम्म पर्छ। धुलो र धुँवाले पहाडी भित्ताहरू घपक्कै ढाकिन्छन्। काठमाडौँ उपत्यकालाई यस्तै प्रदूषणले छोप्न थालेको दशकौं बितिसक्यो। उसै पनि काठमाडौँको हावा संसारभरिकै ‘दूषित’ मानिन्छ। कहिलेकाहीँ त विश्वका दूषित हावा भरिएको सहरमध्येमको पहिलो नम्बरमा काठमाडौँ नै हुन्छ।
अहिले पनि काठमाडौँको हावाले खतराको सिमा नाघिसकेको छ। काठमाडौँका करिब तीन दर्जन स्थानमा मापन गरिएका वायु प्रदूषणका मात्राले खतराको संकेत गरिरहेका छन्।
काठमाडौँका मुख्य–मुख्य स्थानका ‘एयर क्वालिटी इन्डेक्स’हरूले पिएम २.५को मात्रा १५७ भन्दा माथि देखाएका छन्। यो भनेको मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। १५० भन्दा माथिको यो प्रदूषण स्वास्थ्यका लागि निकै हानिकारक हो।
काठमाडौँको वायुमा प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ५ गुणा बढी छ।
पिएम १० भनेको हामीले सास फेर्दा भित्र जानसक्ने हावामा मिसिएका प्रदूषणका कणहरू हुन्, पिएम २.५ अझ सानो कण हो। जति सानो कण भयो उति स्वास्थ्यका लागि हानिकारक हुन्छ।
वायुको गुणवेत्ता संकेत (एयर क्वालिटी इन्डेक्स) अर्थात्, एक्यूआईले पार्टिक्युलेट म्याटर अर्थान् ‘पिएम’ १० र २.५ माइक्रोग्रामभन्दा पनि साना विषाक्त्त रसायनका कणहरूको मात्राका आधारमा वायुको प्रदूषण मापन देखाउँछ।
नेपाल सरकारले पनि पिएम २.५ लाई आधारभुत इकाइ मानेको छ। यो मात्रामा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडलगायतका रसायन हुन्छन्। त्यो धुलो वा धुँवाका कणहरूमा व्याप्त हुन्छ।
काठमाडौँका विभिन्न ठाउँमा जडान गरिएका एयर क्वालिटी इन्डेक्सहरूले खतराको सिमा पार गरेका छन्। र यो अझै बढ्ने क्रममा छ।
यो निरन्तर बढिरहेको वायु प्रदूषणको परिणाम हो। धुम्म भइरहेको यो आकाशमा केही दिनदेखि भने बादलका टुक्राहरू पनि मिसिएका छन्।
खासगरी भारतको उत्तरप्रदेशतिर मडारिइरहेको न्यून चापीय रेखाहरू नेपालको सिमानातिर पनि सरिरहेका छन्। भारतको मध्य र राजस्थानतिर विकसित भइरहेको न्यून चापीय रेखाहरू पनि क्रमश सरिरहेका छन्। त्यसैमाथि पश्चिमी वायुको प्रभाव नेपालमा अझ धेरै भित्रिन थालेको छ।
काठमाडौँको आकाशमा बाक्लिएर नाचिरहेका प्रदूषणका कणहरू र बादलका कारण यहाँको आकाश उज्यालिन सकेको छैन। कतिकति बेला उज्यालिन खोज्छ, घामका झुल्काहरू झुल्किन खोज्छन् र फेरि पुरिएर जान्छन्। त्यो भनेको यहाँको आकाशमा प्रदूषणमाथि मिसिएको बादलसँगै लुकामारी खेलिरहेको घाम हो।
कहिलेसम्म यस्तो होला?
जल तथा मौसम विज्ञान विभागकाअनुसार अझै काठमाडौँमा हिउँदे झरी हुने सम्भावना छैन। यो झरी नहुँदासम्म प्रदूषणको यो लेपन पखालिँदैन। उसै पनि कचौरा आकारको काठमाडौँ खाल्डोमा ठूलो झरी नपर्दासम्म यहाँको वायुमण्डलमा थुप्रिएको फोहोर पखालिदैंन।
काठमाडौँ त कचौराजस्तो छ। यसको भू–वनोट नै यस्तै छ। यहाँ जम्मा भएको धुलो धुँवा बाहिर निस्किन पाउँदैन। धेरै मुस्किलले निकै समय लगाएर नागार्जुनको जंगल पार गर्छ। त्यसैले त्यो केही दिनसम्म यतै यतै धुम्म परिरहन्छ।
जल तथा मौसम विज्ञानका अनुसार विकसित भइरहेको न्यून चापिय रेखा र पश्चिमी वायुको प्रभावले, लुम्बिनी, कर्णाली र सदूरपश्चिमका केही भागहरूमा छिटफुट वर्षा हुने सम्भावना देखाएको छ। ती प्रदेशका केही भागमा सिमसिम वर्षा पनि भइरहेको छ।
तीन दिनको मौसम पूर्वानूमानमा वागमती प्रदेशमा कुनै त्यस्तो ठूलो वर्षाको सम्भावना छैन। यसको अर्थ केही दिनसम्म आकाश अझै धुम्मिनेछ।
यसले चिसो पनि बढाइरहेको छ। उच्च पहाडी तथा केही हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको छ। भने हुस्सुले छोपिने तराईतिर शितलहरको सुरुवात पनि भइसकेको छ।
काठमाडौँमा बिहानको तापक्रम न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियससम्म पुगेको छ। अधिकतम भने २१.२ डिग्री सेल्सियसमा छ।
हिमपात भइरहेको हुम्ला तथा जोमसोमतिर अहिले न्यूनतम तापक्रम माइनसमा झरिसकेकाे छ।
मौसमविद् सरोज पौडेलकाअनुसार मौसममा देखिएको यो प्रभावले काठमाडौँको तापमान अझै चिसो हुनसक्छ।